स्वपहिचान गर राजनीतिजीवीहरू !

स्वपहिचान गर राजनीतिजीवीहरू !



राज्य सञ्चालनको सवालमा अत्यन्त महत्वपूर्ण निकाय मानिएका अर्थ र गृह मन्त्रालयमातहतका राजस्व विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धानलगायतका केही महत्वपूर्ण विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहत ल्याएर आफ्नो शक्ति विस्तार गरेको भन्दै पूर्ववर्ती प्रधानमन्त्री केपी ओलीको विरोधमा जेहाद छोडेका हालका प्रधानमन्त्री शेरबहादुर देउवाले उल्लिखित निकायहरू सरोकारवाला मन्त्रालय वा सम्बन्धित मन्त्रीहरूकै मातहत फर्काउन आनाकानी गरेको सन्दर्भ यतिबेला चर्चामा छ ।

यस्तै चर्चा विगत साढे तीन दशकदेखि निरन्तर पार्टीको शीर्ष कमाण्डमा रही पुनः ‘निर्विकल्प अध्यक्ष’को रूपमा निर्विरोध निर्वाचित भएका माओवादी केन्द्रका सुप्रिमो प्रचण्डका बारे पनि चलेको छ । पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हुन नदिइ आफूलाई निर्विरोध अध्यक्ष तुल्याउन केपी ओलीले अधिनायकवादी शैलीमा प्रयत्न गरेको भन्दै प्रचण्डले चर्को विरोध गरेका थिए ।

अनेक चर्चाको बाढीबीच अर्को ‘भाइरल’ विषय बनेको छ मन्त्री रामकुमारी झाँक्रीले गृहजिल्लामा ग्रहण गरेको पिर्के सलामी पनि ! झाँक्रीले आफू सत्तामा नरहँदा यसरी नै पिर्के सलामी लिने ओहदावाल/जनप्रतिनिधिहरूका विरुद्ध सामाजिक सञ्जालमार्फत् अत्यन्त भद्दा शैलीमा ब्यङ्ग्य प्रहार गर्दै आएकी थिइन् ।

चर्चामा रहेका उपरोक्त तीन सन्दर्भलाई उदाहरणको रूपमा लिँदै नेपालको राजनीति तथा राजनीतिकर्मीका सोच-व्यवहार नियाल्दा यथार्थमा मुलुकको राजनीति कति सङ्ग्लो या धमिलो छ, सकारात्मक या नकारात्मक कुन बाटो लिएको छ र, वर्तमान मूलधारको राजनीति एवम् राजनीतिजीवीहरू जो आफूलाई अग्रगमनका अलौकिक अभियन्ता दाबी गर्न हिच्किचाउँदैनन्, यिनले देशलाई कुन भड्खालोमा पुऱ्याएर अलपत्र पारिदिने हुन्- आमनेपालीका सामु फेरि पनि गम्भीर प्रश्न ठडिन पुगेको छ ।

देशको समग्र राजनीतिको पर्गेल्याइँ गर्दा कोही व्यक्तिविशेषको नाम औंल्याउनु उपयुक्त नलाग्न सक्छ । हुन पनि झण्डै तीन करोड नेपालीजनका बीचमा दुई-चार पात्रले कस्तो आचरण प्रकट गर्छन् भन्ने विषय समुन्द्रमा थोपाको अस्तित्वसरह मानिनुपर्ने हो । तर, जब राजनीतिमा खास-खास पात्रहरू मात्र निरन्तर र अस्वाभाविक रूपले हाबी हुन पुग्छन्, अवान्छित तथा असामयिक तवरले तिनकै बर्चश्व वा हालीमुहाली कायम रहन्छ, आमतप्काले अस्वीकार गरे पनि तिनको अस्तित्वमा कुनै फरक नपरी उल्टै शासन-प्रणालीमा झन्-झन् जरा गाड्न पुग्छन्, यस्तोमा ती पात्रमाथि खास दृष्टि लगाएर छ्यानविचार गर्नु अपरिहार्य हुन्छ । उल्लिखित तीन सन्दर्भका पात्रहरू पनि यस्तै कोटीको प्रतिनिधित्व गर्ने खास चरित्रहरू हुन्, जसलाई नजरअन्दाज गर्न सकिन्न/मिल्दैन ।

