कम्युनिस्टको राष्ट्रियता -शोभाकर पराजुली

कम्युनिस्टको राष्ट्रियता -शोभाकर पराजुली


के हामी इतिहासबाट सिक्ने र विश्वबाट सिक्ने प्राणी होइनौँ ? कि सत्ताका लागि ती सबै विषय गौण बन्छन् – चीन र उत्तर कोरियाका दुईवटा घटनाको बारेमा मात्र हामी प्रस्ट हुन सक्यौँ भने पनि सत्य बुझ्न ठूलो सहयोग हुनेछ । चीनमा सञ्चारकर्मीहरूले माक्र्सवाद र साम्यवादी विचारको प्रशिक्षण लिएर काम गर्नुपर्ने र सञ्चारमाध्यममा काम गर्दा साम्यवाद सापेक्ष भएर काम गर्नुपर्ने व्यवस्था भर्खरै गरिएको छ । यसले पञ्चायती पारालाई सम्झाउँछ । पञ्चायतीकालमा पञ्चायत देशभक्त, राष्ट्रवादी, समानतावादी, गाउँको विकासवादी, गरिबको हित गर्ने विचार हो र अन्यहरू विदेशी दलाल, सामन्त, देशद्रोही आदि हुन् भनेर आरोप लाग्ने गथ्र्यो । त्यस्तै माओवादीका नेता बाबुराम भट्टराईले गत वैशाख २३ गते सञ्चारमाध्यममा बोल्दा आफूहरूले संविधान बनाइसकेको र त्यो संविधानमा राष्ट्रविरोधी, देशद्रोही आदिलाई दल खोल्न नदिने कुुरा भएको उल्लेख गर्नुभयो ।
राष्ट्रघातीहरू र देशद्रोहीहरूको हातमा सैन्यबल, बाहुबल आदि भएर तिनीहरू नै संविधान बनाउने र दलहरूलाई प्रतिबन्ध लगाउनेमा पुगे भने त्यतिबेला ती राष्ट्रघातीहरू र देशद्रोहीहरूले आफूहरूलाई सबैभन्दा राष्ट्रवादी र अरूलाई राष्ट्रघाती भन्ने प्रस्ट छ । पञ्चहरूले पनि त्यसै भनेका थिए । अब यो भन्ने पालोको पर्खाइमा माओवादीहरू रहेको पाइन्छ । आफ्नो हातमा शक्ति भएपछि आफू ठीक र अरू आफूलाई असर गर्नेजतिलाई विभिन्न नाम दिएर प्रतिबन्ध लगाउने खेलमा पञ्चजस्तै माओवादी पनि छ भन्ने देखिने भयो । यो चीनको सञ्चारनीतिसँग पनि मिल्छ । कम्युनिस्टहरू गरिबमारा भएको दुनियाँमा देखिएको छ । चीनमा बेरोजगारी छ । चीनमा गरिबहरूलाई खान पुग्दैन, अर्कोतर्फ अमेरिकापछि सबैभन्दा बढी अर्बपतिहरू भएको देशमा चीन परेको छ । सन्तान बेच्ने, छोरीको भ्रुणमा नै हत्या गर्ने, महिलालाई उद्योगमा जागिर नदिने, बच्चाको अपहरण हुने, मन्त्रीहरूसमेत भ्रष्टाचारमा लिप्त हुने घटनाहरू चीनमा हुने गरेको हामीले प्राय: सुन्ने गरेका छौँ । तर, कम्युनिस्ट नाम राख्नासाथ त्यो स्वत: गरिबको पक्षधर हुने हल्ला कम्युनिस्टहरूले नै फैलाएका छन्, त्यो सरासर गलत छ । कम्युनिस्ट व्यवस्था परिस्कृत दासप्रथा र सामन्तवादको फ्युजन हो । त्यहाँ कम्युनिष्ट नेताहरू राज्यको संपत्तिमा मोज गर्छन् र मजदुर किसानहरू अवस्थाअनुसार आफूले श्रम गरेर पनि खान नपाएर