२६ जेष्ठ २०८०, शुक्रबार

राजा र लोकतन्त्र विलोमभन्दा परिपूरक

  प्रकाशित मिति
१५ पुष २०७८, बिहीबार ०३:०५


झण्डै डेढ दशकदेखि विभिन्न साना-साना समुहमा राजावादीहरू सडकमा नाटक देखाउँछन् । त्यसबेलादेखि अहिलेसम्म तिनीहरूको भाषण उही नै छ, सबै कण्ठै हुने गरेर । केही जनता जम्मा गऱ्यो अनि आसन र भाषणको राशन पस्कियो चर्का कुरा गऱ्यो । एकले अर्कालाई पानी पिउँदै गाली गऱ्यो अनि ठूलो काम गरेको दम्भ पाल्यो । यो ती राजावादीको चरित्र भएको छ ।
  • स्वयम्भूनाथ कार्की

लोकतन्त्र र राजतन्त्रलाई एकअर्काको विरोधीको रूपमा चित्रित गरिँदै आएको छ । नेपालको परिप्रेक्ष्यमा यो सर्वथा झुटो कुरा हो । चाहे बडामहाराजा पृथ्वीनारायण शाहले विराज बखतीलाई मनपराए पनि जनताको इच्छाको सम्मान गर्दै कालु पाण्डेलाई सुम्पेको कज्याइँ (सो बेलाको प्रधानमन्त्री) होस् । चार हजारभन्दा ज्यादा एकाई र प्रत्येक एकाईबाट कम्तिमा ११ जनताबाट निर्वाचित प्रतिनिधिलाई शासन व्यवस्थामा भागिदारी गराउनु लोकतन्त्र नभए के थियो ? कुल जनसंख्या ५६ लाख भएको अवस्थामा मुलकको कुना-कुनाबाट ४४ हजार भन्दा धेरैको शासनमा प्रत्यक्ष भागिदारीलाई राजाका आसेपासे मान्ने हो केही अपवादबाहेक मुलुक नै राजाको आसेपासे भएको मान्नु पर्दछ ।

व्यवस्थामा भाग लिनेलाई आजको आसेपासे भन्ने हो भने जित्ने ४४ हजार भन्दा धेरै हार्ने पनि एक जना गरेर दुई मात्र उम्मेदवार मान्दा त्यति नै अर्थात् ५६ लाखमा झण्डै एक लाख त राजाका आसेपासे कार्यकर्ता नै मान्नुपर्छ । कुल जनसङ्ख्याको झण्डै २ प्रतिशत जनताले निर्वाध भाग लिएको व्यवस्था भन्दा ठूलो लोकतन्त्र अरु कुन होला ? फेरि यिनीहरू कसैको ह्विपको अधीन नभइ विवेकले देखेको गर्न स्वतन्त्र थिए । पछि त प्रत्येक इकाईमा कम्तीमा ५४ जना जनप्रतिनिधि पुगे । जब यति विशाल जनसहभागिता ठूलो लोकतन्त्र कि टाउको गनेर नेताहरूले बहुमत, या दुई तिहाइको दम्भ देखाउन पाउने ठूलो ।

आफूअनुकुल हुँदा संसद्को सर्वोच्चता र आफूप्रतिकुल हुँदा संसद्को अधिकार केवल सुझाव दिने मात्र हो भन्ने पिपलपाते नेताहरू आफै लोकतन्त्रको परिभाषा जान्दैनन् भन्न हिचकिचाउनुपर्ने अवस्था छैन । जनताको रगत-पसिना निचोरेर जम्मा गरेको राजश्व आफुखुशी बक्सिस दिने, योग्यताले भन्दा चाकरीले नियुक्ति दिने परिपाटी मौलाउँदैछ । त्यस कृपाको सूचीमा पर्न हुन्छ हजुर, हस हजुर, हजुर त संसारमा सबैभन्दा ठूलो भनेर विरुदावली गाउनेहरूको जमातले भने यो कुरा मान्दैन । भित्री मनले माने पनि प्रकटमा वफादारी देखाएर लाभ लिनु उनीहरूको लक्ष्य हो । तर राजावादी भनाउनेहरूलाई कुन कुराले लोकतन्त्रको परिपुरक तथा संरक्षक नेपालको राजसंस्थालाई लोकतन्त्रको विपरीत तानाशाह देख्ने बनाएको छ ?

