नागढुङ्गा सुरुङमार्ग समयमै सम्पन्न हुने दाबी

नागढुङ्गा सुरुङमार्ग समयमै सम्पन्न हुने दाबी


भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले नागढुङ्गा सुरुङ तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन् । बुधबार निर्माणस्थलको अनुगमनपछि आयोजनाका कर्मचारी र निर्माण कम्पनीसँगको छलफलमा उनले अहिलेसम्मको निर्माण सन्तोषजनक रहेको उल्लेख गर्दै सुरुङ निर्माणको गति र गुणस्तर दुवै राम्रो बनाउन निर्माण कम्पनीले मेहनत गरेको भनी प्रशंसा पनि गरिन् ।

सुरुङमा आउने कुनै पनि किसिमका समस्या समाधानका लागि आफू तयार रहेको उनको भनाइ छ । आर्थिक वा अरु कुनै पनि किसिमको समस्या आउँदा समाधानका लागि प्रयत्न गरिने पनि उनले बताइन् ।

नागढुङ्गा सुरुङ आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिले पनि स्थानीयवासीलाई मुआब्जाका लागि दिन रकम अपुग भइरहेको र विगतदेखि नै मुद्दामा रहेका पाँच घरको टुङ्गो नलागेकाले निर्माणमा बाधा पुगेको जानकारी गराए ।

आयोजनाको हालसम्म भौतिक प्रगति २९ दशमलव एक प्रतिशत र मोबिलाइजेसन पेश्कीसमेत आर्थिक प्रगति ४४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

हालसम्म मुख्य सुरुङ निर्माण ३३ दशमलव दुई प्रतिशत र निष्कासन सुरुङ ५२ दशमलव नौ प्रतिशत सकिएको छ ।