स्थानीय तह निर्वाचनअघि नै माओवादीले पदाधिकारीलगायतको जिम्मेवारी बाँडफाँड गरिसक्ने

स्थानीय तह निर्वाचनअघि नै माओवादीले पदाधिकारीलगायतको जिम्मेवारी बाँडफाँड गरिसक्ने


file photo

तत्काल निर्वाचनको मिति नतोके देशब्यापी आन्दोलनमा उत्रने एमालेको चेतावनी

महाधिवेशन सम्पन्न गरेको झण्डै दुई महिनापछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ । यही माघ २७ का लागि बोलाइएको केन्द्रिय समिति बैठकअघि नै महासचिवलगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।

गत पुस ११–१९ मा सम्पन्न महाधिवेशनले २ सय ९९ मध्ये अध्यक्षमा प्रचण्डससहित २ सय ३६ केन्द्रिय सदस्य चयन गरेर महाधिवेशन सम्पन्न गरे पनि पदाधिकारी चयन भने अझै गर्न सकेको छैन । मुख्यतः महासचिवका दावेदार वर्षमान पुन उपचारका लागि त्यसबेला चीनमा रहेका कारण पनि पदाधिकारी चयन नगरेको माओवादीले २७ माघमा केन्द्रिय समिति बैठक डाकेर पदाधिकारी चयन गर्न लागेको हो ।

माओवादीले गत महाधिवेशनबाट पारित गरेको विधानअनुसार वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई उपमहासचिव र बाँकी सचिव रहने गरी १५ सदस्यीय पदाधिकारी बनाउने छ ।

यसैगरी, बैठकले स्थायी समिति र पोलिटब्युरो र बाँकी रहेका खाली कोटामा केन्द्रिय सदस्य रहने गरी गृहकार्य गरेको हरिबोल गजुरेलले बताएका छन् । उनका अनुसार स्थानीय तहको निर्वाचनमा लाग्नुपर्ने भएकाले आगमी केन्द्रिय समितिबाट नै बाँकी पदपुर्ति र समितिलाई पुर्णता दिने माओवादी केन्द्रले योजना बनाएको छ ।

निर्वाचन आयोगले ४ जेठभित्रै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक र कानुनी बाध्यता रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सो विषयमा सकारात्मक भए पनि गठबन्धन दलका अन्य नेता अन्यौलमा रहेका कारण अझै निर्वाचनको मिति तय हुन भने सकेको छैन ।

यसैबीच तत्काल निर्वाचनको मिति घोषणा नगरे केन्द्रिय तहबाटै आन्दोलनको कार्यक्रम घोषणा गरी देशब्यापी आन्दोलनमा उत्रने नेकपा (एमाले)ले सरकारलाई चेतावनी दिएको छ ।