यी श्रीमान्-श्रीमती नै छानिए माओवादीको केन्द्रीय समितिमा

यी श्रीमान्-श्रीमती नै छानिए माओवादीको केन्द्रीय समितिमा


  • representative image

नेकपा (माओवादी केन्द्र)को आइतबार बन्दसत्रबाट निर्वाचित भएको भनिएको केन्द्रीय समितिमा एकै घरका श्रीमान्-श्रीमतीको उपस्थिति उल्लेख्य देखिएको छ । खुल्लाबाट केन्द्रीय सदस्य बनेका हितमान शाक्यको श्रीमान् श्रीमती दुवै केन्द्रीय समितिमा छन् । शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा छानिएकी छन् ।

गणेशमान पुनको पनि श्रीमान्-श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन् । खुल्लाबाट गणेशमान केन्द्रीय सदस्य बनेका छन् भने उनकी श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा परेकी छन् । यस्तै पूर्वमन्त्री वर्षमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन् । वर्षमान खुल्लातर्फबाट र श्रीमती ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

कुलप्रसाद केसी र ताराकुमारी घर्ती पनि दुवै श्रीमान्-श्रीमती केन्द्रीय समितिमा अटाएका छन् । केसी खुल्लाबाट केन्द्रीय सदस्य बनेका हुन् भने श्रीमती तारा जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

यसैगरी, कृष्णध्वज खड्का र रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समिति सदस्य बनेका छन् । खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । पूर्वमन्त्री शक्ति बस्नेत र श्रीमती सत्या पहाडी पनि केन्द्रीय समितिमा निर्वाचित भएका छन् । बस्नेत खुल्लातर्फबाट र उनकी श्रीमती सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय समितिमा समेटिएकी हुन् ।

यस्तै, देवेन्द्र पौडेल र बलावती शर्मा पनि एकै घरबाट केन्द्रीय समितिमा पुगेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य र बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

देव गुरुङको श्रीमान्-श्रीमती पनि केन्द्रीय समितिमा छानिएका छन् । गुङ दम्पत्ति दुवै खुल्लाबाट समेटिएका हुन् । दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय समितिमा अटाएका छन् भने नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय समितिमा परेका छन् । पोखरेल खुल्लातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

यसैगरी, देवेन्द्र पराजुली र कल्पना धमला पनि श्रीमान् श्रीमतीका रूपमा केन्द्रीय समितिमा अटाउन पुगेका छन् । पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय समितिमा परेका हुन् ।