‘मैले गरेका काम बोलिदिए पुग्छ’

‘मैले गरेका काम बोलिदिए पुग्छ’


  • गौरी जोशी, एनएआरएन अभियन्ता
मेरो प्राथमिकताको विषय भनेको सङ्घलाई सबैले मान्ने साझा संस्थाको रूपमा विकास गर्ने नै हो । गैरआवासीय नेपाली सङ्घले अघिसारेका मुद्दाहरूमा काम गर्ने र यसै सङ्घको माध्यमबाट मातृभूमिको पक्षमा सकेको योगदान दिने भन्ने नै हो ।

गौरी जोशी डायस्पोराको लागि अब नयाँ अनुहार रहेनन् । गैरआवासीय नेपाली अभियानमा गौरी संसारभरका नेपालीले लिने नाम बनिसकेको देखिन्छ । पच्चीसवर्षे डायस्पोराको बसाइ र सत्रवर्षे गैरआवासीय नेपाली सङ्घको यात्रामा जोशीले अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक हुँदै आइसीसी सचिवको भूमिकामा निकै प्रशंसनीय रूपमा कार्यसम्पादन गरेर आफ्नो एक विशेष स्थान बनाएको चर्चा डायस्पोरामा सुनिन्छ । विशेषगरी सङ्घको डिजिटलाइजेसनमा पन्त-कार्यकालका दौरान प्रशंसायोग्य भूमिका निर्वाह गरेका जोशी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय देखिन्छन् ।

पछिल्लो समय गैरआवासीय नेपाली सङ्घकै माध्यमबाट नेपालमा रगत सङ्कलनका लागि बनाइएको विशेष घुम्ती बसका लागि आफ्नो ठाउँबाट लागिपरेका जोशीले आजसम्म रगत सङ्कलन गर्ने विशेष प्रकारका दुई वटा मोबाइल बस नेपालको स्थानीय निकायलाई हस्तान्तरण गरिसकेका छन् । थोरै बोल्ने तर बोलेका विषयलाई गरेर छाड्ने स्वभावका जोशी संयुक्त राज्य अमेरिकाको टेक्सास प्रान्तमा आफ्नो आईटी मुख्यालय स्थापना गरेर आफ्नो कर्ममा आबद्ध रहेका छन् ।

प्रस्तुत छ, गैरआवासीय नेपाली सङ्घको आगामी कार्यकालका लागि महासचिवका बलिया दाबेदार मानिएका र, वर्तमान सङ्घका सचिव जोशीसँग अष्ट्रियास्थित घटना र विचार प्रतिनिधि प्रतीक्षा सुवेदी (खड्गी)सँग सङ्घ, समाजसेवा र जोशीको आगामी योजनाका बारेमा गरिएको सम्वादको सम्पादित अंश ।

० तपाईं आफूलाई आममानिसले समाजसेवी व्यक्तित्वका रूपमा या गैरआवासीय नेपाली सङ्घको नेताका रूपमा चिनुन् भन्ने चाहनुहुन्छ ?
– मलाई गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरूले जसरी बुझ्नुभएको छ त्यसैगरी बुझुन् भन्ने लाग्छ । आफूलाई विशेष व्यक्तिको रूपमा भन्दा पनि आफ्नो कर्मका साथै सामाजिक रूपमा यथासक्य भूमिका निर्वाह गरिरहेको व्यक्तिका रूपमा बुझिदिए पुगिहाल्छ ।

० तपाईंले आफ्नो पेशा ब्यवसायसँगै समाजसेवालाई पनि प्राथमिकता दिँदै आएको देखिन्छ, यो इच्छाशक्तिको कारण के होला ?
– हेर्नुहोस्, आजभन्दा २५ वर्षअगाडि एक नेपाली विद्यार्थीका रूपमा अमेरिका आउँदा मैले जस्ता अप्ठ्यारा परिस्थितिको सामना गर्नुपऱ्यो, त्यस्ता परिस्थितिजन्य दूराअवस्था आज आउने कुनै नेपाली दाजुभाइ-दिदीबहिनीले ब्यहोर्नु नपरोस् भन्ने मेरो ध्येय छ । आज मैले भोगेको २५ वर्षअगाडिको अवस्था त छैन र, नवप्रवेशीहरूले पनि त्यस्तो अनुभव सँगाल्नु पर्दैन । तर, सदैव मैले आफूलाई त्यहि कठिन समयको गौरी जोशीकै रूपमा उभ्याइरहेको हुन्छु । उक्त समय महसूस गर्ने विषय हो र हर नवप्रवेशीले ब्यहोर्छ भन्ने सोचेर म सदैव सचेत रहन्छु । त्यसैको प्रतिफल आज म यो अवस्थामा भएको पाउँछु ।

