एमसीसीलाई पत्र पठाएको सन्दर्भ सार्वजनिक भएपछि माओवादीभित्र खैलाबैला

एमसीसीलाई पत्र पठाएको सन्दर्भ सार्वजनिक भएपछि माओवादीभित्र खैलाबैला


यथास्थितिमा माओवादी केन्द्रले एमसीसी स्वीकार नगर्ने नेता श्रेष्ठको जिकिर, पत्र पठाएको बारे प्रचण्डले पार्टीमा जानकारी दिएको गजुरेलको दाबी

प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर प्रचण्डले एमसीसीलाई पत्र पठाएको खुलासा भएपछि नेकपा (माओवादी केन्द्र) भित्र खैलाबैला मच्चिएको बुझिएको छ । सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन नगर्ने अभिव्यक्ति दिएका छन् भने नेता श्रेष्ठको प्रष्टोक्तिपछि माओवादीका शीर्ष तहका नेताहरुबाट एमसीसीबारे फरक फरक धारणाहरु सार्वजनिक भएका छन् ।

पार्टी अध्यक्ष प्रचण्डले पाँच महिनाभित्र (आगामी फागुन १७) संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धतासहितको पत्र एमसीसीलाई लेखेको सार्वजनिक भएकै दिन नेता श्रेष्ठले यथास्थितिमा संसद्बाट एमसीसी स्वीकार नगर्ने घोषणा गरेका हुन् ।

‘प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गरिने छैन,’ नेता श्रेठले आइतबार ट्विट गरेका छन् ।

उनको यो भनाइ ब्यापक बनेपछि नेता श्रेष्ठले ‘सञ्चारमाध्यममा आएजस्तो आफ्नो धारणा नभएको र आफू पार्टी निर्णयबाट टाढा जान नसक्ने’ भन्दै पुनः अर्को ट्वीट गरेका छन् ।

यसै क्रममा प्रचण्डले आगामी पाँच महिनाभित्र एमसीसी संसदबाट पारित गर्ने प्रतिबद्धतासहितको पत्र लेखेको बारेमा पार्टीलाई जानकारी गराएको रहश्योद्घाटन नेता हरिबोल गजुरेलले गरेका छन् ।

एमसीसी पारित गर्ने विषयमा नियोगलाई पत्र लेखेको जानकारी अनौपचारिक रूपमा अध्यक्ष प्रचण्डले पार्टी बैठकमा गराएका नेता गजुरेलले जनाएका हुन् । ‘एमसीसीलाई लिएर अमेरिकालाई पत्र लेखेको जानकारी अध्यक्ष प्रचण्डले पार्टीमा गराउनु भएको थियो, तर पार्टी बैठकमा औपचारिक छलफलको विषय भने बनेको थिएन । तथापि, अनौपचारिक जानकारीचाहिँ पत्र पठाएपछि गराउनुभएको थियो’, गजुरेलको जिकिर छ ।

उनका अनुसार प्रचण्डले एमसीसीका बारेमा पत्र लेखेको विषयसँग माओवादीका सबै शीर्ष नेताहरू जानकार थिए ।