पटक-पटकको विद्युत कटौतीका कारण उपभोक्ता मारमा

पटक-पटकको विद्युत कटौतीका कारण उपभोक्ता मारमा


  • डम्बर निदाल, डडेल्धुरा

पटक-पटकको विद्युत कटौतीका कारण उपभोक्ता मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रबाट वितरण हुने विद्युत कटौती हुँदा यहाँका स्थानीय उपभोक्ताहरू मारमा परेका हुन् । डडेल्धुरामा बिहानदेखि रातिसम्म दर्जनौँ पटक लाइन आउन-जाने क्रम जारी रहेको सर्वसाधारणको गुनासो छ ।

दिनमा कयौँ पटक विद्युत कटौती हुन्छ, घरि आउने र घरि जाने गर्दा हैरानी मात्रै नभइ लाखौँ मूल्यका विद्युतीय सामग्रीको क्षति पनि उपभोक्ताले ब्यहोरिरहेका छन् । यसरी पटक-पटक विद्युत कटौती हुँदा घरायसी काममा पनि अवरोध हुने गरेकोे स्थानीयको भनाइ छ ।

प्राधिकरणको लापर्वाहीका कारण पछिल्लो समय डडेल्धुरामा दैनिकजसो विद्युत् लाइन अवरुद्ध हुन थालेको धेरैको गुनासो छ । हावाहुरी चल्दा मात्र नभइ घाम लाग्दासमेत पटक–पटक बत्ती आउने जाने गरेका कारण उपभोक्ता मारमा परेका छन् । विद्युत अवरुद्ध हुँदा दैनिक कामकाजका साथै घरायसी काममा समेत बाधा पुग्ने गरेको छ ।

दैनिकजसो विद्युत् अनियमित कटौतीका कारण यहाँका व्यवसायीलाई निकै हैरानी हुन थालेको छ । पूर्वसूचनाबिना विद्युत् कार्यालयले पटक–पटक विद्युत् कटौती हुन थालेपछि स्थानियवासीले सास्ती खेप्नु परेको छ । विद्युत् अनियमितका कारण यहाँका मिल व्यवसायीदेखि इलेक्ट्रोनिक व्यवसायी बढी मारमा परेको इलेक्ट्रोनिक पसल संचालक गणेश पाठकले बताए । विद्युत अनियमितताका कारण मिल व्यवसायी र हामी बढी मारमा परेका छौँ । मिनेट–मिनेटमा बिजुली बत्ती आउने र जाने समस्याले स्थानीयवासीले दुःख पाइरहेको उनले बताए ।

कतिपय समयमा अति आवश्यक काम गर्नुपर्ने हुन्छ जसका लागि विद्युत अनिवार्य चाहिन्छ, तर पटक–पटकको विद्युत कटौतीका कारण अति आवश्यक काम पनि नहुने गरेको एक अफसेट प्रेसका संचालक बताउछन् । विद्युत प्राधिकरणको लापरवाहीका कारण सर्वसाधारणले ठूलो सास्ती र पीडा खेप्नुपरेको उनको भनाइ छ ।

यसरी पटक–पटकको विद्युत कटौतीले विभिन्न ब्यवसायका साथै अनलाइन, संचारमाध्यम लगायत संचारकर्मीसमेत मारमा परेको स्थानिय संचारकर्मी टेकराज अवस्थी बताउँछन् । विद्युत प्राधिकरणको लापर्वाहीका कारण उपभोक्ता विद्युत कटौतीको मार सहन बाध्य भएको उनले बताए । पूर्वसूचना नदिइ विद्युत कटौती गर्दा फर्निचर उद्योग, कुटानीपिसानी मिल लगायतका उपभोक्ता झन् मारमा परेको एक स्थानीय मिल ब्यवसायीले बताए ।

यस विषयमा विद्युत प्राधिकरण डडेल्धुरामा बुझ्दा कतिपय समयमा लाइन ममत गर्नुपर्दा तथा पोल सार्नुपर्दा विद्युत कटौती हुन जाने गरेको र बागबजार क्षेत्रतिर भने लाइनको दूरी कम भएकाले पहिलाको भन्दा धेरै सुधार भइसकेको र तुफानडाँडा क्षेत्रतिरको लाइनको दूरी लामो भएकाले अलि समस्या रहेकाले लाइन आउनेजाने भएको हुन सक्ने जनाएको छ । साथै डबल सर्किटबाट लाइन ल्याउने कुरा भइरहेको र बजेट स्विकृत भएपछि समस्या समाधान हुने जनाइएको छ । लामो र जंगल बीचबाट लाइन तानिएकाले कतिपय समयमा रुखको हाँगाले तार छोएपछि लाइन ट्रिप हुन पुग्छ जसको कारण समस्या आइ फ्युज जाने भएकाले बेला बेला बत्ति आउने–जाने समस्या भएको कार्यालयका प्राविधिक फाँटका प्राविधिक रोहित बोहराले बताए । विद्युत प्राधिकरण डडेल्धुराले उपभोक्ताका समस्या समाधानका लागि प्रयास जारी राखेको कार्यालयले जानकारी दिएको छ ।