मुडे-चरिकोट सडक निर्माणका लागि हप्तामा तीन दिन सवारी आवागमन रोकिने

मुडे-चरिकोट सडक निर्माणका लागि हप्तामा तीन दिन सवारी आवागमन रोकिने



लामो समयदेखि अलपत्र परेको दोलखाको मुडे-चरिकोट सडकखण्ड निर्माणको क्रममा अवरुद्ध हुने हुँदा हप्तामा तीन दिन सवारीसाधन आवागमन बन्द गरिने भएको छ ।

सडक कालोपत्रे गर्नका लागि विभिन्न स्थानबाट एकैसाथ निर्माणको काम भइरहेको हुँदा सवारी साधनलाई समस्या हुने र निर्माण कार्यमा समस्या हुने भएपछि प्रत्येक हप्ताको मङ्गलबार, बुधबार र बिहीबार तीन दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलखबहादुर आलेले बताए ।

जिल्ला प्रशासन कार्यालय दोलखामा आज निर्माण कम्पनी, सरोकार पक्ष, राजनीतिक दल तथा सुरक्षा निकायको बीचमा भएको छलफलमा सडक तीव्र गतिमा निर्माण गर्नुपर्ने बाध्यता रहेको र दिउँसोको समयमा सवारीसाधन आवागमन रोक्ने निर्णय भएको हुँदा उक्त समयमा वैकल्पिक मार्गको प्रयोग गर्न आलेले सवारी चालकलाई आग्रह गरेका छन् ।

निर्माणको जिम्मा लिएर ६ वर्षदेखि अलपत्र रहेको मुडे चरिकोट सडक नागरिकको चर्को विरोधपश्चात हाल धमाधम निर्माण भइरहेको छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी ३० किलोमिटर सडक निर्माणको जिम्मा दिएको कम्पनीले ६ वर्ष बितिसक्दा पनि निर्माण कार्य बीचमा नै छोडी अलपत्र पारेपछि जिल्लावासीले चर्को विरोध गरेपछि निर्माण कम्पनी काममा फर्किएको थियो ।

दुई वर्षमा सक्ने काम ६ वर्षसम्म विभिन्न बहानामा तीन पटकसम्म निर्माणका लागि म्याद थप गरे पनि निर्माण हुन सकेको थिएन । भारतीय निर्माण कम्पनी सकिद हैदर र शङ्कर मालि सुनौलो खिम्ती जेभीले निर्माणको जिम्मा लिएकामा केही वर्षअघि पाँच किलोमिटर सडक निर्माण गरी मिटरब्याजी तथा चेक बाउन्सका कारण ठेकेदार सम्पर्कविहीन बनेको थियो । जेभी कम्पनी रहेको र निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तथा ठेक्का सम्झौता खारेज गर्नका लागि सडक विभागले प्रक्रिया अगाडि बढाएपछि जेभीवाला अर्को ठेकेदार काममा फर्किएको छ । यो वर्षसम्म सडक निर्माण सम्पन्न गरी सक्नुपर्ने बाध्यता रहेका कारण चरिकोट मुडे बोचलगायत विभन्न ठाउँबाट निर्माण कार्य भइरहेको छ ।