३ माघ २०७८, सोमबार

समृद्धिको बाधक !

  प्रकाशित मिति
३० पुष २०७८, शुक्रबार ०१:४२


यतिबेला बीपीको काङ्ग्रेस, मदनको एमाले, प्रचण्डको माओवादी केन्द्रमा बिचित्रको रित्तोपन हाबी छ । उनीहरूसँग केवल इतिहास छ, वर्तमान अत्यन्त दयनीय छ । आफ्नै कर्म, व्यवहार र विभत्स रोडम्यापको कारण भविष्य सङ्कटग्रस्त र अनिश्चित बन्दै छ ।
  • दीपेन्द्र पाण्डे

नेपाली काङ्ग्रेसलाई प्रजातान्त्रिक समाजवादको सिद्धान्त दिएर मालामाल वनाउने बीपीलाई नेपाली राजनीतिले सदा सम्झिने कारण समाजवादमा प्रजातन्त्रको उपस्थिति अनिवार्य देख्नु हो । सिद्धान्तकार बीपी ‘समानता’ समाजवादको मूल भावना हो भन्नेमा दृढ थिए । ‘समानता’ शब्दलाई काङ्ग्रेस पार्टीको ‘प्राण’ वनाउँदै ‘आर्थिक र राजनीतिक’ दुवै क्षेत्रमा लागु गर्न बीपीले जीवनभर पैरवी गरिरहे । उनको ‘प्रजातान्त्रिक समाजवादको सिद्धान्त’मा हुर्किएको काङ्ग्रेस प्रजातन्त्रप्राप्तिसँगै सत्तामा पुग्न सफल भयो । दुर्भाग्य ! ‘गरिबीको वितरण समाजवाद होइन’ भन्ने बीपीविचारलाई चटक्कै बिर्सेर काङ्ग्रेसले निजीकरण, खुलाबजार र आर्थिक उदारीकरण लागु गर्दै ‘समानता’ ल्याउन अग्रसर भयो । सत्ता उन्मादमा सामाजिक न्याय र विपन्न वर्गलाई चटक्क बिर्संदा काङ्ग्रेस पार्टी बीपीको अमूल्य ‘ब्रह्मास्त्र’बाट विमुख हुन पुग्यो ।

कार्ल मार्क्सले भौतिकवादी द्वन्द्ववादको अचुक ब्याख्या गरे । समाजमा विद्यमान सबै प्रकारका शोषणको अचुक औषधि ‘वर्गसङ्घर्ष’ हो भन्ने मार्क्सको ठम्याइ थियो । पुँजीवादी क्रान्तिको सफलतापश्चात् हुने मजदुर वर्गको उदयले सर्वहारा वर्गलाई थप सङ्गठित हुन बाध्य पार्ने छ । समाजमा रहेका सबै प्रकारका शोषणको अन्त्य नभएसम्म मानवजाति वास्तविक रूपमा स्वतन्त्र नहुने र वास्तविक स्वतन्त्रताका लागि वर्गसङ्घर्षको विकल्प नरहेको मार्क्सको मूल मन्त्रमा विश्वास गर्ने युवाहरूले ‘मार्क्सवादी–लेनिनवादी’ पार्टी एमाले जन्माए ।

बस्तु उत्पादनको प्रमुख कारण मजदुरको ‘सीप र श्रम’ हो । मजदुरमाथि अकल्पनीय शोषण र अतिरिक्त मूल्यको सिद्धान्तका कारण समाजवादी क्रान्ति अनिवार्य बन्ने छ । क्रान्तिको पूर्वाधार निर्माणमा पुँजीपतिहरू सहायक बन्ने छन् भन्ने माक्र्सको सिद्धान्त स्वीकार गरेको एमालेले राष्ट्रिय पुँजीपति जन्माउन त सकेन नै, संसदीय राजनीतिको फोहोरी खेलमा दलाल, बिचौलिया र भ्रष्टहरूसँग गज्जबको हिमचिम बढाउँदै ‘जबज’को ‘कमण्डलु’मा ‘वामपन्थदेखि रामपन्थ’ फिट गर्दै अन्ततः चुनावदेखि चुनावसम्म पुग्न राजी भयो ।

