शुरु भयो गौतमबुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान

शुरु भयो गौतमबुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सुरु भएको छ ।

बिहीबार बेलुकी आएको एरो थाइको विमानबाट यान्त्रिक परीक्षण उडान थालिएको हो । शुक्रबार मध्यान्ह १२ बजे र अपरान्ह ५ बजे यान्त्रिक परीक्षण उडान गरिएको थियो । यो उडान हरेक दिन दुई सिफ्ट सञ्चालन गरिने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उडानका बेला बिहान १० बजेदेखि ५ बजेसम्म अन्य नियमित उडान भने बन्द गरिएको छ । महाप्रबन्धक दाहालका अनुसार अब प्रत्येक दिन १५ फागुनसम्म क्यालिब्रेशन फ्लाइट हुनेछ । ‘क्यालिब्रेशन फ्लाइटका बेला अन्य नियमित उडानहरु बन्द हुनेछन्,’ उनले भने ।

ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरेरनगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको दाहालले बताए ।

विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । अब एनएभी, एआइडिएस लगायत विभिन्न प्रविधि जडानको काम हुने उल्लेख गरिएको छ । क्यालिब्रेशन फ्लाइट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिनेछ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाइ तीन हजार मिटर र चौडाइ ६० मिटर छ । एडीबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।