कारोबारको रकम एकलौटी बनाउन ‘बिजनेस पार्टनर’हरुको हत्या !

कारोबारको रकम एकलौटी बनाउन ‘बिजनेस पार्टनर’हरुको हत्या !


pict: rss

मोरङ र ललितपुरमा भएको हत्याका आरोपी पक्राउ

मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एकजनाको हत्या गर्ने आरोपीलाई प्रहरीले प्रकाउ गरी शुक्रबार मोरङमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको धनपालथान गाउँपालिका-७ उखुबारीमा सुनसरी धरान-३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ-४ का ३२ वर्षीय शम्भुकुमार चौधरी शव गाडेको र गोदावरी-१२ ठेचो चरङ्गखेलस्थित गोदाम घरमा ६३ वर्षीय, तेह्रथुम सङ्क्रान्ति-२ घर भइ हाल काठमाडौं-३ गोठाटार बस्ने मोहन लिम्बूको हत्या गरी गाडेको आरोपमा ती तीन जनालाई पक्राउ गरी यहाँ सार्वजनिक गरिएको छ ।

यसरी पक्राउ पर्नेहरूमा मुख्य आरोपी सिरहा नगरपालिका-२१ घर भइ हाल काठमाडौं बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङ धनपालथान गाउँपालिका-७ का कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका-४ सिसवनी बस्ने २९ वर्षीय अमित साह भन्ने दीनानाथ सोनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिएका छन् ।

चौधरी र श्रेष्ठको लास गाडेको अवस्थामा धनपालथान गाउँपालिका-६ दिलीप सिंहरीको उखुबारीमा शङ्कास्पद माघ १२ गते फेला परेको र लिम्बूको लास ललितपुर गोदावारी-१२ ठेँचोमा गाडेको अवस्थामा माघ २० गते फेला परेको थियो ।

हत्याका आरोपितहरूले लिम्बूलाई मङ्सिर २८ गते, श्रेष्ठलाई पुस ५ र चौधरीलाई पुस ७ गते डोरी र मफलरको प्रयोग गरी हत्या गरी लास छिटो गलोस् भन्नका लागि नून प्रयोग गरेका थिए । हत्याका आरोपी मण्डलले आर्थिक कारोबारको विवादले हत्या गरेको र अन्य दुई जनालाई हत्या गर्न रकम प्रदान गरी सहयोग लिएको प्रहरीले जनाएको छ ।

निजहरूले तीनवटा लासलाई गाड्नका लागि एकै प्रकृतिको खाल्डो खन्ने र पुर्नका लागि खन्ती र कोदालोको प्रयोग गरेको उपरीक्षक जिसीले जानकारी दिए। आरोपीहरूले श्रेष्ठ र चौधरीलाई गाडेको स्थानबाट १०० मिटर उत्तर कमलपुर जाने नहरमा हत्या गरेका प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रगोग गरिएको ६ पोका नून र एक थान कोदालो बरामद गरेको छ ।

प्रहरी गहन अनुसन्धान र मोबाइलमा भएको कुराकानीका आधारमा आरोपीहरूलाई पक्राउ गर्न सफल भएको हो । आरोपीमध्ये मण्डललाई यही माघ २० गते काठमाडौं बल्खुबाट, आलम र सोनारलाई माघ २० गते विराटनगर-१७ मटेरुवा र विराटनगर-५ दामाबन्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

हत्याका आरोपी मण्डल व्यावसायिक कामको सिलसिलामा मृतक श्रेष्ठ र चौधरीसँग मङ्सिर २९ गते विराटनगर आएका थिए । हत्या हुनुमा प्रमुख कारणमध्ये कारोबारको रकम एकलौटी बनाउने उद्देश्य भएको र यस कार्यमा थप अन्य सहयोगी हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।