काङ्ग्रेसमा ‘नवराजकुमार’हरूको उदय र विरासतको राजनीति

काङ्ग्रेसमा ‘नवराजकुमार’हरूको उदय र विरासतको राजनीति


लोकतन्त्रको वकालत गर्दा नथाक्ने शीर्षनेता रामचन्द्र पौडेलले चौधौँ महाधिवेशनमा नेतृत्व छनौट प्रक्रियामा आफू अलग भएको नाटक रचेर महाधिवेशन बहिस्कार गरेर लोकतन्त्रकै उपहास गरे । त्यही महाधिवेशनबाट सभापति पदमा निर्वाचित शेरबहादुर देउवाले महाधिवेशन बहिष्कार गरेका अनि वरिष्ठ नेताको मात्र नभएर नेपाली काङ्ग्रेसको नेताकै हैसियत गुमाइसकेका पौडेललाई निगाहा बक्स गर्दै केन्द्रीय सदस्यमा मनोनित गर्नु अनि पौडेलले केन्द्रीय सदस्यको ताजपोशी गर्नु लोकतन्त्रको कुन परिभाषाभित्र पर्दछ ? उत्तर खोजेका छन् नेपाली काङ्ग्रेसका आम कार्यकर्ताले देउवा र पौडेलबाट ।
  • ई. महेन्द्र पराजुली

संवैधानिक सीमा २३ भदौ २०७८ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकतामाथि नै प्रश्न उठ्ने भएपछि बाध्य भएर भदौ १८ बाट वडा अधिवेशन सुरु गरी मङ्सिर २४-२७ मा आफ्नो चौधौँ महाधिवेशन सम्पन्न गरी साख जोगायो नेपाली काङ्ग्रेसले । प्रजातन्त्रवादीले पञ्चायतलाई उपयोग गरेर व्यवस्थालाई नै कमजोर नबनाउन् भनेर त्यसको नियन्त्रणमा जसरी फलामे-गेटको रूपमा ‘गाउँफर्क’को प्रयोग गरिन्थ्यो, ठ्याक्कै त्यही रवैया अपनायो काङ्ग्रेसको संस्थापन पक्षले चौधौँ महाधिवेशनमा, केही जिल्लामा आफ्ना प्रतिद्वन्द्वी र विरोधी खेमालाई तह लगाउन वडा स्तरबाटै निषेधको राजनीति गरेर। घेराबन्दी नै गऱ्यो क्रियाशील सदस्यता नयाँ वितरण र नवीकरणको कार्ड प्रयोग गरेर । क्रियाशील सदस्यता वितरण र नवीकरणमा भएको पक्षपात अनि धाँधलीको छानबिनको माग गर्दै प्रदेश २ र डडेलधुराका नेता कार्यकर्ताले केन्द्रीय कार्यालय सानेपामा लामो समयसम्म धर्ना र अनसनमा बस्दासमेत त्यसको सुनुवाई नै गरेन संस्थापन पक्षले ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट २०७० मा संविधानसभा सदस्यमा निर्वाचित त्यस क्षेत्रकै लोकप्रिय नेता पुष्करनाथ ओझाको क्रियाशील सदस्यता नवीकरण नगरेर सदस्यको सूचिबाटै हटाइयो । २०७४ को सङ्घीय संसद्को निर्वाचनमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवा (राणा) लाई हराउन भूमिका खेलेको आरोपमा देउवाले ओझालाई कारवाहीको डण्डा चलाएका थिए । निर्वाचनमा विद्रोह र अन्तर्घात गर्नेहरूको कारवाही फुकुवा हुँदासमेत देउवाको निर्देशनमा ओझाको सदस्यता नवीकरण गरिएन । करिव ४५ वर्षदेखि काङ्ग्रेसको राजनीतिमा सक्रिय धनुषाका युवराज खातीको पनि क्रियाशील सदस्यता नवीकरण भएन । ने.वि. सङ्घबाट विद्यार्थी राजनीति सुरु गरेका खाती २०३६ सालमा जनकपुरस्थित रारा बहुमुखी क्याम्पसको सभापति र २०३९ सालमा त्रि.वि.वि., स्व.वि.यु. उपसभापति हुँदै २०४१ सालमा सभापति भएका चर्चित युवा नेता हुन् । ओझा र खाती त प्रतिनिधि पात्र मात्र हुन् ।

