रोकिराखेको ट्रकमा कार ठोकिँदा तीन जनाको मृत्यु

रोकिराखेको ट्रकमा कार ठोकिँदा तीन जनाको मृत्यु


  • सुरेश परियार, बुटवल

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन् । दुर्घटनामा बुटवल-१३ का भगीरथ चौधरी र वडा नम्बर १२ का अनिष जिसी गम्भीर घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

आज (सोमबार) एकाबिहानै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगरनजिक कोरियन कलेजअगाडि दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ । ट्रकचालक फरार रहेका छन् । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।