नेपालको विदेशमुखी वर्तमान

नेपालको विदेशमुखी वर्तमान


राज्यका सबै निकायलाई विघटनतिर लैजाने, देशलाई असफल राष्ट्र घोषणा गर्ने, युएन सेना भित्र्याउने योजना बाह्यशक्तिको रहेको बुझ्न सकिन्छ । अबको प्रहार नेपाली सेनामाथि हुने निश्चित छ । नेपाली सेनाभित्र विदेशी गुप्तचर घुसिसकेका छन् जसले सेनालाई देश र जनताबाट कटाउने कोसिस गरिरहेका छन् । सेनाको संगठनले देशलाई बचाउन गम्भीर कदम चाल्नु अपरिहार्य भइसकेको छ भन्ने नेपाली सेनाले बुझ्न आवश्यक छ ।
  • जीवन बराल ‘सङ्घर्ष’

झण्डै २५० वर्षको विरासत रहेको राजपरिवार । जुन समय पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेका थिए । जुन समय बाइसे, चौबिसे राज्य डाँडाकाँडा जस्तै थिए । ती राज्यमा कतै खस जातिले शासन गरेका थिए । कतै पाण्डे, खड्का क्षत्री त कतै शेर्पा, गुरुङ, घले, मगर, नेवार, मल्ल, राइ, लिम्बुले । ती राज्यका आ-आफ्नै धर्म, संस्कार, सस्कृति र पहिचान थिए । शाहले भूगोल एकीकरण गरे पनि राज्यको पहिचान मेटाएका थिएनन् किनकि पहिचान रहेन भने राष्ट्र कमजोर हुन्छ । जनता कमजोर हुन्छन् भन्ने उनले राम्ररी बुझेका थिए ।

इतिहास पढ्न पाइन्छ, पृथ्वीनारायण शाहले प्रजालाई सबैले आफ्नो कुल धर्म नछोड्नु भनेकाले सोहीअनुरुप उनको त्यो भनाइ सबैले शिरोपर गरेको पाइन्छ । त्यही समयमा पश्चिमा साम्राज्यवादी र विस्तारवादीहरू कमजोर अवस्थाका स्वतन्त्र राष्ट्रलाई आफ्नो राज्यमा बिलय गराउँदै अघि बढ्दै थिए । जसका लागि उनीहरूले दुई नीति लिन्थे । जसमा पहिलो युद्धबाट पराजित गर्नु दोस्रो नियोजित व्यापारिक प्रयोजन । त्यसैका माध्यमबाट देशलाई सिध्याउने । सोही दोस्रो नीतिअनुसार भारत विदेशीको कब्जामा थियो । समयको कालक्रममा अशोक सम्राटको सहयोगमा चाणक्यले सिकन्दरसहित सम्पूर्ण दलबललाई भारतबाट एक पटक लखेटे । विडम्बना ! व्यापारिक कुटनीतिका माध्यमबाट पुनः भारतले पुरानै नियति भोग्न परेको पृथ्वीनारायण शाहले बुझेका थिए । त्यसैले गोर्खा राज्यको अस्तित्व बचाउन एकीकरण अनिवार्य ठाने । उनले भोलिको पुस्ताले नेपाल एकीकरण गर्ने छ भनेको भए आज नेपाल, नेपाल भएर नरहने र हामी नेपाली भएर जन्मन नपाउने पक्का रहेछ भन्ने कुरा आजका राजनेता भनिएकाहरूको व्यवहारबाट प्रष्ट भएको छ ।

आजका राजनेताले यो बुझ्न आवश्यक छ, पृथ्वीनारायण शाह कहिल्यै राजा भएर आनन्दले राजगद्दीमा बसेनन् । उनी त छिन्नभिन्न राज्यका जनतालाई एक बनाइ शक्तिशाली र आधुनिक हतियारधारी दुष्मनसँग गुलेली, मट्याङग्रा, घुँयत्रो, भाला र खुकुरीको भरमा लडेर विजय हासिल गरेका थिए । जुन चानेचुने कुरा थिएन । त्यसमा पनि सबै धर्म मान्ने सबै जातजाति, लिङ्ग र वर्गबाट युद्दमा साथ पाउनु एकादेशको कथा थिएन । उनको दूरदर्शिताकै उपज विदेशीको कुटनीतिलाई असफल पारेका थिए । यसैले उनका दिव्य उपदेश हाम्रा कानमा गुञ्जिइरहेका छन् ।

