‘नजरबन्दबाट मुक्त भए सुकीले बाँकी जीवन नेपालमा बिताउने’

‘नजरबन्दबाट मुक्त भए सुकीले बाँकी जीवन नेपालमा बिताउने’


नेपालले आफ्नो अन्तर्राष्ट्रिय छवि ‘असंलग्न राष्ट्र’का रूपमा बचाउन आवश्यक छ । यदि साँच्चै सुकी नेपाल आएर बस्न चाहन्छिन् भने सरकारले पनि स्वागत गर्ने उदारता देखाउनुपर्छ । उनको नेपाल बसाइले नेपाल शान्तिप्रियहरूका लागि सुरक्षित र प्रिय गन्तब्य बन्न सक्छ । विश्वका अन्य देशका सेवानिवृत्त राजनीतिज्ञ एवम् अन्य विशिष्ट व्यक्तित्वहरू पनि नेपालमा जीवन बिताउन आउने बनाउन सकिए नेपाल साँच्चै शान्तिक्षेत्र रहेछ भन्ने सन्देश प्रवाह हुने थियो कि !?
  • श्याम क्षेत्री

नेपाल आफैमा शान्तिको देश हो । भगवान् बुद्धको जन्मदेशसँगै असंलग्न राष्ट्र पनि हो । तर यतिबेला युक्रेन र रुसको विवादमा ‘सार्वभौमिकता र शान्तिको’ नाममा युक्रेनका पक्षमा मत प्रकट गरेको छ । नेपालले युक्रेनलाई गरेको सर्मथनको आफ्नै अर्थ होला । यस सन्दर्भलाई यहीँ थाती राखेर नोवेल शान्ति पुरस्कार प्राप्त बर्माकी नेतृ आङ सान सुकीले चाह गरेको नेपाल बसाइबारे यहाँ केही चर्चा गरिएको छ ।

अहिंसा र शान्तिबाट प्राप्त हुने बल नै नैतिक बल हो, आत्मिक बल पनि हो । तर एक आपसमा दुवै फरक-फरक हुन् । अहिंसा कर्म हो, शान्ति मार्ग हो । त्यसैले गान्धीले भनेका होलान् कि ‘अहिंसा कायरको हतियार हैन !’ नजरबन्दमा रहेकी नेतृ सुकीले नजरबन्दबाट मुक्त भए आफूले बाँकी जीवन नेपालमा बिताउन चाहेको अभिव्यक्ति दिएको समाचार सार्वजनिक भएको छ ।

नोबेल शान्ति पुरस्कारविजेता आङ सान सुकीको भनाइलाई मनन् गर्ने हो भने अझै पनि नेपाल कोलाहलमुक्त देश हो, भनेर बुझ्न कर लाग्छ । त्यसो त उनी सुशील कोइराला प्रधानमन्त्री भएका बखत (सन् २०१५) नेपाल आएकी थिइन् । त्यसबखत उनले भनेकी थिइन्, ‘कति धेरै पूर्वप्रधानमन्त्री भएको देश रहेछ । मैले भेट पाएका धेरै व्यक्तिहरू प्रधानमन्त्री भइसक्नुभएको रहेछ ।’ सुकीले त्यसो भन्नुको अर्थ नेपालमा लोकतन्त्रको सवल अभ्यास रहेछ भन्ने थियो ।

प्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले उनको अभिव्यक्तिबारे स्पष्ट पार्दै भनेका थिए- ‘वहाँले त्यसो भन्नुको आशय सकारात्मक थियो, बर्माको अवस्थालाई तुलना गर्दै नेपालमा लोकतन्त्रको अभ्यास रहेछ भन्नुभएको हुनुपर्छ ।’

सुकीले त्यसो भनेको पाँच वर्ष नपुग्दै फेरि सैनिक ‘कु’मा परेर नजरबन्दमा हुनुहुन्छ । नेपाललाई युद्धपछि शान्ति कायम भएको देशका रूपमा चित्रण गर्दै किशोर अवस्थामा नेपाल बसेकी सुकीले त्यसबखत दिएको अर्को अभिव्यक्ति थियो- करिब चार दशकको अन्तरालमा काठमाडौंमा व्यापक भौतिक विकास पनि भएछ !

