सत्ता-गठबन्धन दलबीच मिलेर उम्मेदवारी दिने सहमति

सत्ता-गठबन्धन दलबीच मिलेर उम्मेदवारी दिने सहमति


  • तस्बिर रासस


सत्तारुढ गठबन्धन दलले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारीको बाँडफाँट गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा आज बसेको बैठकमा राष्ट्रियसभाका रिक्त १९ सदस्य पदमा मिलेर उम्मेदवारी दिने सहमति भएको हो ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने सहमति भएको छ । उन्नाइसमध्ये बाँकी आठ सिटमा कांग्रेसलाई तीन, जनता समाजवादी नेपाललाई दुई तथा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई एक/एक सिट दिने सहमति भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलले यसअघि नै चुनावी तालमेल गर्ने आपसी सहमति गरेका थिए ।

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।