० तपाईंले अमेरिकासँगै नेपालको सामाजिक क्षेत्रमा उत्तिकै समय दिइरहनुभएको पाइन्छ, त्यसको पछिल्लो उदाहरण मोबाइल रक्त सङ्कलन विशेष बसलाई वितरणको प्राथमिकतामा राख्नुभएको देखिन्छ । खास कसरी यस विषयमा काम गर्ने अवधारणा बनाउनुभयो, केही बताइदिनुहोस् न !
– समाजलाई आफूले आर्जन गरेको केही हिस्सा दिनुपर्छ भन्ने सोच मभित्र अमेरिकामा खुट्टा टेकेको अवस्थादेखि नै उब्जिएको हो । तर यो रक्तसञ्चारका उपकरण भएको घुम्ती बसको बारेमा भन्नुपर्दा यस योजनालाई सन् २०१५ देखि नै मेरा केही मित्रले सम्भाब्यताका विषयमा छलफल गरिरहनुभएको रहेछ, यसको अवधारणा तयार गर्नेहरूमध्येमा नेदरल्याण्डमा बसोबास गर्ने मित्र फणिन्द्र पन्तमार्फत मसम्म यो योजना आइपुग्यो । पन्तजी त्यहाँ यसैसम्बन्धी विधामा जानकारका रूपमा चिनिनुहुँदोरहेछ, त्यसैले पनि टेक्निकल पाटो उहाँले सहयोग गर्दा हामीलाई सहयोग भयो, अझ खुलस्त गर्दा यस योजनाको चेयर म भएपनि यसमा सहयोग गर्नुहुने सम्पूर्ण डायस्पोराका व्यक्तित्वहरूका कारण यो योजनाले मुर्तरूप लिएको मेरो मान्यता छ । तपाईंको मेडियामार्फत नाम लिँदा धेरै लामो हुन सक्ला, तर म यस योजनामा सहयोग गर्ने समस्त मित्रहरूप्रति आभारी छु, साथै उहाँहरू म भन्दा बढी धन्यवादका पात्र हुनुहुन्छ ।

० मोबाइल रक्त सङ्कलनसम्बन्धी भावी योजना के छन् र, मोबाइल रक्त सङ्कलन गर्ने बसहरू नै प्राथमिकतामा किन ?
– हामी नेपाल सरकारका निकायसँगको आपसी सहकार्यमा यो योजनालाई नेपालका अरु स्थानीय निकायहरूमा पनि क्रमबद्ध रूपमा सहयोग उपलब्ध गराउने योजनाहरू बनाइरहेका छौँ । किन यस्ता बसहरूमा सहयोग गरियो त भनी प्रष्ट्याउनु पर्दा नेपालमा साना दुर्घटना हुँदा समयमा उपचार र त्यसैमा रगत उपलब्ध नहुँदा नागरिकहरूको ज्यान गइरहेको तथ्याङ्कहरूले देखाइरहेको अवस्थामा, हामीले यस्ता योजना अघि सार्दा मातृभूमिका पक्षमा सानो नै भए पनि योगदान पुग्ने र हाम्रो सानो कर्मका कारण कसैको ज्यान बच्ने भन्ने नै हो । यसमा धेरै भनिरहनुपर्ने कुरा खासै छैन ।

० नेपालको पार्टीगत राजनीतिले थिल्थिलो पारिदिएको सङ्घमा महासचिव पदको आकाङ्क्षी हुनुहुन्छ, सङ्घको कस्तो भविष्य देखिरहनुभएको छ ?
– हेर्नुहोस, हामीले सधैं एकै दृष्टिकोण बनाएर हर विषयलाई हेरिरहनुपर्छ भन्ने मलाई लाग्दैन । अहिलेको पुस्ता नेपालको राजनीतिमा आफ्नो ठाउँ बनाउँदै यहाँसम्म आएको अवस्था हो । तसर्थ यसलाई चटक्क छोडेर विदेशी चालचलनलाई पूर्णरूपले अपनाउने कुरा त्यति सहज हुँदैन, राजनीतिक व्यक्तित्व हुँदा नराम्रो नै हुने भन्ने होइन, राम्रो पनि हुन्छ भन्नेतर्फ हामीले विचार गर्नुपर्ने हुन्छ । र, मलाई आशा छ- आगामी पुस्ताले यसलाई फरक बाटोबाट अगाडि बढाउने छ । आज हामी यहाँसम्म आइपुग्यौँ, हामीभन्दा पछाडि आउने पुस्ताले आफ्नो काम गर्ने तरिका बदल्ने छ । त्यो अवस्थामा अहिलेका ब्यवधानहरू रहने छैनन् भन्नेमा म ढुक्क छु । यो अर्थमा भन्दा सङ्घको भविष्य उज्ज्वल भन्न हिच्किचाइरहनु पर्दैन ।

