एमसीसी मुद्धा बल्झिएपछि पाँचदलीय गठबन्धन छाडेर जनमोर्चा सडकमा

एमसीसी मुद्धा बल्झिएपछि पाँचदलीय गठबन्धन छाडेर जनमोर्चा सडकमा


अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई प्रतिनिधिसभाबाट पारित गर्ने तयारी तीव्र भइरहेको बेला शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धनको एक घटक सडक आन्दोलनमा होमिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको पाँचदलीय सत्ता गठबन्धनबाट अलग भएर जनमोर्चा एमसीसीको विरोधमा आन्दोलनमा उत्रिएको हो ।

सत्ता गठबन्धन तथा संघीय संसद् भन्दा बाहिर रहेका साना बामपन्थी दलहरुसँग मिलेर चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले २५ र २६ माघका लागि देशैभरी विरोध प्रदर्शन गर्ने निर्णय गरी सडक संघर्षमा उत्रिएको हो । जसअनुसार २५ माघमा देशैभरी संयुक्त कोणसभा गर्न लागेका साना बामपन्थी दललाई साथ दिँदै जनमोर्चाले माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरबाट जुलुससहित संसद् भवनअगाडि विरोध प्रदर्शन र देशैभरी सदरमुकामहरुमा संयुक्त विरोध प्रदर्शन र सभामा सहभागी हुने निर्णय लिएको छ ।

साना बामपन्थी दलहरुसँग मिलेर सडक संघर्षमा उत्रिएको जनमोर्चाले ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न’ अपिलसमेत गरेको छ ।

पाँच दलीय गठबन्धनको एक घटक जनमोर्चाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीसँग मिलेर संयुक्त आन्दोलन गर्न लागेको हो । सो आन्दोलनमा सहभागी सिंह नेतृत्वको नेकपा (मसाल) जनमोर्चाको माऊ पार्टीसमेत हो ।