त्रिभुवन विमानस्थल आन्तरिकतर्फको आवागमन कक्ष विस्तार गरिने

त्रिभुवन विमानस्थल आन्तरिकतर्फको आवागमन कक्ष विस्तार गरिने



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन सम्बन्धित मन्त्रीले निर्देशन दिएका छन् ।

भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन् । ‘ठाउँ साँघुरो भयो, कोरोना जोखिमलाई मध्यनजर गरी आवागमन कक्ष फराकिलो बनाउनुस्, यात्रुलाई दुःख नहोस्’, मन्त्री आलेको निर्देशन छ ।

सो निर्देशनपछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए । विमानस्थलमा यात्रुको चाप बढी हुँदै गएकाले समस्या भएको स्वीकार गर्दै फराकिलो ठाउँमा सार्न दिइएको निर्देशनअनुसार चाँडै काम हुने उनले बताए ।

यसैगरी विमानस्थलमा एक मात्र ‘कन्भेयर बेल्ट’ भएको र थप दुईवटा नयाँ किनेर अब तीन वटा सञ्चालन गर्न समेत भनिएको छ । विमानस्थलका कर्मचारीले स्थान पहिचान, बजेट व्यवस्थापन, सूचना प्रकाशनका विषयमा तत्काल काम अगाडि बढाउने जनाइएको छ ।