स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा गर्ने सरकारको निर्णय

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा गर्ने सरकारको निर्णय


file photo

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ । आगामी २०७९ साल वैशाख ३० गते निर्वाचन गर्ने निर्णय क्याबिनेट बैठकले गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजेका लागि बोलाएको मन्त्रिपरिषद बैठक ढिला गरी सुरु भएको थियो ।

बैठकमा स्थानीय तह निर्वाचनको मिति घोषणाबारे छलफल हुनेबारे प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले बैठक शुरु हुनुअगावै जानकारी दिएका थिए भने आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।

सोमबार बिहान प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसँग छुट्टै छलफल गरेका थिए । यसअनुसार आजको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।

निर्वाचन आयोगले आगामी ५ जेठमा सात सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले १७ र २१ वैशाखमा निर्वाचनको मिति सरकारलाई प्रस्ताव गरेको थियो । तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षको आइतबारको बैठकपछि आज स्थानीय तहको निर्वाचनको मिति सरकारले तोकेको हो ।

अब ३० वैशाखमै एकै चरणमा स्थानीय तहको निर्वाचन हुने भएको छ । यसअघि २०७४ को स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो ।