दिलको ‘ऐलानी घाम’ तापेर हेर्दा…

दिलको ‘ऐलानी घाम’ तापेर हेर्दा…


०४६ सालमा फुटकर कविताका माध्यमबाट औपचारिक तवरले सृजनायात्रा आरम्भ गरेका दिल पौडेल नेपाली साहित्यमा अब एक स्थापित एवम् सुपरिचित नाम हो । पछिल्लो चरणमा खासगरी ‘हाइकु’ सिर्जनामा विशेष रुचि र दख्खल दर्शाएका स्रष्टा दिल पौडेलको ‘ऐलानी घाम’ नामक हाइकु सङ्ग्रह हालै प्रकाशमा आएको छ । हालसम्म कविता, उपन्यास आदि गरेर सात वटा पुस्तक-कृति प्रकाशन गरिसकेका पौडेलले घर-परिवार, सरकारी सेवाका साथै सामाजिक कार्य सबैतिर समय दिएर पनि साहित्यिक कर्ममा जुन सक्रियता र निरन्तरता दर्शाइरहेका छन्, जो-कसैबाट यसखालको कर्म सम्पादन हुन सक्दैन । यस दृष्टिका आधारमा भन्नुपर्दा दिल पौडेल आफैमा एक सह्राहनीय साहित्यिक व्यक्तित्व हुन् भन्दा अत्युक्ति नहोला ।

अब केन्द्रित बनौँ हाइकुसङ्ग्रहित कृति ‘ऐलानी घाम’को बारेमा । नेपाली साहित्यका गम्भीर पाठकमध्ये अधिकांशले पक्कै बुझेका होलान् कि हाइकु भनेको पाँच, सात र पाँच अक्षरको संरचना अर्थात् पहिलो पङ्क्तिमा पाँच अक्षर, दोस्रो पङ्क्तिमा सात अक्षर र तेस्रो पङ्क्तिमा फेरि पाँच अक्षरयुक्त कवितात्मक अनुच्छेदलाई जापानी साहित्यमा हाइकु भनिन्छ । हाइकु जापानबाट उद्भव भइ विश्व-साहित्यमा फैलिएको विधा हो । विज्ञान-प्रविधिको चरम विकासले निम्त्याएको दैनन्दिन अस्वस्थ प्रतिष्पर्धाको दौडमा अत्यन्त ब्यस्त र यन्त्रमय जिन्दगी जिउन विवश आजको मानवजातिलाई लामा-लामा महाकाव्य, उपन्यास आदि रचना पढ्ने या रच्ने समय छैन । यस्तो परिवेशमा ‘हाइकु’ जस्ता लघु आकारका रचनाको लोकप्रियता बढ्न पुगेको छ । यसर्थमा सर्जक दिल पौडेलको ‘हाइकु’प्रतिको लगाव र उनबाट सृजित सयौँ हाइकुहरूको सङ्ग्रहित रूप ‘ऐलानी घाम’को महत्व स्वतः प्रष्टिन आउँछ ।

कसरी जन्मियो त ‘ऐलानी घाम’ ? कवि दिल पौडेलकै शब्दमा भन्नुपर्दा देशमा रोग-भोकको आगो छ । कोरोनाको कहर छ । कहालीलाग्दो वर्तमान छ तर राजनीतिक नेतृत्व सत्ताको कुर्सी तान्नमा ब्यस्त देखिन्छ । यसरी दलको घरझगडाले देश र जनता अप्ठेरोमा परेका छन् । नेताका साँढेजुधाइले देशको वर्षौंवर्ष अवधि सत्यानास भएको छ । मठाधीशहरूले कोरोना-समस्यामाथि गम्भीर विमर्श गरेका छैनन् । जनता सङ्कटमा छन् । महामारीको सङ्कटमा कमिसनखोर र भ्रष्टाचारीलाई सुनौलो मौका छ । शक्तिको उन्मादमा शासकहरू मानवीय संवेदना र उत्तरदायित्व गुमाउँछन् । हो, यस्तैबेला लेखकको हृदय संवेदित हुन्छ र जन्मिन्छ- ऐलानी घाम !

कोरोना कहरको निषेधाज्ञाको समय सदुपयोग गरेर दिल पौडेलले दुई हजार अठहत्तर ओटा हाइकु र सेन्यू (ब्यङ्ग्यप्रधान हाइकु) को रचना जो गर्न भ्याए, अन्ततः त्यसैको समष्टि रूप हो ऐलानी घाम ! द्रब्य-लालसालाई प्रगति नठान्ने कवि पौडेलले वर्तमान समयका जनताको ब्यथाको आवाज र प्राकृतिक आनन्दलाई आफ्ना रचनामार्फत् जीवन्त प्रस्तुति दिन सफल भएका छन् । प्रकृतिका सौन्दर्य र मादकताको साक्षी बनेका उनका अब्बल सिर्जनायुक्त ‘ऐलानी घाम’ले जीवनमा सत्यम् शिवम् सुन्दरम्को अपेक्षा राख्ने हरेकलाई पौष्टिक खुराक प्रदान गर्नेमा ढुक्क हुन सकिन्छ । आकर्षक पुस्तकावरणका साथ एक सय अठहत्तर पृष्ठमा फैलिएर सुन्दर एवम् स्तरीय कृतिको रूपमा साहित्यप्रेमी पाठकमाझ आएको ऐलानी घामको मूल्य रू. ३५१/- निर्धारण गरिनु अत्यन्त स्वभाविक छ । समष्टिमा भन्नुपर्दा सर्जक दिल पौडेल ‘ऐलानी घाम’का लागि विशेष बधाईका पात्र बनेका छन् ।