‘अपमान’लाई बोध गर्ने कि उपेक्षा ?

‘अपमान’लाई बोध गर्ने कि उपेक्षा ?


विवेकहीन व्यक्तिले केही भन्यो भने अपमान बोध गर्ने होइन बरु बेवास्ता गर्नुपर्छ । त्यस्तो तुच्छ कुरोलाई मनभित्र प्रवेश गर्न दिनु हुँदैन । तब मात्र अपमान इर्ष्या/बदला/कुण्ठाको मानसिकताबाट माथि उठ्न सकिन्छ र, सामाजिक वातावरणलाई प्रेमिल, शान्तिपूर्ण, एकतावद्ध र सहकार्यमूलक बनाउन सकिन्छ ।
  • शेखर ढुङ्गेल

अपमान सोच्ने र दुःखेसो पोख्ने वा त्यसको लागि बदलास्वरुप दुःखेसो पोख्दै हिँड्ने वा विरुद्धमा अर्को आरोप थपेर अपमान नै गर्न खोज्ने प्रवृत्ति अति दुष्ट, असहिष्णु, अज्ञानी र निच मानसिकताको हुन्छ । ज्ञानी र बौद्धिक मानसिकता भएकाहरूले कहिल्यै पनि आफू अपमानित वा अपहेलित भएको भन्दै अभिव्यक्ति दिँदैनन् । ज्ञानीमा धैर्यता हुन्छ, सहनशीलता र क्षमाशीलता हुन्छ ।

सायद त्यसै भएर होला पाटलीपुत्रले (चाणक्य) बाहिर अभिव्यक्त गर्न नहुने- १. घरको कुरो (पति वा पत्नीको बारेमा), २. आफ्नो सम्पतिको कुरो (विवरण), ३. अपमान वा अपहेलित भएको कुरो अरुसँग व्यक्त नगर्नु भन्नुभएको छ । गोप्य राख्नुपर्ने तीन महत्वपूर्ण कुरामा यो अपमानलाई पनि महत्व दिनुभएको होला । हुन पनि अपमान वा अपहेलित भन्ने विषय एउटाको मस्तिष्कमा रहेको विषाक्तपनको प्रदुषण एकबाट लिएर अर्कोमा सारिदिने मानसिक प्रदुषण मात्र होइन स्वयम् हास्यको पात्र बन्ने त हुन्छ नै, साथै थप अराजक एवम् बदलाको भावनाले ग्रसित भएर सामाजिक वातावरणसमेत ध्वस्त तुल्याउने गर्छ ।

अपमान वा अपहेलना एउटा पक्षको मुर्खतापूर्ण ब्यवहार हो भने त्यही कुनै-कसैको मुर्खतापूर्ण ब्यवहार (मानसिक प्रदुषण)लाई अपमान वा अवहेलना ठानी अर्कोलाई भन्ने वा सार्वजनिक गर्ने मानसिकता अर्कोको प्रदुषित मानसिकतालाई आफ्नो टाउकोमा बोकी अरु असम्बन्धितलाई सार्दै हिँड्नु झनै मुर्खतापूर्ण मात्र होइन इर्ष्यालु प्रतिशोधात्मक र अपरिपक्व मानसिकताको बाहक मानिन्छ जसले विवाद र कटुतापूर्ण ब्यवहारलाई प्रेरित गर्ने गर्छ । र, स्वयंको आत्मबल समेत गिराउने गर्छ ।

हाम्रो समाजमा कथित राजनीतिक व्यक्तित्वहरू समेत सार्वजनिक रूपमा भन्ने गर्छन्- ‘मेरो अपमान भयो, मलाई भित्तामा पुऱ्याउने काम भयो, यस्तो नहोस् भनि म चेतावनी दिन चाहन्छु..!’ यस्ता अभिव्यक्तिहरू दुष्ट सोचाइ र कुण्ठाग्रस्त मानसिकताका परिणाम हुन् । जसले विवाद, विग्रह, सामाजिक अखण्डता र एकतामा विचलन ल्याउने गर्छ । पछिल्लो समय डा. बाबुराम भट्टराई र डा. भीमबहादुर रावलबीचको अर्थहीन तथा अपरिपक्व कोटीको आरोप-प्रत्यारोपको प्रसङ्ग पनि यस्तै अपमान गर्ने र अपमान भएको सोच्ने स्खलित बौद्धिकताको उदाहरण हो ।