चौधौँ महाधिवेशनमा युवाको प्रतिनिधित्व उल्लेखनीय रह्यो । पार्टीमा १६-४० वर्ष उमेर समूहका क्रियाशील सदस्यहरूको संख्या ३३ प्रतिशत रहेको छ । यो संख्याले महाधिवेशनलाई प्रभावित गर्ने पहिले नै आँकलन गरिएको थियो । नभन्दै त्यस्तै प्रभाव देखियो महाधिवेशनमा । पार्टीका सबै तहमा युवाहरूको सशक्त उपस्थितिले भविष्यमा युवाहरूको दबाब र प्रभाव दुबै बढ्ने सन्देश दिएको छ । रोचक पक्ष त के छ भने विद्यार्थी राजनीति गर्दै गरेका युवाले काङ्ग्रेसका स्थापित नेतालाई पराजित गरेर आफ्नो जित दर्ज गराए ।

सिन्धुपाल्चोक मेलम्चीकी १९ वर्षीया करिना पुरी, कपिलवस्तु कृष्णनगरकी १९ वर्षीया सूचना मिश्र, धनकुटाकी २१ वर्षीया करुणा कटुवाल र खोटाङका २२ वर्षीय राजेश परियार महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । दाङको जिल्ला सचिवमा युवा नेतृ बालिका लम्साल र गोरखाको सदस्यमा २१ वर्षीया जेनिशा गुरुङ निर्वाचित भइन् । गोरखाकी २० वर्षीया शोभा बस्ताकोटी, बागलुङकी १८ वर्षीया उषा सापकोटा र मोरङकी १८ वर्षीया रक्षा यादव प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भए । इलाम क्षेत्र नम्बर १(क) को क्षेत्रीय सभापतिमा मैयाँ लिम्बु र पाल्पाकी बिष्णुकुमारी आचार्य गाउँपालिका सभापतिमा निर्वाचित भइन् । चितवनकी २० वर्षीया लक्ष्मी काफ्ले वडा सचिवमा निर्वाचित हुँदै गर्दा दैलेखकी १९ वर्षीया स्वस्तिका खड्का वार्ड अध्यक्ष बनिन् । सोलुखुम्बुकी २१ वर्षीया पुजा फुयाँल, कास्कीकी १९ वर्षीया दीपिका भण्डारी र उदयपुरकी १९ वर्षीया शान्तिदेवी श्रेष्ठ, रोल्पाकी १९ वर्षीया सरस्वती बिसी र सिन्धुपाल्चोकका २५ वर्षिय कृष्ण बस्नेतले क्षेत्रीय प्रतिनिधिमा बाजी मारे । यिनीहरू त प्रतिनिधि पात्र मात्र हुन् । खादा र माला लगाएर सम्मान थापेका यी युवाहरूको नेतृत्व परीक्षण भइसकेको छैन । नेतृत्व क्षमताको कसीमा अब्बल दरिए भने यिनले युवालाई प्रभावित र आकर्षित गर्दै काङ्ग्रेसको सङ्गठन निर्माण र बिस्तारमा राम्रो भूमिका खेल्न सक्छन् । युवा महिला नेतृले त नेतृत्व क्षमताको प्रदर्शन गर्दै छलाङ नै मारे । राजनीतिमा युवाहरूको भूमिकालाई लिएर चर्चा अनि बहस चलिरहेकै बेला युवाहरूको सुखद आगमनलाई सकारात्मक रूपमा हेरिएको छ ।

अन्य पार्टी परित्याग गरी नेपाली काङ्ग्रेस प्रवेश गरेका नवप्रवेशीले पनि सम्मानजनक स्थान र अवसर दुवै पाए । ने.क.पा. माओवादी (केन्द्र) परित्याग गरी काङ्ग्रेस प्रवेश गरेका धादिङका ठाकुर गुरुङ गाउँपालिका सभापतिमा निर्वाचित भए भने ने.क.पा. माओवादी (केन्द्र) बाट एक वर्षअघि मात्र नेपाली काङ्ग्रेस प्रवेश गरेका भोजपुरका भीम तामाङ नगरपालिका सभापतिमा निर्वाचित भए । अन्य पार्टीका नेता काङ्ग्रेसप्रति आकर्षित हुँदा काङ्ग्रेसका केही नेता भने पार्टीमा पराजयको पीडा सहन नसकेर ठूलै भाग खान अन्य पार्टीमा प्रवेश गरे । क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि नेपाली काङ्ग्रेसबाट २-२ पटक संविधानसभा सदस्यमा अवसर पाएका झापाका अमृतलाल राजवंशी नेपाली काङ्ग्रेस परित्याग गर्दै ने.क.पा. (एमाले) प्रवेश गरे । राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन, त्यस्तै गरेर स्थायी शत्रु र मित्रु पनि कोही हुँदैन । राजनीतिको बाटो सँधै एउटै सिधा रेखामा मात्र हिँड्दैन भन्ने उदाहरण बने गुरुङ र तामाङ भने राजवंशीले अवसरवादी चरित्र देखाए ।

शीर्ष नेताका पुत्र नवराजकुमारहरू महाधिवेशन प्रतिनिधि बन्दै काङ्ग्रेस राजनीतिमा प्रवेश गर्दैगर्दा काङ्ग्रेसकै उपल्लो तहका केही नेता, नेतृ भने महाधिवेशन प्रतिनिधिमै पराजित भए । पूर्वमन्त्रीहरू खड्गबहादुर बस्याल र शिवराम जोशी सुर्खेत, पूर्वमन्त्री लक्ष्मण घिमिरे र ने.वि. सङ्घका पूर्वमहामन्त्री गजेन्द्र कार्की रामेछाप, पूर्वकेन्द्रीय सदस्य किरणराज शर्मा बागलुङ, सांसद डा. अमरेशकुमार सिंह सर्लाही, निवर्तमान सभापतिद्वय दीपेन्द्रबहादुर थापा बागलुङ र हरिप्रसाद बोहरा कन्चनपुर, ने.वि. सङ्घकी महामन्त्री महेश्वरी कुँवर पाल्पा र काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवापुत्र जयवीर देउवा डडेलधुरा, पूर्वउपसभापति विजयकुमार गच्छदारपुत्र सुवास गच्छदार मोरङ, पूर्वमहामन्त्री प्रकाशमान सिंहपुत्र प्रभाशमान सिंह काठमाडौं, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलापुत्र श्याम सिटौला झापा, पूर्वसहमहामन्त्री सुनिलबहादुर थापापुत्र सिद्धार्थ थापा धनकुटा, पूर्ववरिष्ठ नेता रामचन्द्र पौडेलपुत्री संज्ञा पौडेल तनहुँ, पूर्वमन्त्री खुमबहादुर खड्कापुत्र अनुराग खड्का दाङलाई आफ्नो उत्तराधिकारीका रूपमा अगाडि बढाएर नेताले कुलीन घरानाको विरासतको राजनीति गरे । नेपालीमा एउटा उखान छ, ‘बोकेको कुकुरले मृग मार्दैन‘ । जबर्जस्ती राजनीतिमा तानिएका यिनीहरूको भविष्य समयले नै निर्धारण गर्ला ।

लोकतन्त्रमा आफ्नो मत जाहेर अनि मताधिकार प्रयोग गर्न पाउनु स्वतन्त्रताको पहिलो शर्त मानिन्छ । विडम्बना नै भन्नुपर्दछ, लोकतन्त्रको वकालत गर्दा नथाक्ने शीर्षनेता रामचन्द्र पौडेलले चौधौँ महाधिवेशनमा नेतृत्व छनौट प्रक्रियामा आफू अलग भएको नाटक रचेर महाधिवेशन बहिस्कार गरेर लोकतन्त्रकै उपहास गरे । त्यही महाधिवेशनबाट सभापति पदमा निर्वाचित शेरबहादुर देउवाले महाधिवेशन बहिष्कार गरेका अनि वरिष्ठ नेताको मात्र नभएर नेपाली काङ्ग्रेसको नेताकै हैसियत गुमाइसकेका पौडेललाई निगाहा बक्स गर्दै केन्द्रीय सदस्यमा मनोनित गर्नु अनि पौडेलले केन्द्रीय सदस्यको ताजपोशी गर्नु लोकतन्त्रको कुन परिभाषाभित्र पर्दछ ? उत्तर खोजेका छन् नेपाली काङ्ग्रेसका आम कार्यकर्ताले देउवा र पौडेलबाट । पौडेलको राजनैतिक इमान र नैतिकतामाथि प्रश्न उठेको छ । रामचन्द्रसँगै सभापतिको पहिलो चरणको निर्वाचनमा ७.९२ प्रतिशत मत ल्याउने प्रकाशमान सिंह, ५.३४ प्रतिशत मत ल्याउने विमलेन्द्र निधि अनि ०.४७ प्रतिशत शर्मनाक मत प्राप्त गर्ने कल्याण गुरुङ, त्यस्तै गरेर उपसभापतिमा पराजितद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला एवम् महामन्त्रीमा हार व्यहोरेका डा. प्रकाशशरण महत र प्रदीप पौडेल अनि सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्य पदको बक्सिस दिएर डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इत्तर समूहलाई चुनौती मात्र नदिएर ४१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मतको अपमान गर्दै कृष्णप्रसाद सिटौलालाई समेत पुरस्कृत गरेर संस्थापन इतरपक्षलाई चिढाउँदै दूरी पनि बढाए सभापति देउवाले । गुटको राजनीति पुनः यही बिन्दुबाट सुरु गरे केन्द्रीय सदस्य मनोनयनमा विभेद गर्दै ।

स्मरण रहोस्, महाधिवेशन प्रतिनिधिहरूका लागि काठमाडौंको एक ब्याङ्क्वेटमा रामचन्द्र पौडेलले सभापतिको दोस्रो चरणको मतदानको केही घण्टाअगाडि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा माहौल तयार गर्न आयोजना गरेको चियापान कार्यक्रममा रामचन्द्र बिरुद्ध हुटिङ र देउवा बिरुद्ध नाराबाजी भएको थियो । महाधिवेशन प्रतिनिधिहरूले पौडेललाई सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा खुल्न दबाब दिएका थिए । त्यस कार्यक्रममा मात्र नभएर रामचन्द्रले मतदानको अघिल्लो दिन २६ गते एक विज्ञप्ति जारी गर्दै नेतृत्व चयनमा विवेक प्रयोग गर्न भन्दै अप्रत्यक्ष रूपमा देउवाको समर्थनमा महाधिवेशन प्रतिनिधिलाई प्रभावमा पार्ने प्रयत्न गरेका थिए । रामचन्द्रलगायत पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, पूर्वकोषाध्यक्ष सीतादेवी यादव, पूर्वकेन्द्रीय सदस्यहरू नरहरि आचार्य, दिलबहादुर घर्ती, प्रदीप गिरी, डा. नारायण खड्का, मीन विश्वकर्मालगायतका शीर्षनेताले केन्द्रीय स्तरमा कुनै पनि पदमा प्रतिस्पर्धा नै गरेनन् ।

नेपाली काङ्ग्रेसको महाधिवेशन विभिन्न मिति र स्थानमा सम्पन्न भए । २००३ माघ १२-१३ मा भारतको कलकत्तामा भएको पहिलो महाधिवेशनबाट सभापतिमा टंकप्रसाद आचार्य र कार्यवाहक सभापतिमा बीपी कोइराला निर्वाचित भए । २००४ माघ २०-२२ मा भारतको बनारसमा भएको दोस्रो महाधिवेशनबाट वि.पि. कोइराला सभापतिमा निर्वाचित भए । २००५ फागुन १८-२० मा भारतको बिहारमा सम्पन्न तेस्रो र २००६ चैत २७-२९ मा भारतको कलकत्तामा भएको चौथो महाधिवेशनबाट मातृकाप्रसाद कोइराला सभापतिमा चयन भए । २००९ जेठ १०-१२ सम्म जनकपुरमा भएको पाँचौं महाधिवेशनबाट वि.पि. कोइराला सभापतिमा पुनः निर्वाचित भए । २०१२ माघ १०-११ मा वीरगन्जमा सम्पन्न छैठौं महाधिवेशनबाट सुवर्णशमशेर राणा सभापतिमा निर्वाचित भए । २०१४ जेठमा विराटनगरमा भएको विशेष महाधिवेशनबाट फेरि पनि बीपी कोइराला सभापतिमा निर्वाचित भए । २०१६ वैशाख २५-३१ मा काठमाडौंमा सम्पन्न सातौँ महाधिवेशनमा पनि वि.पि. कोइराला नै सभापतिमा दोहोरिए । २०४८ फागुन १-३ मा झापाको कलबलगुढीमा भएको आठौं महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्वाचित भए । २०५३ वैशाख २५-२७ मा काठमाडौंमा भएको महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित भए । २०५७ माघ ६-७ मा पोखरामा भएको दशौं र २०६२ भदौ १-४ मा ललितपुरमा भएको एघारौँ महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला नै सभापतिमा निर्वाचित भए । २०६७ असोज १-५ मा काठमाडौंमा भएको बाह्रौँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भए । २०७२ फागुन २०-२३ मा काठमाडौंमा सम्पन्न तेह्रौँ महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवा २०७८ मङ्सिर २४-२७ मा काठमाडौंमा भएको चौधौँ महाधिवेशनबाट पुनः सभापतिमा दोहोरिए ।

नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन विगतका महाधिवेशनहरूभन्दा धेरै नै फरक अनि भिन्न देखियो । प्रत्यासीको असाध्यै खर्चिलो मात्र नभएर भड्किलो प्रचार सामग्री र शैली पचाउनै नसकिने भएको टिप्पणी पनि सुनियो । उत्ताउलो र भड्किलो प्रचार सामग्री अनि शैली प्रयोग गर्नेको अग्रपंक्तिमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा देखिए । क्याप र सेनिटाइजरको बोतलमा आफ्नो फोटो प्रिण्ट गरेर अनि लकेट बाँडेर देउवाले कस्तो सन्देश दिन खोजेका हुन् कौतुहलको विषय बन्यो । पर्चा-पम्प्लेट, ब्यानरमा त उनी छाएकै थिए । रत्नपार्कस्थित शान्तिबाटिका परिसरको भित्तामा टाँसिएर सभापति शेरबहादुर देउवाले दुई हात जोडेर भोट मागेको देख्दा कुरी-कुरी गरे महाधिवेशन प्रतिनिधिले । देशमा विसंगति अनि विकृतिको पर्याय नै बनिसकेका देउवाका लागि पार्टीभित्र यो कुनै नौलो र अनौठो विषय नलागे पनि अन्ततः यो संस्कार राम्रो मान्न सकिँदैन । पार्टीमा विकृति, विसंगति रोक्नु पर्ने दायित्व बोकेको मुखियाले नै यस्तो रवैया देखाएपछि अरूले पनि त्यसैको अनुशरण गरे । ठूलो धनराशी अनुत्पादक क्षेत्रमा खर्च गर्नु राम्रो हो र ?- प्रश्न गरेका छन् आम नागरिकले । आगामी महाधिवेशन अथवा पार्टीका अन्य कार्यक्रमहरूमा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न मात्र होइन रोक्न नै जरुरी छ ।