जनगणना कि मनगणना ?

जनगणना कि मनगणना ?


  • अर्जुनराज पन्त

धनै‌ गन्ने‌ बानी पर्‍यो गन्नै बिर्से जन
गल्ती हो कि साँच्चै हो यो लौन कोही भन

मेरा मान्छे यति भन्दै सबले धाक दिन्थे
ती-तीन करोड मेरा भन्दै आफ्नो बिलो लिन्थे !

जम्मै मान्छे गन्दा पनि पुग्दैन त्यो तीन
मृत्युदर नि त्यत्ति छैन त्यस्तो भयो किन ?

घरमै बसी गने कि खै खेल्दै म्यारिज रमी ?
भोट हाल्ने मान्छेभन्दा जिँउदा मान्छे कमी !

गने कि पो मान्छे कतै फुटा गनेसरि
झुक्किएर पठाए कि त्यही विवरण भरि !

दिएनन् कि विवरण नै गणकैलाई पनि
यस्ता ठाँउमा नाम लेखाएर के पाइन्छ र भनी

भोट हाल्नेमा नाम लेखाए पो रौसी-मासु पाइन्थ्यो
नाम लेखाएर‌ केही नपाउने किन उनलाई चाहिन्थ्यो ?

जनसंख्या नै घट्दै गयो खुस्क्यो वृद्धिदर
लोपै पो हुने हो कि लाग्न थाल्यो डर !

कि त एउटा नत्र दुईटा सन्तान जताततै
लोप भए रे साँहिला-माहिला भेटिन्नन् रे कतै !

महामारी रोग आउँदा नि किन यस्तो पारा ?
बन्द गर‌ दुई सन्तानको अब त्यस्तो नारा !

जनसंख्र्या रोक्छौँ भन्दै आए कस्ता-कस्ता !
आखिरीमा पुग्दो रै’छ भए दुई संस्था

खडा भए त्यस्ता यहाँ बनी दुई काल
बच्चा पढ्ने निजी स्कुल अनि अस्पताल !

निजी स्कुल र अस्पतालमा जस्ले भर्ना गरे
खर्च देख्दा तर्सिएर पाउनै छाडे अरे !

कुन विधिले मान्छे गनी त्यति मात्र लेखे ?
कत्ति खिस्सि गर्ने होलान् विदेशीले देखे !

मनमनै गने कि खै त्यस्तै विधि रोजी
जहाँ पनि बेथिती छ कस्ले गर्नु खोजी ?

विचित्रको नतिजाले दङ्गै परे सब
जनगणना भनौँ कि खै मनगणना अब ?

  • बाग्लुङ, मुलपानी