धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त



सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले हमाललाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गरेको हो ।

नियुक्तिको बारेमा अनौपचारिकरूपमा जानकारी आएको र शुक्रबारसम्म नियुक्तिपत्रसमेत पाउने हमालले बताएका छन् ।

उनले नेपालको शेयर बजारको विकास र विस्तारमा आफूले इमान्दार प्रयास गर्ने बताए । साना लगानीकर्ताको हित र बजारको विविधीकरण गर्न आफूले सक्दो प्रयास गर्ने उनले उल्लेख गरे ।

नेपालको शेयर बजारलाई बलियो र सक्षम बनाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो सपना रहेको भन्दै उहाँले त्यसका लागि सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

सामान्य झट्काले समेत प्रभाव पार्ने शेयर बजारलाई व्यवस्थित एवं मर्यादित बनाउने र प्राकृतिकरूपमा चल्ने बनाउन प्रयास गर्ने नवनियुक्त अध्यक्ष हमालले बताए । बजारको विविधीकरण नहुँदासम्म शेयर बजारले स्थायित्व पाउन नसक्ने भएकाले सो कार्यमा आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ छ ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना एक सिमेन्ट कम्पनीको शेयर प्रकरणमा मुछिएपछि सरकारले उनलाई हटाएको थियो । पछिल्लो ६ महिनादेखि बोर्डको अध्यक्ष खाली थियो ।