नेपालको राजसंस्थाका प्रतिनिधिहरू सनातनी हुन्, चल्तीको भाषामा हिन्दुधर्मालम्बी हुन् । तर नेपालको राजसंस्थाले नेपाललाई कहिले हिन्दुमात्रको भनेन र त्यसअनुसार व्यवहार पनि गरेन । छिमेकमा मुगलहरूले धमाधम मन्दिरलाई मस्जिदमा परिवर्तन गरे, जजिया कर लगाए । तर नेपालमा भने राजदरबारको दृष्यपटलमा नै मस्जिद छ । विभिन्न स्थानमा चर्चहरू पनि खोल्न दिइएका छन् । यो राजाको सक्रिय शासनकालको कुरा हो, तर त्यसबेला हरेक धर्म-सम्प्रदायलाई सामाजिक सद्भावमा खलल पार्न दिइएको थिएन । राजाद्वारा प्रदत्त संविधानमा भनिएको हिन्दूराष्ट्रको व्यवहारिक रूप यही थियो । जो अझै पनि घेरैको स्मृतिपटलमा ताजै छ ।

जातिय, क्षेत्रिय सन्तुलन कुनै रडाको नै नगरी र आपसी वैमनश्यता हुन नै नदिई कायम गरिएको थियो । त्यसबेलाका नियुक्ति, प्रतिनिधित्व आदिको सूचि हेर्ने हो भने यो प्रष्ट हुन्छ । लोकतन्त्रको अर्को विषेशता समानुपातिक र सहभागितामूलक प्रतिनिधित्व हो । त्यसको वर्तमान अवस्था र पहिलेको अवस्था तुलना गर्दा पनि यो विषेशता वर्तमानभन्दा कम थिएन बरु बेसी नै थियो । बरु वर्तमानमा रडाको नगरी यो प्राप्त नभएका कयौँ उदाहरण पाइन्छन् । के राजावादीहरूले यो देखेका वा महसूस गरेका छैनन् र ? छन् भने किन विरोधिले लगाएको राजा लोकतन्त्रविरोधि भन्ने आरोप जस्ताकोतस्तै स्विकार गर्छन् ?

झण्डै डेढ दशकदेखि विभिन्न साना-साना समुहमा राजावादीहरू सडकमा नाटक देखाउँछन् । त्यसबेलादेखि अहिलेसम्म तिनीहरूको भाषण उही नै छ, सबै कण्ठै हुने गरेर । केही जनता जम्मा गऱ्यो अनि आसन र भाषणको राशन पस्कियो चर्का कुरा गऱ्यो । एकले अर्कालाई पानी पिउँदै गाली गऱ्यो अनि ठूलो काम गरेको दम्भ पाल्यो । यो ती राजावादीको चरित्र भएको छ । अनि गुनासो गर्छन्, विभिन्न माध्यममा देखापर्नेहरू किन आफ्नो कार्यक्रममा समावेश भएनन् ? ती हिम्मतहारा, हुतिहारा अवसरवादी हुन् नत्र हाम्रो कार्यक्रममा आइहाल्थे नि ! यो घृणापुराण सुन्न को आउने र, किन आउने ? पहिले ती राजावादीहरूले यो प्रश्नको उत्तर दिनु पर्दछ । राजसंस्था लोकतन्त्रविरोधि हैन एकअर्काका परिपूरक हुन् भन्न राजावादी हिचकिचाउनु हुन्न । अनि हिन्दूराष्ट्रको नाममा यो मुलुक र राजा केवल हिन्दुको हो भन्ने गलत भावना फैलाउन बन्द गर्नुपर्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको