राजा, नेता र पद

राजा, नेता र पद


  • खगेन्द्र गिरी ‘कोपिला’

आन्दोलन र क्रान्ति गरेर सत्तामा आएका पार्टी र नेताहरू संसारभरि पदलोलुपता, भ्रष्टाचार र अप्रजातान्त्रिक बोली-व्यवहारका लागि बदनाम छन् । यस्ता नेताहरू प्रायः सत्ता, शक्ति र कुर्सी छोड्न चाहन्नन् । जसले बढी क्रान्ति र परिवर्तनको कुरा गर्छ उसैमा उदारता हुन्न । अरुसँग सहमति र मेलमिलाप गरेर प्रतिष्पर्धीसँग मिलेर काम गर्ने स्वभाव प्रजातन्त्रवादी भनिने नेताहरूमै हुन्न ।

नेता र पार्टीहरूले राजाहरूलाई निरंकुश, सामन्तवादी र अप्रजातान्त्रिक भने पनि नेताभन्दा राजामा नै त्याग, उदारता र मेलमिलापको भावना बढी भेटिन्छ । हाम्रोजस्तो देश मात्र होइन, विकसित भनिने देशका पार्टी र नेताहरू पनि पद र शक्तिबाट विमुख हुने स्थिति आयो भने उग्र र अराजक भइहाल्छन् ।

अमेरिकाजस्तो देशमा त वाइडेनका पक्षधरहरूले संसद् भवनमा तोड्फोड गरेको र ट्रम्पले पद छोड्दा देखाएको अभद्रता त्यही प्रवृत्तिको द्योतक हो ।

नेताहरू परिस्थितिले बाध्य नपार्दासम्म आफ्नो शक्ति र पद हाँसीहाँसी अरुलाई सुम्पिन तयार हुन्नन् । शक्ति र सफलताको शिखरमा उभिएको बेला कुनै पनि नेताले हाँसीहाँसी अरुलाई आफ्नो पद हस्तान्तरण गरेका उदाहरणहरू संसारमा कतै पनि भेटिन्नन् ।

हुन त राजाको पद वंशानुगत हो । नमरुञ्जेलसम्म राजसिंहासनमा बस्ने उनीहरूलाई अधिकार दिइएको हुन्छ तर संसारका कैयौँ राजाहरूले नै जीवनभर राजा हुने सुविधा हुँदाहुँदै पनि हाँसीहाँसी राजसिंहासन त्यागेका अनेकौँ उदाहरणहरू भेटिन्छन् ।

विगत चार दशकमा विश्वमा राजसिंहासन त्याग्ने केही राजा/रानीहरू निम्नानुसार छन्-

१) स्पेनमा गणतन्त्र आएको ४० वर्षपछि हुवाँ कार्लोस भिक्टर मारियाडे बोर्बन बाई बोर्बनलाई सन् १९७५ मा सिंहासनमा राखेर राजतन्त्र पुनस्थापित गरिएको थियो । उनै राजा हुवाँ कार्लोसले सन् २०१४ मा राजसिंहासन त्याग गरेका थिए ।

२) बेल्जियमका राजा अलवर्ट द्वित्तीयले सन् २०१३ मा राजसिंहासन त्यागेका थिए ।

३) जापानका सम्राट अकिहितोले सन् २०१९ मा सम्राटको पद त्यागेका थिए ।

४) नेदरल्याण्डकी महारानी जुलियानाले सन् १९८० मा राजसिंहासन त्यागेपछि उनकी छोरी बियाट्रिक्सलाई राजसिंहासनमा राखिएको थियो । उनै रानी बियाट्रिक्सले पनि सन् २०१३ मा राजसिंहासन त्याग गरेकी थिइन् ।

५) कम्बोडियाका राजा नरोत्तम सिंहनुकले सन् १९५५ मा ३३ वर्षकै उमेरमा राजसिंहासन त्यागेर पार्टी खोली संसदीय राजनीतिमा लागेका थिए । परिस्थितिले उनैलाई सन् १९९३ मा पुनः कम्बोडियाको राजा बन्नु परेको थियो । बाँचुञ्जेल राजा बन्ने अवस्था हुँदाहुँदै नरोत्तम सिंहानुकले सन् २००६ मा राजाको पद त्यागेका थिए ।

६) भुटानका राजा जिग्मे सिंघे वाङ्चुक आफ्नो देशका अल्पसङ्ख्यक नागरिकहरूलाई देश निकाला गर्ने शासकको रूपमा बदनाम छन् । तर उनले पनि सन् २००६ मा ५१ वर्षको उमेरमा राजसिंहासन त्याग गरेर नेताले गर्न नसक्ने उदारता र त्यागको प्रदर्शन गरेका थिए ।

७) लक्सेम्वर्गका ग्र्याण्ड ड्युक जीनले सन् २००० मा राजसिंहासन त्याग गरेका थिए ।

८) २७ वर्षको उमेरमा समोवाको राजा बनेका मालितोय तानुमाफिलीले बेलायती उपनिवेशबाट आफ्नो देशलाई स्वतन्त्रता दिलाउने बेलामा स्वयमले समोवालाई गणतन्त्र बनाउने इच्छा व्यक्त गरेका थिए । उनको योगदानको कदर गर्दै समोवाको संसद्ले सन् १९६२ मा उनलाई उनी बाँचुन्जेलसम्मको लागि समोवाको आजीवन राज्य प्रमुख बनाएको थियो । मालितोए तानुमाफिलीको सन् २००७ मा ९४ वर्षको उमेरमा निधन भएपछि मात्रै समोवालाई गणतन्त्र घोषणा गरियो ।

९) नेपालमा २०६२/६३ को जनआन्दोलन आलङ्कारिक राजतन्त्र राख्ने सहमतिमा टुङ्गिएको थियो । तर दलहरूले आफूसँग शक्ति भएको बेला त्यो सहमति उलङ्घन गरि सन् २००७ मा देशलाई गणतन्त्र घोषित गरे ।

राजा ज्ञानेन्द्रले जनताका प्रतिनिधिको निर्णय स्विकार्दै कुनै प्रकारको प्रतिकार नगरी हाँसीहाँसी राजमुकुट हस्तान्तरण गरेर राजदरबार त्यागिदिए । नेपालका राजा ज्ञानेन्द्रको यस शालीनता, उदारता र संयमको पनि धेरैले प्रशंसा गरेका छन् ।

वास्तवमा राजा भनेको नेताजस्तो बार्गेनिङ, तिकडम, दाउपेच र अवसर छोप्नमा लाग्ने पद होइन । राजा भनेको संस्कार, शिष्टता र अनुशासनको प्रतीक हो । राजाजत्तिको उच्च स्तरको प्रजातान्त्रिक र उदार चरित्र नेताहरूमा हुँदैन । त्यसैले अझ पनि विश्वको सबैभन्दा राम्रो राज्य व्यवस्थाको उदाहरण दिनुपऱ्यो भने मान्छेहरू रामराज्यकै उदाहरण दिने गर्दछन् । विश्वका सबैभन्दा शिक्षित र अनुशासित मानिने जापान, न्युजिल्याण्ड, आस्ट्रेलिया, क्यानेडा, डेनमार्क, नेदरल्याण्ड, नर्वे र स्वीडेन जस्ता देशले अझै पनि राजसंस्थालाई जोगाएर राख्नुको धेरै ठूलो अर्थ छ ।

‘प्रजातन्त्र (democracy) लाई जोगाउन र चलाउनको लागि पनि राजतन्त्र (monarchy) चाहिन्छ’- कम्बोडियाका कम्युनिस्ट प्रधानमन्त्री हुन सेनले भनेको कुरोलाई संसारका अनेक देशका इतिहासले पुष्टि गरेका छन् । अस्तु ।