यो अपमान वा अपहेलना भयो/गऱ्यो भन्ने अभिव्यक्ति कस्तो प्रदुषित मानसिकता हो भन्ने यो सानो उदाहरण हेरौँ ।

एक अध्यात्मिक गुरु आफ्ना केही चेलाका साथ गुरुकुलतर्फ जाँदै हुनुहुन्थ्यो । बाटोमा अचानक एक अपरिचित मान्छेले बाटो छेक्यो । गुरुले बाटो बदलेर अगाडि बढ्नुभयो, शिष्यहरू पनि सँगै अघि बढे । अपरिचित मानिसले गुरुलाई अपशब्द प्रयोग गर्न थाल्यो, हातमा ढुङ्गा टिपेर हानौँला झैँ गर्न थाल्यो । गुरु मुस्काउँदै अगाडि बढ्नुभयो र शिष्यहरूलाई पनि हातको इशाराले चुपचाप अघि बढ्न भन्नुभयो । अपरिचित मानिस झन् ठुलो स्वरमा डरछेरुवा, कायर आदि भन्दै अपशब्द बोल्न थाल्यो । शिष्यहरू रिसले आगो भए, क्रोधित भइ प्रतिवाद गर्न खोजे, तर गुरुले रोक्नुभयो ।

गुरु अझै शान्त स्वरुपमा मुस्कुराउँदै अघि बढ्नुभयो । गुरुकुल आइपुग्यो, त्यो परिचित मानिस अर्को बाटो लाग्यो । भित्र पसेपछि सबै शिष्यले गुरुलाई घेरे र सोधे- ‘गुरु त्यो अपरिचित मानिसले हजुरलाई त्यस्तो अपशब्द प्रयोग गऱ्यो, अपमान गऱ्यो, बेइज्जत गऱ्यो तर पनि न हजुरले प्रतिवाद गर्नुभयो न त हामीलाई केही गर्न अनुमति दिनुभयो…, यस्तो अन्याय किन सहनुभयो ?’ यो सुनेर गुरु केही नबोली शौचालय छिर्नुभयो र शौचालय सफा गर्ने गरेको केहिी दुर्गन्धित कपडाको टुक्रा शिष्यहरूको हात-हातमा थमाइदिनु भयो । शिष्यहरूले फ्यात्त-फ्यात्त फ्याँकी दिए र सोधे- ‘गुरु ! फेरि यो के गर्नुभएको ? उसको रिस हामीलाई पोख्नुभएको ?’ गुरुले खुलेर हाँस्दै भन्नुभयो- ‘हो.. जसरी तिमीहरूले दुर्गन्धित कपडाको टालो हातमा नराखी फ्याँकीदियौ त्यसैगरी मैले उनको दुर्गन्धित मानसिकताको ब्यवहारलाई बेवास्ता गरेको हुँ । उनको मन विषाक्त थियो उनलाई गाली फर्काउन त उनीभन्दा दुर्गन्धित सोच हुनु पर्दैन र ? म अनि तिमीहरू त्यो हौ र ? सवाल-जवाफ र गालीको बदला गाली दिने हो भने ती व्यक्ति र हामीमा के फरक फेरि ? जीवनमा धैर्यता, सहनशीलता र क्षमाशीलता जस्तो मानवीय गुण ब्यवहारमा हुनुपर्छ ।’ शिष्यहरूले कुरा बुझे र गुरुलाई आभार व्यक्त गर्दै आ-आफ्ना दैनिकीमा लागे ।

तसर्थ, कुनै दुष्ट वा चित्त सानो भएको वा विवेकहीन मानिसले केही भन्यो भने अपमान र अपहेलना भयो भन्ने होइन कि बेवास्ता गर्नुपर्छ । त्यस्तो तुच्छ कुरोलाई मनभित्र प्रवेश गर्न नै दिनु हुँदैन । तब मात्र अपमान इर्ष्या/बदला/कुण्ठाको मानसिकताबाट माथि उठ्न सकिन्छ र, सामाजिक वातावरणलाई प्रेमिल, शान्तिपूर्ण, एकतावद्ध र सहकार्यमूलक बनाउन सकिन्छ, जसले गर्दा समाज र देशलाई सकारात्मक बाटोमा डोऱ्याउन सहयोग पुग्छ ।