नेपालमा बस्न चाहेको सुकीको अभिव्यक्तिले वर्तमानमा बढेको कोलाहलका बाबजुद नेपालमा शान्ति कायम छ भनी बुझ्न कर लाग्छ । गत वर्ष १९ माघ बिहानै बर्मेली सेना प्रमुख मिङ ओङ लाइङले सैनिक शक्तिको बलमा त्यहाँको प्रजातन्त्रमाथि ‘कु’ गरेपछि उनी नजरबन्दमा छिन् ।

नेतृ सुकी, राष्ट्रपति विन मिन्टलगायत सत्तारूढ दलका शीर्ष नेताको गिरफ्तारीसँगै नजरबन्दमा छन् । अरु अवस्था त व्यक्त गर्नु नपर्ला कि कस्तो अवस्थामा बर्मेली नागरिकले जीवन यापन गरिरहेका छन् भनेर ।

मिन्ट र सुकीलाई सेनाले पक्राउ गरेर नजरबन्दमा राखेको छ । सन् २०२० मा सम्पन्न निर्वाचनमा सुकीको दलले धाँधली गरेर विजय हासिल गरेको आरोप सेनाले लगाउँदै आएको थियो । उक्त परिणामका बारेमा असन्तुष्ट त्यहाँको सुरक्षा शक्तिले संसद् बैठक बस्नै नदिइ संसद् नै विघटन गरिदियो ।

सुकी र राष्ट्रपति मिन्टलगायत सत्तारूढ दलका नेताहरू अहिले पनि नजरबन्दमै छन् । पहिलो पटक भएको निर्वाचनपश्चात बर्मेली संसद्को पहिलो बैठक आयोजना गरिएको थियो, बर्माको नयाँ राजधानी न्यापितमा राष्ट्रप्रमुखसरहको स्टेट काउन्सिलरको हैसियतमा आङ सान सुकीलाई स्वीकार गरेको थियो ।

२०२१ माघयता बर्मामा जे-जे भइरहेका छन् त्यसबारे अन्तर्राष्ट्रिय निकाय जानकार छ । त्यहाँका राजनीतिक घटनाबारे नेपाली पनि धेरथोर जानकार छौँ । केही प्रजातन्त्रवादी नेता र कार्यकर्ता अझै नजिकबाट अवगत पनि छन् । कारण जे-जस्ता भए पनि बीपी कोइराला प्रधानमन्त्री रहेका बेला २७ चैत २०१६ सालमा नेपाल र बर्माबीच मैत्री सम्बन्ध कायम गर्ने निर्णय भएको थियो । पाँच महिनापछि २०१७ भदौ दोस्रो हप्ता नेपालका लागि बर्मेली राजदूत खिन यी काठमाडौं आएकी थिइन् ।

राजदूत खिनले १४ भदौ (वि.सं.२०१७) मा नारायणहिटीमा राजा महेन्द्रसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको परराष्ट्रविद् डा. भट्टराईले अवगत गराए । त्यस बखत काठमाडौंमा बर्माको राजदूतावास स्थापना नभएकोले नयाँ दिल्लीबाटै नेपाल हेर्नेगरी खुनलाई जिम्मेवारी दिइएको भट्टराईले अवगत गराए । नेपालका लागि पहिलो बर्मेली राजदूतको जिम्मेवारी पाएकी खिन यी खासमा नोबेल पुरस्कारविजेता बर्माकी लोकतन्त्रवादी नेतृ आङ सान सुकीकी आमा थिइन् ।

सुकीकी आमा खिन पेसाले नर्स थिइन् । स्वतन्त्रता संग्राममा उनको धेरथोर भूमिका थियो । सैनिक अभियानमा घाइते भएका योद्धाहरूको उपचारमा उनी स्वयम् संलग्न थिइन् । खासमा सङ्घर्षका क्रममा घाइते जनरल आङ सानकै उपचारका सिलसिलामा उनीहरूबीच भेट भएको थियो र केही महिनापछि नै आफूभन्दा तीन वर्ष कम उमेरका आङ सानसँग उनले बिहे गरेकी थिइन् ।

बर्माको स्वतन्त्रता संग्राममा यही भूमिकाका कारण पनि बर्माको तत्कालीन समाजवादी सरकारका प्रधानमन्त्री उ नूले खिन यीलाई भारत र नेपालको राजदूतमा नियुक्त गरेका थिए । प्रधानमन्त्री उ नूको नेपालका प्रधानमन्त्री बीपी कोइरालासँग निकट सम्बन्ध थियो । यहाँनेर स्मरणीय के छ भने २००७ सालको क्रान्तिमा बीपीले बर्माबाट हतियार प्राप्त गरेका थिए र, सुकीका पिताले गठन गरेको बर्मा समाजवादी पार्टीबाटै उक्त हतियार प्राप्त भएको हो ।

उक्त कुराको जानकारी बीपीको आत्मकथामा पनि पाइन्छ । भारत र नेपालको राजदूतको जिम्मेवारी लिएर खिन यी यता आएपछि काठमाडौंमा भिक्षुणी धम्मावतीसँग उनको निरन्तर भेट हुन थाल्यो । उता, दार्जिलिङमा स्कुले पढाइ सकेपछि सुकी थप अध्ययनका लागि नयाँदिल्ली गइन् । दार्जिलिङमै छँदा सुकीको परिचय बेलायती विद्यार्थी माइकल एरिससँग भएको थियो, जुन सन् १९७२ मा प्रेम र विवाहमा परिणत भयो । माइकल बौद्ध धर्मका अध्येता थिए । पछि आफैं पनि बौद्धमार्गी बने । धम्मावतीका भनाइमा बौद्ध धर्मको महायानका ज्ञाता थिए, माइकल । आफ्नो अध्ययन क्षेत्र नेपाल, भुटान र तिब्बत भएकाले उनी सुकीलाई लिएर यता आइरहन्थे ।

त्यसै सिलसिलामा माइकल-सुकी दम्पती सन् १९७३ मा लामो बसाइका लागि काठमाडौं आइपुग्यो । साथमा तीनमहिने जेठा छोरा अलेक्जेन्डर पनि थिए । अनुसन्धानका लागि आएकाले माइकल नेपालका विभिन्न जिल्लामा रहेका बौद्ध गुम्बा पुग्थे, त्यहाँका लामासँग भेटेर तथ्यांक संकलन गर्थे । कहिले मनाङ-मुस्ताङ पुग्थे, कहिले सिन्धुपाल्चोक-रसुवा ।

‘सुकीको काठमाडौंमा जाने ठाउँ कतै थिएन, ठमेलबाट नजिकै पर्ने भएकाले छोरालाई लिएर यहाँ (धर्मकीर्ति विहार) आउँथिन्, खाना यहीँ खान्थिन्,’ धम्मावती सम्झन्छिन्, ‘बेलुकी पनि यहीँ खाना खाएर छोराका साथ कोठामा जान्थिन् ।

सुकी काठमाडौंमा रहँदाका धेरै घटना धम्मावतीका स्मरणमा अझै ताजै छन् । यो बेला काठमाडौंमा दूध पनि राम्रोसँग पाइँदैनथ्यो । अलेक्जेन्डर सुकीको दुध खाँदैनथ्यो, अरू कसैको दूध खुवाउन पनि हुँदैनथ्यो, दूध खान नपाएर होला, ऊ निकै रोइरहन्थ्यो’, उनले सम्झिन्- ‘पछि काठमाडौंमा बर्माको दूतावास स्थापना भयो, त्यसपछि चाहिँ त्यहीँबाट दूध मागेर ल्याएर छोरालाई खुवाउने गरेकी थिइन् । काठमाडौंमा रहँदा छोराको स्याहारसुसारबाहेक सुकीको खासै काम हुँदैथ्यो ।’

त्यसैले धर्मकीर्ति विहारमा उनले धम्मावतीसँग बौद्धधर्मबारे थप ज्ञान हासिल गरिन् । सम्भवतः बिरानो मुलुकमा रहनुपर्दा उनलाई तनाव हुँदो हो, मन अशान्त बन्दो हो । मनमा तनाव र अशान्ति हुँदा के गर्ने भन्ने सल्लाह उनी धम्मावतीसँग माग्थिन् । तनावबाट कसरी मुक्त हुने, अशान्तिबाट कसरी पार पाउने भन्ने सम्बन्धमा बुद्धले के भनेका छन्, धम्मावती त्यससम्बन्धी शिक्षा सुकीलाई दिन्थिन् । सँगसँगै ध्यान गर्न पनि सिकाउँथिन् ।

आहार, विहार, कर्तव्य र कर्म, सयन र जागरण यथा समयमा हुन सक्यो भने वास्तविक शान्ति त्यहीँबाट प्राप्त हुन्छ भन्ने कुरा पनि राम्ररी बुझेकी थिइन् । अहिले अन्यायपूर्वक सत्ताबाट च्यूत भएकी र नजरबन्दमा रहेकी सुकीले बाँकी जीवन नेपालमा बसाइ गर्ने अभिव्यक्ति दिनुका पछाडि विगतको सम्बन्ध पनि हुन सक्छ ।

सन् १९९० को दशकअघि झण्डै आधा दर्जन पटक नेपाल आउँदा सुकीको अधिकांश समय धर्मकीर्ति बिहारमै बित्थ्यो । सुकीले नेपालबारे लेखेको पुस्तक ‘लेट्स भिजिट नेपाल’ । लन्डनस्थित बर्क पब्लिसिङ कम्पनी लि.ले सन् १९८५ मा प्रकाशन गरेको यो पुस्तकमा सुकीले नेपालको इतिहास, संस्कृति र जनजीवनबारे वर्णन गर्दै विदेशीलाई नेपाल घुम्न उत्प्रेरित गरिएको छ । तर यतिबेला नजरबन्दमा रहेका बेला नेपालमा बस्ने जानकारी गराउनु आफैमा नेपालका बारेमा एउटा सुखद प्रसङ्ग हुन सक्छ । तर नेपाल सुकीले बुझेजस्तो शान्ति नहुन सक्छ । नेपाल यतिबेला अन्तर्राष्ट्रिय पहुँच र चलखेलको केन्द्र बनेको छ । ती सबै पक्षलाई एकछिनलाई बिर्सिदिने हो, भने नेपाल भगवान् बुद्धको जन्मदेश पनि हो । ध्यानी र ज्ञानीले अध्यात्मिक सन्तुष्टि पाउन सक्ने भएकोले पनि सुकीले बाँकी जीवन बसाइ नेपालमा गर्न चाहेको हुनुपर्छ ।

यदि सुकी साँच्चै नेपाल आएर बस्न चाहन्छिन् भने सरकारले पनि स्वागत गर्ने उदारता देखाउनुपर्छ । उनको नेपाल बसाइले नेपाल शान्तिप्रियहरूका लागि सुरक्षित र प्रिय गन्तब्य बन्न सक्छ । नेपालले आफ्नो अन्तर्राष्ट्रिय छवि ‘असंलग्न राष्ट्र’का रूपमा बचाउन आवश्यक छ । सामान्य कुरामा उछाल ल्याउनु हुँदैन । शान्ति फिँजाउन सक्नुपर्छ । यदि सुकीले चाहेजस्तै विश्वका अन्य देशका सेवानिवृत्त राजनीतिज्ञहरू पनि नेपाल आउन सक्ने बनाउन सकिए नेपालमा भइरहने चर्चा-परिचर्चा भन्दा पनि शान्तिको सन्देश प्रवाह हुने थियो भन्न सकिन्छ ।

(न्यूज एजेन्सीको सहयोगमा)