डिजिटल भोक !

डिजिटल भोक !


  • यश घिमिरे

घडी हेऱ्यो, दश बज्न लागिसकेछ ! हिजो र अस्ति पनि उ यही बेलामा अनलाइन आएकी थी, आइसकी होली भनेर सोच्यो । हतार-हतार काम सकिवरि फेसबुक खोलेर च्याटबक्समा हेऱ्यो- अनलाइन रै’छे ।
‘नमस्कार ! आराम हुनुहुन्छ ?’ (औपचारिकता निभायो)

‘हजुर नमस्कार, आरामै छु !’

‘अनि भन्नुस् नयाँ हालखबर के छ ?’ (भूमिका बाँध्यो)

‘के हुनु नि.. सबै उस्तै त हो ! केयर गिभरलाई न काम न फुर्सद.. सधैं एकनासको झन्झट !’

‘त्यैतनि.. हेर्नुस न हाम्रो नियति ! परिवारसँग बिछोडिनुको पीड़ा त छँदैछ त्यैमाथि पनि सन्चो-बिसन्चो केही नभनि हप्तामा ६ दिन रोगीहरूको स्याहारमा जसरी‘नि खटिनुपर्ने ! कस्तो भाग्य लिएर आइएछ है ?’ (सहानुभूतिको लागि तीर हान्यो)

‘हजुर, सही भन्नुुभो !’

‘अनि घर कहाँ भन्नुभो रे हजुरको ? इटहरी होइन त ?’ (क्रमभङ्ग हुन दिएन)

‘कस्तो बिर्स्या ? नवलपरासी भन्या होइन हिजो ?? एकैदिनमा थुप्रै साथीहरुसँग च्याट गर्नुहुन्छ हो ?!’

‘ए हो त ! कस्तो भुसुक्क बिर्सेको मैले.. अल्जाइमर बुढोको स्याहार गर्दागर्दै आफै पो अल्जाइमरको रोगी हुन थालिसकेछु भन्या ! हे हे हे.. (आफ्नो झेंप लुकायो)

‘साँच्ची, तपाईंको असली नाम के हो ? निरभ नै हो त ? कि फेक आईडी हो यो ???’

‘किन र ? विश्वास लागेन ?? मेरो खराबी र सही जे भने पनि एउटा आदत छ, केही ढाँट्न मन लाग्दैन । ढाँट्ने मान्छे मन पनि पर्दैन । (ठाडो झूट बोल्यो)

‘हो, मलाई पनि मन पर्दैन !’

(एकछिनको मौनता)

‘एउटा रिक्वेस्ट गरूँ है ? इफ यु डोन्ट माइन्ड क्याममा गफ गरम न हुन्न ?’ (फकायो)

‘फेसबुकमै फोटो देखिहाल्नु भएको छ । किन क्याममै गफ गर्नुपऱ्यो र ?’

‘फेस टु फेस भएर गफ गर्दा मलाई सहज महसूस हुन्छ त्यै भएर !’ (वास्तविकता अर्कै बतायो)

‘ओके !’

‘देख्नुभो मलाई ?’

‘हजूर, देखेँ ! धन्यवाद !’ (उन्नत ऊरोज नियाल्दै घुटुक्क थुक निल्यो)

‘म खासै राम्रीचाहिँ छैन ल ?!’

‘राम्री छैन रे ?! आँखा फुटेकोले मात्र नराम्री भन्ला हौ । कसम ढाँटेको होइन, भगवानले मिहिनेत गरेर बनाएको रहेछ हजूरलाई !’ (प्रशंसाको पुल बाँध्यो)

‘भो-भो फुर्क्याउनु पर्दैन । बरु प्लीज आज अल्ली ढाड दुख्या’छ बिदा माग्छु ल ?’

‘ढाड दुख्या’छ रे ? बोलाउनुस् न मात्र, म माड्‘दी हाल्छु नि ! यसै पनि केयरगिभर हुँ क्यारे, हजूरकै केयरगिभर बनुम्ला नि त !’ (नाडी छाम्यो)

‘अँ होला नि खुब !’

‘कति भो’नि ढाड दुख्न थालेको ?’ (कृत्रिम सभ्यता पोख्यो)

‘दुई वर्ष जति भयो । पहिला काम गर्ने ठाममा १०५ केजीकी बूढीआमालाई उचाल्दा सड्किएको, अझै कहिलेकाहीँ दुखिरन्छ !’

‘ओह ! मेरो आमाको यस्तै ढाड दुख्ने समस्याले साह्रै हैरान हुनुभएको छ । ४-४ दिनमा ‘न्युरोबिन’ इन्जेक्सन लिइरहनु पर्छ । हजूरले पनि अलिकति आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला है, नत्र सारै दुःख हुन्छ पछि । बेला-बेलामा मसाज क्रिम लगाएर मालिस गर्दै गर्नुहोला । आफूले नसके मन मिल्ने साथीलाई बोलाएर हल्का मसाज गर्न भन्नुस् । जो पायो त्यसलाई मसाज गरिदे नभन्नु है ! तर्किएको नसा मऱ्याकमुरुक गरेर झन बर्बाद गरिदेलान् नि ! (चारो हाल्यो)

‘हजुर !’

‘यो बिरानो मुलुकमा जतिसुकै बिरामी भए पनि ‘कठै’ भन्ने को पो हुन्छ र ? सबैलाई काम प्यारो न हो !, फेरि स्वास्थ्य नै नरहे काम पो कहा रहन्छ र होइन त ?’ (दार्शनिक बन्यो)

(केटीको मन भावुक भएर आयो, एकछिनको मौनता)

‘मलाई त किन-किन हजुरको कुराले साह्रै मन छोयो । माइती नै भेटेझैँ भएँ । अनुमति दिनुहुन्छ भने हजुरलाई ‘भाइ’ भनुम् ?’

(अल्ली लामो मौनता छायो)

‘ए, भैहाल्छ नि । लौ त अहिले म पनि बिजी-बिजी भएँ… पछि कुरा गर्दै गरुँला नि है ? बाई !’ (चूक अमिलो खाएझैँ मुख बनायो)

अनि हत्त न पत्त उनलाई साथीको लिस्टबाट अन्फ्रेण्ड गऱ्यो ।