काङ्ग्रेस पुँजीवादी र एमाले संशोधनवादी बन्यो । यिनीहरूबाट मुलुकको उन्नति र प्रगति सम्भव छैन भन्दै प्रचण्डनेतृत्वको माओवादीले दक्षिणपन्थी, सामन्तवादी, विस्तारवादी, अधिनायकवादी, संशोधनवादी, जड्सुत्रवादी, साम्राज्यवादी जस्ता शब्दहरूको सफल मार्केटिङ गर्दै युवा वर्ग र सर्वसाधारण जनतालाई हिंसातर्फ आकर्षित ग¥यो । जनयुद्ध, गोलमेच सम्मेलन, अग्रगमन, सङ्घीय गणतन्त्र, एकल पहिचान जस्ता शब्दहरूमा मुलुकलाई रोमाञ्चित गर्दै छलाङ, क्रमभङ्ग, जनसरकार जस्ता कथित खेलमा बहुमूल्य समय बरबाद ग¥यो । ‘दुई लाइन सङ्घर्ष’, ‘क्रान्तिकारी संसद्वाद’, ‘सडक, संसद् र सत्ताको मोर्चा’ जस्ता जार्गनको प्रयोग गर्दै सबैखाले शोषण, अन्याय, अत्याचारको अन्त्य गर्ने ‘माओवादी राजनीति र सिद्धान्त‘का कथित सुप्रिमो कमरेड प्रचण्डले आसेपासे पुँजीवादसँग प्रचण्डपथ र माओवादी ध्वंशको राजनीतिक व्यापार कसरी सम्पन्न गरे ? ती निर्दोष कार्यकर्ताले आजसम्म थाहा पाउन सकेनन् ।

मुलुकमा ‘उपलब्धि नै उपलब्धि’ले भरिएको संविधान छ । ‘समाजवाद’सँग गोरु बेचेको साइनो नराख्ने दलहरू ‘समाजवाद उन्मुख’ संविधान वनाएको गर्व गरिरहेका छन् । मुलुक लुटेर राष्ट्रिय पुँजी र पुँजीपति निर्माण गर्ने अर्थनीति प्रमुख राजनीतिक दलहरूको बाध्यता बन्दै गर्दा ‘संविधान र लोकतन्त्र’ महँगो र पिडादायी बन्दै छ । सङ्घीयता, धर्मनिरपेक्षता, लैङ्गिक समानता, समावेशीकरण, शक्ति पृथकीकरण र तीन तहको सरकारलाई उपलब्धि मान्ने राजनीतिक दलहरूले ‘नयाँ नेतृत्व चुन्ने बहानामा पुरानो नेतृत्वलाई स्थापित’ गर्नुले उनीहरूको ‘राजनीतिक ब्रहमास्त्र‘ सकिएको बुझ्न सकिन्छ ।

बजेट र अर्थशास्त्रको सामान्य ज्ञान राख्ने मानिसले ठोकुवासँग भन्न सक्छ- वर्तमानमा मुलुकको आम्दानीबाट राजनीतिजीवी र कर्मचारीलाई मुस्किलले पाल्न पुग्छ । ‘समृद्धिको नेपाली मोडल’ निर्माण गर्दै राष्ट्रिय पुँजीको जोगाड गर्ने रोडम्यापमा हिँड्न सुरु नगरेसम्म ‘कर वा राजस्व’बाट प्राप्त हुने राष्ट्रिय आम्दानीले मुलुकको विकास सिद्धान्ततः असम्भव छ । समृद्धिको निम्ति आर्थिक स्रोतको माध्यम आन्तरिक ऋण र वैदेशिक सहायता (ऋण वा अनुदान) मात्र ठान्ने र मान्ने सोचले स्थायी घर गरेको समयमा ‘साधारण खर्च’लाई मुस्किलले धान्ने वार्षिक ८–९ खर्ब राजस्व उठाएर १४–१५ खर्बको बजेट ल्याउने सरकारले ‘अर्थको अतिरिक्त जोगाड’ गर्दै रातारात समृद्धि ल्याउने कुतर्क थाकेर ‘बालकोट’ पुगेको समयमा पटक–पटक टेस्टेड वर्तमान प्रधानमन्त्रीसँग कुनै अपेक्षा नराख्नु स्वाभाविक छ ।

राजनीतिक पुँजी सकिएका, अभिमान र घमन्डमा चुर्लुम्म डुबेका, आफ्नै नैतिकता र इतिहास बेचेर मुलुक र जनताको भविष्यसँग खेलबाड गरिरहेका राजनीतिक दलहरूको औपचारिक विघटन र विसर्जन नभएसम्म समृद्धि असम्भव छ ।

