कोरोनाको तेस्रो लहर : नेताहरू धमाधम आइसोलेसनमा

कोरोनाको तेस्रो लहर : नेताहरू धमाधम आइसोलेसनमा


नेपालमा पनि कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा कोरोना महामारीको तेस्रो लहर सुरु भएको हो ।

आमनागरिक संक्रमित हुने क्रममा वृद्धि भएसँगै यसपटक राजनीतिक दलका नेताहरु पनि संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेलसहित दर्जनौँ माओवादी केन्द्रका शीर्ष नेताहरू संक्रमित भएका छन् । माओवादी केन्द्रीय कार्यालयमा कार्यरत अधिकांशलाई कोरोना संक्रमण भएको छ ।

माओवादीको आठौँ महाधिवेशनमा र त्यसपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका अधिकांश नेताहरूलाई कोरोना संक्रमण भएको छ ।

यस्तै, सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, डिना उपाध्याय, उमा रेग्मी, इन्द्र बानियाँसहित कांग्रेसका शीर्ष नेताहरू संक्रमित भएका छन् ।

उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित एमालेका शीर्ष नेताहरू संक्रमित हुँदा नेकपा (एकीकृत समावादी) अध्यक्ष माधवकुमार नेपाल, रामकुमार भट्टराई, कल्याणी खड्कासहितका शीर्ष नेतालाई कोरोना संक्रमण भएको छ ।

कोरोनासंक्रमित नेताहरू आइसोलेसनमा छन् । तर, संक्रमित पुष्टि हुनुअघि भेट भएका र एउटै बैठकमा बसेका केही नेताहरूलाई भने कोरोना संक्रमण भएन ।

प्रचण्ड, माधवकुमार सहभागी सर्वदलीय बैठकमा उपस्थित प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता जोगिएका छन् ।

जनस्वास्थ्यको मापदण्ड पालना गरी भिडभाड गरेर आयोजना गरिएको कार्यक्रममा सहभागी भएका नेतादेखि पत्रकारसम्म अहिले कोरोना संक्रमणको चपेटामा परेका छन् ।