छैन मलाई कोरोनाको डर

छैन मलाई कोरोनाको डर


  • हरि मञ्जुश्री

पिनासले गर्दा टाउको टनक-टनक टन्केको थियो
छिटै निदाउन सके हुन्थ्यो भन्ठान्दै सुतेको थिएँ
म बिरामी भएको कुरा
कसरी हो, हस्पिटलले चाल पाएछ
घरका मान्छेले मगाउँदै नमगाई
हस्पिटलले नै मकहाँ एम्बुलेन्स पठाएछ
डरलाग्दो स्वरले हुइँहुइँ कराउँदै एम्बुलेन्स आएछ
मलाई हस्पिटल लगिएछ
सुरुमै पीसीआर टेस्ट गरिएछ
रिपोर्ट पोजेटिभ आएछ
कोरोना भाइरसबाट सङ्क्रमित भनेर
पिनासको वास्तै नगरी
मलाई छुट्टै आइसोलेसनमा राखेछन्
कसैसँग भेट्न र बोल्न दिएनछन्
मलाई तर्साउनका लागि
टाउकादेखि पैतालासम्म खै के-के लगाएर आफूलाई लुकाएका
देख्तैमा यमराजका दूत हुन् कि जस्ता लाग्ने मान्छेहरू
मेरा अगाडि आउँदा रहेछन्
र मैले नसुन्ने गरी खासखुस गर्दा रहेछन्
आइसोलेसन भनिएको चिसो कोठामा बस्नुपर्दा
तन झन् बिरामी भएछ
चिनजानका मान्छेसँग भेट्न र बोल्न नपाएर
मन पनि बिरामी भएछ
त्यसपछि मलाई भेन्टिलेटरमा राखेछन्
मेरा छोरा-बुहारी अस्पतालबाहिर बसेका रहेछन्
मलाई भेन्टिलेटरमा राखिसकेपछि
अस्पतालको कर्मचारी हतारहतार मेरो छोरालाई भेट्न गएछ
छोराको हातमा लाखौँ रुपियाँको बिल थमाएछ
‘पर्सि पैसा तिरिसक्नुपर्छ’ भनेछ
छोरा–बुहारीले अस्पताल पनि नगई दौडधुप गरेर
घर धितो राखेछन् र ऋण काढेछन्
अनि अस्पतालमा पुगेर पैसा बुझाएछन्
त्यसपछि छोराले सोधेछ-
‘मेरा बुबालाई अहिले कस्तो छ ?’
काउन्टरको कर्मचारीले एउटा कागज हेर्दै भनेछ-
‘तपाईंका बुबा त हिजै बितिसक्नुभएको रहेछ
सैनिकहरू आज लास लिएर जान्छन्
अब तपाईं घर जानुभए हुन्छ । ’
छोरा-बुहारी रुँदै-रुँदै घर फर्केछन्
बुहारी सासूको कोठामा पुगेर रुन थालिछ
छोरोचाहिँ मेरो कोठामा पुगेछ
मैले ओढ्ने गरेको सिरक समाएर रुन थालेछ
उसको रुवाइ सुनेर म बिउँझिएछु
हत्, सपना पनि अनौठो खालको पो देखेछु
आफू मरेको सपना देख्ता आयु बढ्छ भन्छन्
अब मलाई कोरोनाको डर छैन !