पलाञ्चोकी विजयश्री (बिजेश्वरी) भगवति स्थापनाको १५१८ वर्ष पूरा

पलाञ्चोकी विजयश्री (बिजेश्वरी) भगवति स्थापनाको १५१८ वर्ष पूरा


वि.सं. ५६० मागशुक्ल पुर्णिमाका दिन देवी विजया स्वामिनीद्वारा राजसु यज्ञ गरी स्थापना भएको पलाञ्चोकी विजेश्वरी (कतै विजयश्री नामले पनि पुकारिन्छ) भगवती आजदेखि १५१९औँ वर्ष प्रवेश गर्दैछिन् ।

काभ्रेपलान्चोक जिल्लाको प्राचीन पलाञ्चोक शहर हालको पाँचखाल नगरपालिकामा रहेको पलाञ्चोकी विजेश्वरी भगवतिबारे शिलालेखमा यस्तो लेखिएको छ-

१) संवत् ४२५ शक्लपौण्णमास्याम् अस्यान्निदवसपुव्यावा भट्टारकमहाराजश्रीमानदेवस्य
२) साग्र वर्षशतमाज्ञायतः सम्रागड्गृहपतेस्पतन्या विजयस्वामिन्या प्रतिष्ठापिता देवी विजेयश्वरी

अनुवाद- संवत् ४२५ माघ शुल्क पुर्णिमाका दिन भट्टारक (गद्दीनशीन) महाराज श्री मानदेवले सयभन्दा बढी वर्षसम्म (लामो कालसम्म) आज्ञा गरिरहनुभएको बेलामा सम्राट गृहपतिको पत्नी विजयास्वामिनीले भवति विजेश्वरी देवीको प्रतिष्ठा गरियो !

जसलाई राष्ट्रगुरु योगी नरहरिनाथले प्रथमतः प्रकाशित गर्नुभएको थियो । संवत् ४२५ अर्थात् मागशुक्ल पुर्णिमाका दिन, वि.सं. ५६० मा राजराजेश्वरी विजया स्वामिनीले राजसु यज्ञ सम्पन्न गररीपलाञ्चोक शहरको शिरोभागमा पलाञ्चोक गढीनेर स्थापना गरेको विजेश्वरी भगवतिलाई आजभोलि हामी पलाञ्चोक भगवति भनेर नाम करार गरिरहेका छौँ, यो गलत हो !

यी बिजेश्वरी भगवतिलाई पलाञ्चोक शहरमा नेपालको राजधानी बनाएका तत्कालीन शासक मदनसिंह रामले काठमाडौंको इटुङ बहालमा शिलालेख थापना गरि वि.सं. १४३९ मा पलाञ्चोकको किल्लानेर त्रिपुरेश्वरीदेवीको जिर्णोद्धार गरेको उल्लेख गरेका छन् । सो शिलापत्रमा स्वयम्भूनाथ चैत्यको पुनःनिर्माण गरेको समेत प्रसङ्ग जोडिएको छ !

स्मरण रहोस्, वि.सं. १४०६ मा मुसलमानले काठमाडौं उपत्यका आक्रमण गरी ध्वस्त बनाएका मठमन्दिर पलाञ्चोकका शासकले निर्माण गरेको प्रमाण यथेष्ट छन्, त्यसको अर्को प्रमाण वि.सं. १४१७ को पशुपतिनाथको जयसिंहरामवर्दनको शिलालेख हो, मुसलमानको आक्रमणबाट वि.सं. १४०६ मा ध्वस्त भएको पशुपतिनाथ मन्दिर र वर्तमानको शिवलिङ्ग समेत पलाञ्चोकका तत्कालीन शासक जयसिहराम वर्दनले निर्माण गरेको पशुपतिनाथभित्रको शिलालेखले पुष्टि गर्छ ।