सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुवै चालकको मृत्यु, अन्यको खोजी हुँदै

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुवै चालकको मृत्यु, अन्यको खोजी हुँदै


  • प्रकाश तिम्सिना, सुनसरी

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका-१ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठक्कर खाँदा दुवै सवारी चालकको मृत्यु भएको छ ।

पूर्वको काकडभित्ताबाट काठमाडौं जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खाँदा गाडीमा आगलागी भएको थियो । आगलागीमा जलेर दुवै चालकको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल लौकहीका इन्सपेक्टर अरुण पाण्डेका अनुसार दुवै सवारी पूर्ण रुपमा नष्ट भएका छन् । बसमा के–कति यात्रु थिए र कतिको मृत्यु भयो भन्ने खोजी भइरहेको पाण्डेले बताए । मृतकको संख्या बढ्न सक्ने उनले बताए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही, सशस्त्र प्रहरी बल लौकहीको टोलिले पुगेर अन्य यात्रुहरुलाई उद्दार गरिरहेको छ ।

आगोलाई कोशी गाउँपालिका, इनरुवा नगरपालिकाका वारुण यन्त्रले नियन्त्रण लिने प्रयास गरिरहेको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ ले जानकारी दिएको छ । प्रतिकुल मौसम र तिब्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ छ । अहिले सो सडक पूर्ण रुपमा अवरुद्ध छ ।