कुनै पनि मुलुकको उन्नति र प्रगतिको निम्ति त्यस देशको कच्चा पदार्थ, सही राजनीतिक नेतृत्व, मानव संसाधनको औचित्यपूर्ण परिचालन, समयको उचित मूल्याङ्कन र सम्मान तथा भू-राजनीतिको अधिकतम् फाइदा उठाउन सक्ने राजनीतिक दल र सिद्धान्त हो भन्न सकिन्छ । यी तमाम कुरालाई नजरअन्दाज गर्ने, युवालाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्ने, निजी स्वार्थको निम्ति राष्ट्रिय स्रोत र सम्पदाको अधिकतम दोहन गर्दै राज्यलाई निरीह वनाउने, पार्टी सत्ता र राजनीतिक सत्ताको निम्ति विदेशीको हितअनुकूल काम गर्ने राजनीति हाबी हुनुको प्रमुख कारण राजनीतिक दलहरू विचार र सिद्धान्तबाट च्युत हुनु हो ।

राजनीतिक अधिकारप्राप्तिको लडाइँ लड्दै गर्दा राजनीतिक दलहरूसँग शक्तिशाली ब्रह्मास्त्र थिए । मुलुक र सिद्धान्तको निम्ति हाँसी–हाँसी जीवन कुर्वान गर्न हौसिने देशभक्त योद्धाहरूको फ्याक्ट्री थियो । बिगार्न र भत्काउन अब्बल राजनीतिक दलहरू जनादेश प्राप्तिपश्चात् न्याय, समानता र समृद्धिको यात्रामा ‘पासमार्क’ ल्याउन समेत असफल भए । सत्ता, शक्ति र पैसाको निम्ति राजनीतिक नैतिकता, मूल्य, मान्यता, आदर्श गुमाएर कथित शक्तिशाली बन्ने अभियानमा लाग्दा काङ्ग्रेस, एमाले, माओवादी केन्द्रको राजनीतिक शान बाँकी रहेन । मुलुक र मुलुकवासीको भाग्य विधाता बन्ने अवसर प्राप्त गर्दा मुलुकका प्रमुख राजनीतिक दलहरूले निर्माण गरेका लाउडा काण्ड, धमिजा काण्ड, चेज एयर काण्ड, टनकपुर काण्ड, सङ्टकाल, हत्याहिंसा, संसद् विघटन, लुटपाट, क्यान्टोनमेण्ट घोटाला, ललिता निवास जग्गा काण्ड, मातातीर्थ जग्गा काण्ड, ३३ किलो सुनकाण्ड, वाइडबडी घोटाला काण्ड, टेप काण्ड, यती, ओम्नी, गिरिबन्धु जग्गा काण्ड, बतास जग्गा काण्ड, मल खरिदमा करोडौँ घोटालाले उनीहरूको नियत, हैसियत र आदर्श सर्वसाधारणले देख्न र बुझ्न पाएका छन् । सुशासन, समृद्धि र राष्ट्रवादको नारामा जनतालाई झुक्याएर मुलुकको दोहन गर्ने राजनीतिक नेतृत्व, दलहरू र त्यस अभियानलाई साथ दिने युवा पङ्क्ति कथित भ्रममा अझै रमाउँदै छ ।

वैश्य युगको लोकतन्त्रमा ब्रह्मास्त्र सकिएका दलहरू राजनीतिक उद्योग जोगाउन ‘झुट’को साम्राज्य खडा गर्दै छ । आफ्ना तमाम असफलताहरू छोप्न मिडियाको गम्भीर अपचलन गर्दै सर्वसाधारण जनतालाई गुमराहमा राख्ने मिसन सुरु गरिएको छ । सामाजिक सञ्जाल, मिडियाको अलावा आइटीसेल र अन्य सङ्ठनसँग जोडिएका तमाम एक्टरहरूद्वारा झुटको महाजाल निर्माण गरिएको छ । राजनीतिको नाममा गरिएका तमाम काला कर्तुतलाई सर्वसाधारणसम्म पुग्न नदिन राजनीतिक पार्टीहरू रणनीतिक ढङ्ले ‘आइटीसेल’ निर्माण गर्न हौसिएका छन् । लोकतन्त्रको सामान्य परिभाषा ‘जनताद्वारा, जनताको लागि जनताको शासन’ बदल्दै ‘झूटद्वारा, झूटको लागि झूटको शासन’ वनाउने अभियानमा भातृसङ्गठनको सक्रिय प्रयोग हुँदै छ । उनीहरूको लक्ष्य राजनीतिको आडमा गरिएका अपराधहरूलाई मिडियामा ‘भाइरल’ बन्न रोक्नु हुनेछ । साथै सत्यतथ्य पस्कने ‘पत्रकार र मिडिया हाउस’लाई निशाना वनाउँदै शिक्षित र बौद्धिक जमातलाई सत्यसम्म पुग्न वञ्चित गर्नु छ ।