मर्नेसमेत गर्छन् । यो तथ्य जनताले बुझ्नुपर्छ । समानताको पहिलो कसी पूर्ण लोकतन्त्र मात्र हो । जहाँ लोकतन्त्र छैन त्यहाँ समानता पनि हुँदैन । समानता भए किन बोल्न नदिने – भन्ने हामीले बुझ्न आवश्यक छ । कम्युनिस्टहरूमा राष्ट्रवाद नै हुँदैन भन्ने पनि हामीले बुझ्नुपर्छ । विश्वभरिका कम्युनिस्टहरूको झन्डा एउटै छ । त्यस्तै, रुसमा कम्युनिस्ट व्यवस्थाका लागि १४ वटा देशलाई उपनिवेश बनाइएको थियो । कम्युनिस्ट व्यवस्था ढलेपछि ती स्वतन्त्र भए । कम्युनिस्ट व्यवस्थाका लागि कम्युनिस्टहरूले जर्मनलाई टुक्र्याएका थिए र कम्युनिस्ट व्यवस्था ढलेपछि त्यो देश एक भयो । यसबाट कम्युनिस्टहरूको राष्ट्रियताको बारेमा प्रस्ट हुन सकिन्छ ।
कम्युनिस्टहरू भिन्दै सामन्ती धातुले बनेको जीव हुन् भन्ने कुरा नेपालमा पनि माओवादी बन्दका समयमा विराटनगरमा अस्पतालमा माओवादी सामन्त मित्रहरूका लागि मात्र १५ शय्या अस्पतालको बेड रिजर्भ गर्ने व्यवस्था र साधारण गरिब जनतालाई सास्ती भएको भन्ने खबर आएबाट पनि प्रस्ट हुन्छ । त्यति मात्र होइन, जनतालाई ढाँट्ने कम्युनिस्टहरूको धर्म नै हो । प्रचण्डले शक्तिखोरको क्यान्टोनमेन्ट र दलको मिटिङमा एकदलीय सर्वसत्तावादी व्यवस्था ल्याउने कुरा बताउनुभएको बारम्बार जानकारी आएको छ । अरू नेताहरूबाट पनि ती धारणाहरू आउने गरेको पाइन्छ । जब उहाँहरू जनतामा र अरूसमक्ष जानुहुन्छ आफूहरू पूर्ण बहुदल, मानवअधिकारसमेतको पक्षमा भएको बताउनुहुन्छ । यसले के देखाउँछ भने उहाँहरूको वास्तविक लक्ष्य गलत छ तर त्यो जनतामा भन्न डराउनुहुन्छ । यो नीति जनवादी हुन सक्दैन । यस्तै कार्यका लागि सहिदको खेती उहाँहरूले गर्नुभएको छ ।
कम्युनिस्टहरू जनतालाई धोका दिने र डरत्रासको आधारमा सत्तामा जाने र गरिबहरूलाई अझ गरिब र निरीह बनाउँदै उनीहरूमाथि शासन गर्ने मात्र लक्ष्यमा हुन्छन् । मीठा सिद्धान्तका कुरा त देखाउने र गरिब किसानलाई झुक्याउने माध्यम मात्र हुन् । माओवादीको पनि एकदलीय सर्वसत्तावादी लक्ष्यमा छ । यो सत्तामा गएपछि सबै लगाम उनीहरूको हातमा हुन्छ । सत्ताबाट जतिसुकै बेइमानी गरे पनि फाल्न नसकिने हुँदा उनीहरूलाई सत्तामा नै जानबाट रोक्नु गरिब जनताको र देशको हितमा हुन्छ । उनीहरू लोकतन्त्रप्रति र मानवअधिकारप्रति आस्थावान भएपछि भने उनीहरू सरकारमा जानु कुनै नराम्रो कुरा होइन । उनीहरूको वर्तमान हडताल र संविधान बन्न नदिने तर दोष अरूलाई दिने नीति पनि त्यही आधारमा हामीले बुझ्न आवश्यक छ ।