सकस

सकस


  • यश घिमिरे

चौवालिस पैंँतालिस सालतिर नयाँ फोनिक्स साइकल हुनु पनि शानको विषय हुन्थ्यो भने उ त ट्युसन पढ्न निजी कार चढेर आउँथ्यो । ‘उ’ अर्थात् हरिकृष्ण महर्जन – काठमाडौंको नाम चलेको ब्यापारिक घरानाको छोरो, तर पढाइमा लद्दु ! पहिलो दिन बाऊ आफै आएर छोरोलाई ट्युसन पढाइदिन अनुनय-विनय गऱ्यो । नजिकिँदो एसएलसीले गर्दा विद्यार्थीहरू ‘प्याक’ भइसकेका थिए, तैपनि उसको लागि छुट्टै समय मिलाएँ । धनी बाउको छोरो भएर हो या पढाइमा कमजोर भएर हो, जे भए पनि विशेष लगावका साथ पढाएँ । तीन महिनामै पढाइमा निकै सुधार आयो । कुनै हालतमा पास नहुने केटोले फलामे ढोका भनेर मानिने एसएलसी दोश्रो श्रेणीमा पास गऱ्यो । पास भएको भोलिपल्टै उ एक पाकेट लड्डु बोकेर आयो र भन्यो- ‘सर ! तपाईंले गर्दा नै हो म पास भएको, यो गुन कहिल्यै बिर्सिन्नँ । हजुर त मेरो लागि भगवान् जस्तै भैदिनु भयो ।’

अनि मेरी श्रीमतीलाई पनि मिठाइ हातमा राखिदिँदै भन्यो- ‘म्याडम ! सरलाई कहिलेकाहीँ हाम्रो घरतिर पनि लिएर आउनुहोला है । हजुरहरुलाई देखेर खुशी लाग्नेछ ।’

त्यो दिन उ धेरै बेर मेरी सानी छोरीसँग खेलेर बितायो । खाजा-नास्ता रुखासुखा जे-जस्तो श्रीमतीले बनाइन्, खाएर गयो ।

दिनहरू बित्दै गए । मेरो दैनिकी उही स्कुल-क्याम्पसको चक-डस्टरमै बितिरहेको थियो । नेपालमा बहुदलको आगमनसँगै बैंकहरू भटाभट खुल्न थालेका थिए । खै किन हो, उत्पादनशील उद्योगधन्दा सुस्ताए पनि गल्ली-गल्लीमा बैंकहरू भने खुब फस्टाएको थियो । आफ्नो लोग्नेभन्दा ‘जुनियर’हरू सुट-टाईमा ठाँट्टिएर हिँडेको देख्दा, पैसा न सैसाको धुलेफुस्रे मास्टरी जागिरप्रति श्रीमतीजीलाई वितृष्णा जाग्न थालिसकेको थियो । उनि सधैं किचकिच गर्थिन्- ‘हजुर पनि उस्तै हो क्या ! आफ्नै विद्यार्थी हरिकृष्णले अहिले निजी बैंक खोलेको छ । हजुरलाई भगवानझैँ मान्थ्यो । कति सम्मान गर्थ्यो.. सम्झिनुभा’छ ? एकपल्ट त भेट्नुस् न ! के खाल्को मान्छे हो के हजुर त ?!’

‘ह्या बुढी ! असजिलो हुँदैन र भन्या, आफैले पढा’को विद्यार्थीसँग जागिर दे भन्न ?!’

‘केको असजिलो हो ? सित्तैमा जागिर माग्न जाने होइन, उसको बैंकमा भ्याकेन्सी खुलेको छ, योग्यताले भेट्ने पदमा आवेदन दिने हो । हजुर नगए एउटा न एउटाले खाइहाल्छ क्यारे । आफैं गएर उभिने हो भने बोल्नै पर्दैन, हजुरले पाउनुहुन्छ । यसमा त मलाई शङ्कै छैन ।’

श्रीमतीले कर गरिसकेपछि एकपल्ट हेरूँ न त भन्ने लाग्यो । सहायक प्रबन्धकको पदमा निवेदन लेखेर दिएँ । अन्तरवार्ताको लागि छानिएको रहेछु । बैंकबाट बोलावट आयो ।

पियनले भित्र जाने इसारा गरेपछि असजिलो मानी-मानी पसेँ । उ अनुहारमा भएभरको गम्भीरता पोतेर टेबुलको फाइल हेर्दै थियो । मेरो ‘नमस्ते’सँगै उसले एकपल्ट पुलुक्क हेऱ्यो अनि जवाफमा हल्का टाउको हल्लाउँदै भन्यो- ‘बस्नुस्’ !

यस्तो अनपेक्षित व्यवहारले मलाइ निकै सकस बनाउन थालिसकेको थियो । त्यहीमाथि उसले थप्यो- ‘तपाईंलाई कहीँ देखे-देखे जस्तो लाग्यो ।’

‘पाँच-सात वर्षमै मान्छेको रुपरङ्ग यति धेरै फेरिँदैन कि वर्षौं पढाएको विद्यार्थीले आफ्नै शिक्षक नचिनोस् !?’ – मनमनै गमखान थालेँ । नचिनेको ढोँग गर्दैछ अथवा मालिक-नोकरको सीमा कोर्दैछ भन्ने कुरामा अब द्विविधा रहेन । कता-कता भित्रैसम्म नमिठोसँग चिमोटिएको महशुस गरेँ । त्यहाँ बसिरहन मन लागेन । कुर्चीबाट उठेँ । उठेर शैक्षिक प्रमाणपत्रहरू भएको फाइल झोलामा हाल्दै गरेको देखेपछि केही अचम्म मानेजसरी सोध्यो- ‘किन ? के भो र ? जागिर नचाहिया हो तपार्ईलाई ?’

‘म जस्तोलाई जागीर नचाहिने त पक्कै होइन, तर चक-डस्टरले उडाएको धुलोले पुरिएर पनि अहिलेसम्म सफल हरिकृष्णहरू मात्र जन्माउन सकेको रहेछु । अबका दिनमा भने सफल र असल दुवै गुण भएको हरिकृष्णहरू उत्पादन गर्नु बाँकी नै छ मैले । अहिलेलाई उही पुरानो पेशाबाट बोलावट आयो, हवस नमस्कार !’- यति भनेर ढोकाबाट बाहिरिएँ ।

मेरो जवाफले उसको अनुहारको भङ्गिमा कस्तो भयो ? फर्केर हेर्न मन लागेन । निस्किँदै गर्दा भने आफ्नो मन चङ्गा र छाती चौडा भएको महशुस भयो ।

  • भरतपुर-१२, चितवन