राजनीतिलाई अत्यन्त पवित्र कर्मको रूपमा लिइन्छ, यदि अन्तःष्करणबाटै सेवाको अभीष्ट राखेर व्यक्ति राजनीतिक मैदानमा होमिएको छ भने ! यसरी राजनीति गर्नेले सत्ता-शक्ति र सम्पत्ति आर्जनको दूराकाङ्क्षा रत्तिभर राख्दैन-राख्नै पर्दैन । यस्तो विशुद्ध राजनीतिले फगत मुलुक र जनताको चौतर्फी कल्याणमा योगदान पुऱ्याउँछ र, त्यस्ता राजनीतिकर्मीले स्वतः आफ्नो नामलाई चहकिलो तुल्याउँछ, इतिहास बनाउँछ । तर, यो सर्वव्यापी तथ्य मननको किञ्चित चेष्टा नगरी सत्ता, शक्ति र सम्पत्ति आर्जनलाई एकसुत्रीय उद्देश्य तुल्याएर तथाकथित राजनीति गर्नेहरूको बिगबिगीले नेपाल आक्रान्त छ । अर्काको गल्ती औंल्याएर आफ्नो धरातल तयार गर्ने अनि त्यसमा उभिएपछि झन् ज्यादा गल्ती गर्ने दुष्प्रवृत्ति कथित राजनीतिकर्मीमा व्याप्त रहनुको ज्वलन्त उदाहरण हो माथि उद्धृत केही सन्दर्भ । अर्काले गरेको राम्रै कर्ममा पनि खोट देख्ने, आलोचना गर्ने, खुइल्याउने र समाप्तै पार्ने अनि आफ्नो पालोमा भए-गरेका निकृष्टतम् काम-कदमलाई पनि अत्युत्तम्/महानतम् भनी प्रचार गर्न रुचाउने प्रवृत्ति नेपाली राजनीतिमा मौलाएको एक विडम्बनापूर्ण विशेषता हो । यसमा सत्तापक्ष, विपक्ष वा कुनै पक्ष पनि दोषमुक्त छैनन् । आफू राम्रो गर्न नसक्ने तर ओहदा हत्याउनका लागि अर्कोको खेदो मात्र खन्ने दुष्प्रवृत्तिबाट मुक्त नभएसम्म देश बनाउने, जनतालाई समृद्धिको शिखर चढाउने भन्दै राजनीतिक रङ्गमञ्चमा कसैले प्रहसन प्रदर्शन नगर्दा हुन्छ ।

आफ्नो कमजोरी पहिचान गरी आफैलाई चिन्नु हर मानिसका लागि आवश्यक छ, झन् नेपालका राजनीतिजीवीहरूका लागि त यो अपरिहार्य नै छ । आफूलाई पहिचान गरेपछि मात्र आफूमा सुधार या परिवर्तन ल्याउन सकिन्छ, अर्काको मूल्याङ्कन गर्ने हैसियत वा क्षमता पनि स्वपहिचानपछि मात्र खुलेर आउँछ भन्ने आत्मज्ञानी महान् पात्रहरूको सन्देश रहेको हामी पाउँछौँ । तसर्थ, अरुको दुर्गुणलाई आफू ‘सत्ताधारी-शक्तिशाली र थप दुर्गुणी’ बन्ने हतियार बनाउन छोडी राजनीतिलाई सङ्ग्ल्याउने सुकर्ममा लाग्न तमाम राजनीतिकर्मीसँग आग्रह छ ।