राष्ट्रवाद, धर्म, समृद्धि र शान्तिको नाममा विश्व राजनीतिले बोलेको झुटको लेखाजोखा राख्ने तागत सर्वसाधारणले गुमाइसकेको अवस्थामा राजनीतिक उद्योग अब सिद्धान्तले नचल्ने ‘ब्रह्मास्त्र सकिएको नेतृत्व’ले बुझिसकेको छ । वैश्य युगको सत्ता राजनीतिमा विचार, दर्शन, नैतिकता, विधि, पद्धति, संविधान, पार्टी, सङ्गठन, धर्म, परम्परा, संस्कारभन्दा महत्त्वपूर्ण तत्त्व ‘अर्थ र प्रविधि’ बन्न पुगेको छ । विगतमा ‘धर्म र व्यापार’लाई राजनीतिसँग अलग राख्न पैरवी गर्नेहरू वर्तमानमा ‘धर्म र व्यापार’को राजनीति दलाल, बिचौलिया र कर्पोरेट घरानामार्फत सुरु गर्दै छ । राजनीतिप्रति शिक्षित युवा वर्ग र सर्वसाधारण मानिसमा गम्भीर ढङ्गले वितृष्णा फैलाउने, अपराध र अपराधीलाई चोख्याउने, सनातन धर्म, संस्कार र परम्पराको मौलिक उपस्थिति खोज्ने र सही अर्थमा जनताको पक्षमा आवाज बुलन्द गर्ने व्यक्ति, समुदाय र शक्तिहरूलाई बदनाम गर्ने अभियानमा ‘आइटीसेल’को रणनीतिक प्रयोग गर्ने तारतम्य मिलाइएको छ ।

आफ्ना तमाम दलिल, आश्वासन र सिद्धान्तको औपचारिक मृत्युपछि राजनीतिमा आफ्नो स्थानलाई निरन्तरता दिन हरेक दलसँग ‘धर्मको राजनीति’ गर्ने कुनै न कुनै किसिमको स्कीम तयारी अवस्थामा छ । वर्तमान वैश्य युगको राजनीतिमा अब सही र गलतको कुनै अर्थ रहेन । मुलुकको राजनीतिले ‘धर्म र धार्मिक सङ्ख्या’लाई ‘भोटबैंक’को रूपमा देख्दै छ । केवल चुनावदेखि चुनावसम्म फैलिएको सत्ता–राजनीतिमा साम्प्रदायिकताको अनेकौँ मोडल तयारी अवस्थामा छन् । असफल राजनीतिक दल र त्यसका शीर्ष नेतृत्वले प्रहरी र प्रशासनको गम्भीर अपचलन गर्दै ‘धर्म र आर्थिक असुरक्षा’को राजनीति थप चर्काउँदै छ ।

यतिबेला बीपीको काङ्ग्रेस, मदनको एमाले, प्रचण्डको माओवादी केन्द्रमा बिचित्रको रित्तोपन हाबी छ । उनीहरूसँग केवल इतिहास छ, वर्तमान अत्यन्त दयनीय छ । आफ्नै कर्म, व्यवहार र विभत्स रोडम्यापको कारण भविष्य सङ्कटग्रस्त र अनिश्चित बन्दै छ । ब्रह्मास्त्र सकिएका राजनीतिक दलहरूको नालायकी र चरम असफलताको साँवाब्याज भुक्तान गर्ने तागत मुलुकसामु छैन । युवाहरूको मनोविज्ञान, सञ्चारको अनियन्त्रित विकास र प्रविधिमा आएको क्रान्तिले सामाजिक इन्जिनियरिङ, पारिवारिक एकता र राजनीतिबीच भीमकाय खाडल उत्पन्न हुँदै छ । असफल नेतृत्वले जन्माएका समस्याहरूको समाधान ‘सैद्धान्तिक र राजनीतिक जार्गन’बाट सम्भव नरहेको समयमा सार्वजनिक खपतका लागि बोलिएका शब्दहरूले नयाँ द्वन्द्व जन्माउँदै छ । राजनीतिक पुँजी सकिएका, अभिमान र घमन्डमा चुर्लुम्म डुबेका, आफ्नै नैतिकता र इतिहास बेचेर मुलुक र जनताको भविष्यसँग खेलबाड गरिरहेका राजनीतिक दलहरूको औपचारिक विघटन र विसर्जन नभएसम्म समृद्धि असम्भव छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोनासंक्रमण भएपछि त्रास

रौतहटमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा जिल्लाको नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह

उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार

पूर्णप्रसाद मिश्र, काठमाडौं प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि