नवयुवराज हृदयेन्द्रलाई इच्छाविपरीत अमेरिका लगिँदै

नवयुवराज हृदयेन्द्रलाई इच्छाविपरीत अमेरिका लगिँदै


अन्ततः पूर्वयुवराज्ञी हिमानीले आफ्ना पुत्र नवयुवराज हृदयेन्द्रलाई उच्च शिक्षा अध्ययनका लागि अमेरिका नै पठाउनुहुने भएको छ ।

आमनेपालीका छोराछोरी १२ कक्षा उत्तीर्ण हुनेबित्तिकै अध्ययनका लागि विदेश जाने गरेको र, त्यसबाट नेपालको अर्थतन्त्रमा समेत ठुलो क्षति पुगिरहेको सन्दर्भमा राजपरिवारका पूर्वसदस्यहरूले स्वदेशमै पढाएर समाजमा बेग्लै सन्देश दिने अपेक्षा गरिएको थियो । तर आम युवाहरूमध्ये कतिलाई परिवारका सदस्यहरूले ‘तिमी बाहिर पढ’ भनी जोडबल गर्दै विदेश पठाएजस्तै आमा हिमानीले पनि अमेरिकामा अध्ययन गर्नका लागि पटक-पटक दबाबमूलक आग्रह गरेको बुझिएको छ । यसो गर्नुको कारण अमेरिकन डिग्री हो या आफ्नो छोरा अन्य आम युवाहरू जस्तै अमेरिकामै ‘सेटल’ होस् भन्ने चाहना हो त्यो भने बुझ्न सकिएको छैन ।

प्राप्त जानकारीअनुसार, आगामी हप्ता युवराज्ञी हिमानी छोरा हृदयेन्द्रलाई लिएर कलेजका लागि अमेरिका जाँदै हुनुुहुन्छ । शिक्षा मन्त्रालय श्रोतका अनुसार, हृदयेन्द्रका लागि ‘नो अब्जेक्सन लेटर’ मन्त्रालयले दिइसकेको छ । सर्वसाधारणका सन्तानलाई झैँ पूर्व युवराजलाई कलेजका सम्पूर्ण प्रक्रिया पुरा गर्नु परेको थियो । कलेजमा छात्रवृत्तिका लागि भने कोशिस नगरिएको श्रोतले बताएको छ । छोरालाई अमेरिकामा कलेजको होस्टलमा छोडेर युवराज्ञीले केही समय बैंककमा छोरीहरूसँग बिताउने थाहा भएको छ । अमेरिकामा अत्याधिक चिसो भएको र दिन-प्रतिदिन कोभिड बढेको कारणले उहाँ छोरा पुऱ्याएर बैंकक फर्कन लाग्नुभएको हो ।

अमेरिकी राजदूतावासमा भिसाका लागि कलेजबाट प्राप्त आई-ट्वान्टीलगायत कलेजका सम्पूर्ण डकुमेन्ट पेश गरिएको थियो । कलेजका लागि बैंकमा पैसा जम्मा गर्नेदेखि लिएर सम्पूर्ण प्रक्रिया पूरा गरेपछि आई-ट्वान्टी प्राप्त भएको थियो । आई-ट्वान्टीका लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’लाई अनिवार्य गरिएको थियो ।