पाकिस्तानको मस्जिदमा आत्मघाती विस्फोट : मृत्यु हुनेको सङ्ख्या करिव पाँच दर्जन

पाकिस्तानको मस्जिदमा आत्मघाती विस्फोट : मृत्यु हुनेको सङ्ख्या करिव पाँच दर्जन


पाकिस्तानको उत्तर पश्चिमी पेशावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । अस्पताल तथा प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार आक्रमणमा घाइते भएका अधिकांशको उपचार पेशावरस्थित लेडी रिडिङ अस्पतालमा भइरहेको छ ।

गम्भीर रूपमा घाइते रहेका २० जनाको मृत्यु भएपछि मृतक सङ्ख्या पचास भन्दा बढी पुगेको अस्पतालका प्रवक्ता मुहम्मद असिमले जनाएका छन् । अन्य करिब २०० जना घाइते भएका, ५० देखि ६० जनालाई गहिरो खालको चोट लागेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको असिमको भनाइ छ । थप १० देखि १५ जनाको अवस्था गम्भीर रहेको पनि बताइएको छ । घाइतेको उपचारका लागि आकस्मिक अवस्था घोषणा गरिएको र थप चिकित्सकलाई अस्पताल बोलाइएको छ ।

पेशावरका प्रहरी परिचालन प्रमुख वरिष्ठ सुपरिटेन्डेन्ट हरुन राशेदलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार दुई जना आतङ्ककारी मस्जिदमा प्रवेश गर्न खोजेको र त्यहाँ ड्युटीमा रहेका प्रहरी कर्मचारीसँग भएको तनावपछि आत्मघाती आक्रमण गरेका हुन् । सो क्रममा प्रहरीको पनि मृत्यु भएको थियो ।

प्रारम्भिक अनुसन्धानपछि सम्बद्ध अधिकारीहरुले यो सर्वसाधारणलाई लक्षित गरी गराएको आत्मघाती बम विस्फोट भएको बताएका छन् । प्रार्थनाको समयमा विस्फोट भएको र मस्जिदको दुईतले भवनमा ठूलो सङ्ख्यामा उपासकहरू उपस्थित भएको बेला घटना भएको बताइएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार ठूलो विस्फोटपछि कतिपय मृत शरीरबाट उछिट्टिएका शरीरका भागहरू देखिएका थिए भने आक्रमणबाट घाइते भएका मानिसहरु सहयोगको लागि रोइ कराइ गरिरहेका देखिन्थे।