नेपाल नौ महिना गुलाबमा आत्मनिर्भर हुने

नेपाल नौ महिना गुलाबमा आत्मनिर्भर हुने


‘भ्यालेन्टाइन डे’को लागि भारतबाट करोडको गुलाब ल्याइँदै

‘भ्यालेन्टाइन डे’ नजिक आइसकेको छ । पश्चिमा संस्कृतिबाट ब्यापक रूपमा प्रभावित नेपाली युवा पुस्ताले यस्ता दिवसलाई आफ्नै संस्कार–संस्कृतिको रूपमा अपनाउन थालेका छन् । मौलिक नेपाली संस्कृतिको कोणबाट यो विडम्बनाको विषय भए पनि व्यवसायीहरूले भने यस्ता दिवसलाई पनि कमाइधमाइको हतियार तुल्याउने गरेका छन् । पछिल्ला वर्षहरूमा नेपालमा यो दिनलाई युवायुवतीले विशेष रुपमा मनाउने गरेका छन् । १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको रूपमा विश्वभर मनाउने गरिन्छ ।

यही मौका छोपेर फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) ले यस वर्षको ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी भारतबाट दुई लाख सात हजार थान (स्ट्रिम) गुलाबको फूल ल्याउने भएको छ । भ्यालेन्टाइन डेलाई लक्षित गरी एक करोड मूल्यको दुई लाख सात हजार थान गुलाबको फूल भारतबाट मगाइएको फानका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

भ्यालेन्टाइन डेको दिनमा आफूले माया गर्ने व्यक्तिलाई गुलाबको फूल दिने प्रचलन रहेको छ । सोही कारण उक्त दिन गुलाबको फूलको माग बढी हुने गर्छ । नेपालमा पनि अन्य दिनको तुलनामा भ्यालेन्टाइन डेको दिन गुलाबको फूलको माग १३ गुणा बढी हुने गरेको छ । ‘भ्यालेन्टाइन डे’मा नेपालमा दुई लाख ३० हजार गुलाबको फूल बिक्री हुने अनुमान छ । जसमध्ये १० प्रतिशत माग नेपालमा उत्पादन भएको गुलाब र बाँकी ९० प्रतिशत भारतबाट ल्याइने गुलाबले धान्ने तामाङले बताए । यस वर्षको भ्यालेन्टाइन डेमा नेपालमा उत्पादन भएको २३ हजार थान गुलावको फूल बजारमा आउने छ ।

गत वर्षको भ्यालेनटाइन डेमा एक लाख ८० हजार थान गुलाबको फूल बिक्री भएको थियो । यस वर्ष गुलावको माग र बिक्री बढ्ने अनुमान गरिएको छ । ‘कोरोना संक्रमण दर घट्दै गएको छ । बजार पनि खुल्दै गएका छन् । यसकारण यस वर्षको भ्यालेनटाइन डेमा गत वर्षको भन्दा बढी गुलाबको माग हुने हाम्रो अनुमान हो,’ फानका अध्यक्ष तामाङले भने ।
सामान्य बेला नेपालमा दैनिक आठ हजार देखि १० हजार थानसम्म गुलावको फुल बिक्री हुने गर्छ । भ्यालेनटाइन डेको दिन भने गुलावको बिक्री निकै बढी हुने गर्छ । भ्यालेनटाइन डेलाई लक्षित गरी भारतबाट गुलावको फूल ल्याउने कार्य सुरु भइसकेको उनले जनाए ।

फानका अध्यक्ष तामाङका अनुसार वर्षमा नौ महिना नेपाल गुलावको फुलमा आत्मनिर्भर रहँदै आएको छ । चैतदेखि मंसिरसम्म गुलावको फूल भारतबाट आयात गर्नु पर्दैन । नौ महिना नेपाली बजारको मागलाई नेपालमै उत्पादिन गुलावले धान्दै आएको छ । ‘नौ महिना गुलावमा हामी आत्मनिर्भर छौं,’ तामाङले भने, ‘बाँकी महिना पनि हामी आत्मनिर्भर बन्न सक्थ्यौँ तर कोरोना महामारीले गर्दा हुन सकेका छैनौं ।’

चिसो मौसममा गुलावको फूल कम मात्रामा फुल्ने गर्छ । पुसदेखि फागुनसम्म नेपालमा सबैभन्दा बढी चिसो हुनेगर्छ । यसैकारण यी महिनामा त्यसै पनि गुलावको फूल कम उत्पादन हुन्छ । ‘कोरोना महामारीको बेला लकडाउन भयो । लकडाउनमा गुलाव व्यवसायीलाई फार्मसम्म आवतजावत गर्न दिइएन । जसका कारण नयाँ बिरुवाहरू मरे र उत्पादन घट्यो । दुई वर्षदेखि पुरानै बिरुवाले धानिरहेको छ । कोरोनाका कारण थप लगानी पनि हुन सकेको छैन,’ पूर्ण रुपमा आत्मनिर्भर हुन नसक्नुको कारण अध्यक्ष तामाङले बताए ।