० तपाईंले आफ्नो पछिल्लो एक लेखमार्फत अमेरिकाको मेनह्यटन शहरको कुनै अग्लो घरको कोठामा रहेर औंला चलाउँदा नेपालले लिन सक्ने लाभ या यस्तै विषयमा एक प्रस्तुति दिनुभएको थियो । त्यसलाई अलिक प्रष्ट पारिदिनुहोस् न !
– मैले भनिरहनु पर्दैन कि आजको युग प्रविधिको युग हो । हाम्रै आँखाअघिल्तिर हामीले कल्पना नगरेका प्राविधिक परिवर्तन भए, त्यसै क्षेत्रमा मैले आज काम पनि गरिरहेको छु । आज विश्वमा जसले धेरै प्राविधिक फड्को मा¥यो त्यही नै प्रथम बन्ने अवस्था सृजना भएको हामीले देखिरहेका छौँ । अमेरिका मात्र नभएर हामी नेपालीले विश्वको जुनसुकै मुलुकमा रहेर जे सिकेका छौँ, त्यसलाई नेपालमा भित्र्याउन मात्र सक्यौँ भने देशले एक फड्को स्वतः मार्न सक्नेतर्फ मेरो सङ्केत हो । गैरआवासीय नेपालीको सिप मातृभूमिको लागि भन्ने नारा हामीले तय गरेका हौँ नि ! हो… त्यसैलाई परिभाषित गर्न मैले उक्त लेखमा त्यो उक्ति उद्धृत गरेको हुँ ।

० तपाईं तथा तपाईंको व्यक्तित्वका बारेमा बोल्दा ‘जोशी थोरै बोल्ने र सिधा स्वभावको व्यक्ति’ भनेको पाउँछौ, तपाईं आफूलाई एनआरएनए महासचिवको रूपमा प्रस्तुत गर्दैगर्दा यो व्यक्तित्वले कस्तो असर गर्छ भन्ने लाग्छ ?
– हेर्नुहोस्, मित्रहरूले मलाई कसरी विश्लेषण गर्नुहुन्छ त्यो उहाँहरूको विषय भयो । भद्रता हुनु नराम्रो पनि नहोला । तर मैले आफ्नोबारे भन्नुपर्दा अनावश्यक प्लान गर्दिनँ, गर्नैपर्दा सम्पूर्ण अवस्था हेरेर गर्छु र, पछाडि हट्दिनँ, आफ्नो जिम्मेवारी के हो भन्नेमा सदैव सचेत हुने गर्दछु, र सोहीअनुरूप कार्यसम्पादन गर्ने गर्दछु । सबै विषय गर्नलाई बोलिरहनुपर्छ भन्ने त हुँदैन नि । मैले गरेका कामले मलाई बोलिदिए भएन र ? व्यक्तित्व नरम, कार्यसम्पादनमा कठोर बन्दा समग्र सङ्घको हितमा हुन सक्ने मेरो व्यक्तिगत बुझाइ छ । तसर्थ, मेरो व्यक्तित्वले मलाई सङ्घको महासचिवको जिम्मेवारीमा उभ्याउँदा गैरआवासीय नेपाली सङ्घ र यो सङ्घमा आवद्ध हर नेपाली दाजुभाइ-दिदीबहिनीप्रति न्याय गर्नेछु भन्नेमा म प्रस्ट छु ।

० तपाईंका भावी कार्ययोजना… ?
– महासचिवका रूपमा सङ्घमा रहेर के गर्ने भन्ने बारेमा तपाईंले जिज्ञासा राख्नुभएको हो भने मैले मेरा अवधारणाहरू सार्वजनिक गरिसकेको छु, त्यसमाथि पनि मेरो प्राथमिकताको विषय भनेको सङ्घलाई सबैले मान्ने साझा संस्थाको रूपमा विकास गर्ने नै हो । गैरआवासीय नेपाली सङ्घले अघिसारेका मुद्दाहरूमा काम गर्ने र यसै सङ्घको माध्यमबाट मातृभूमिको पक्षमा सकेको योगदान दिने भन्ने नै हो ।

० ‘घटना र विचार’मार्फत नेपालमा बसोबास गरिरहेका नेपालीहरू साथै डायस्पोरामा बसोबास गरेका गैरआवासीय नेपालीजनलाई थप केही भन्न चाहनुहुन्छ ?
– सर्वप्रथम मलाई यति बोल्ने मौका दिनुभएकोमा धन्यवाद भन्न चाहन्छु । हामीले सपना देखिरहने बानीको विकास गर्नुपर्छ र, सपना साकार बनाउन सही दिशामा आफूलाई उन्मुख गराउनुपर्ने हुन्छ । सफलता र असफलताको मापन त यो मानव जुनीमा सम्भव हुँदैन जस्तो लाग्छ । त्यसैले हामी जहाँ छौ त्यहीँ उभिएर आफ्नो कर्म गरौँ । मातृभूमिको लागि आफूले सकेको सहयोग गरौँ ।