प्रदेश १ मा अब १४ सदस्यीय मन्त्रिरिषद्, मधेस प्रदेशको मन्त्रिमण्डल पनि १४ सदस्यीय नै !

प्रदेश १ मा अब १४ सदस्यीय मन्त्रिरिषद्, मधेस प्रदेशको मन्त्रिमण्डल पनि १४ सदस्यीय नै !


photo: rss


प्रदेश सरकारको सिफारिसमा प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले आज मौजुदा मन्त्रिपरिषद्का आठ मन्त्रीको नियुक्ति, हेरफेर र कार्य विभाजन गरेका छन् ।

प्रदेश प्रमुख खापुङले रामकुमार राईलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, राजन राईलाई सामाजिक विकास मन्त्रालय, खिनु लङ्वा लिम्बूलाई पर्यटन तथा सस्कृति, झलकबहादुर मगरलाई कृषि, शेखरचन्द्र थापालाई वन, वातावरण तथा भू–संरक्षण, ओमप्रकाश सरावगीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, प्रतापप्रकाश हाङगामलाई उद्योग, श्रम तथा रोजगार र उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा पद तथा गोपनियनताको शपथ गराएका हुन् ।

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिमा विसं २०७८ कात्तिक १६ गते गठित मौजुदा मन्त्रिपरिषद्लाई नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्ति, हेरफेर र कार्य विभाजन गरेका हुन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव एवं कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रदेश नं १ मा एक अब राज्यमन्त्रीसहित १४ सदस्यीय मन्त्रिरिषद् भएको छ ।

यस्तै, मधेस प्रदेश सरकारमा पनि नेकपा (एकीकृत समाजवादी) बाट एक राज्यमन्त्री थप गरिएको छ । प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरिएको छ ।

नवनियुक्त राज्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ गराएका छन् । यसअघि गत मङ्सिर ५ गते एकीकृत समाजवादीबाटै उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव सरकारमा सहभागी भइसकेका छन् । योसँगै अब मधेस सरकारको मन्त्रिमण्डल १४ सदस्यीय भएको छ । मधेस सरकारमा मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री भएका छन् ।