पश्चिमाहरूले नेपाल र नेपालीको पहिचान सनातन धर्म र नेपालीको एकता नभत्काउँदासम्म सफलता हात लाग्दैन भन्ने लागेर उनीहरू सियो बनेर नेपाल छिरेका थिए । जसलाई राजसंस्थाले मुसल बन्न दिएन । त्यसैले ती दुष्मनले सदा नेपाल र नेपालीलाई घोचिरहे, शान्तसँग बाँच्न दिएनन् । विदेशीले चाहे जस्तो राइँदाइँ गर्न राजसंस्था अवरोध बनेर भुटानीकरण र सिक्किमीकरण हुनबाट रोकेपछि राजसंस्थामाथि प्रहार हुन पुग्यो । अन्ततः राजपरिवारको वंश नाश भयो ।

विदेशीको योजनामा नेपालमा राजसंस्था घाँडो सम्झन पुगेका बेइमानीले त्यो हत्याको दोष भाइ ज्ञानेन्द्रको परिवारमाथि थुपार्न पुगे । जसको उद्देश्य जनतामा राजा र राजसंस्थाप्रति वितृष्णा जगाउनु थियो । सोहीअनुरुप राजसंस्थाको विरोधमा स्वर चर्को बनाउन लगाउनु, जनयुद्धका नाममा केही वर्ष वर्गीय युद्ध भने पनि त्यो युद्ध जाति र धर्मसँग सम्बन्धित रहे । विदेशीकै इच्छाशक्तिअनुरुप मन्दिर भत्काउने, जनै काट्ने, सँगै पढेका सहपाठी वाचनशिरोमणि नारायण पोखरेलको हत्या, १२ बुँदे सम्झौता यी सबै विदेशीका स्वार्थमा भएका काम मान्न सकिन्छ । नेपालमा जति आन्दोलन र घटना-परिघटना भए ती सबैमा अमेरिकी तथा भारतीय ‘रअ’का संयुक्त मिसन रहेको बुझ्न सकिन्छ । जसको परिणाम १२ बुँदेको मर्मविपरीत राजा ज्ञानेन्द्रको बहिर्गमन, धर्मनिरपेक्षता रहे । त्यसको पुष्टि भारतीय विदेशमन्त्री करणसिंहको पटक-पटकको राजा र प्रधानसेनापतिलाई दबाब दिनु रहेको थिए । समयको कालक्रममा आज देशमा सङ्घीयता र गणतन्त्र गनाइरहेको छ । जसमा युरेपियन युनियनको अर्बौं लगानी प्रष्ट छ । किनकि, विश्वका कैँयौँ मुलुक २७-२८ प्रतिशत इसाई धर्म मान्नेहरूको देश इसाई राष्ट्र बनेका छन्, नेपालमा झण्डै ९० प्रतिशत सनातन ओमकार परिवार रहेर पनि धर्मनिरपेक्ष राष्ट्र बनेको छ । यस्ता धेरै सन्दर्भ छन् । जसका कारण राष्ट्रियता नै धरापमा परिरहेको छ । जसलाई निम्न उपशीर्षकमा चर्चा गर्न सकिन्छ :

विदेशमुखी गणतन्त्र र संविधान

२०६२/६३ को जनआन्दोलन र १२बुँदे दिल्ली सम्झौताको बलमा स्थापना भएको गणतन्त्र भनियो । संविधान बन्यो तर सत्य त्यो न भएको प्रष्ट हुन्छ । किनकि, जनताको अभिमत लिन गाउँ-गाउँ पुगेका सभासद्ले संकलन गरेका सुझाव नै हराएका थिए । त्यसरी हराउनुमा नेपालका माउ पार्टी भन्नेहरू नै विदेशीको हालीमुहालीमा रमाइरहेका थिए । अन्यथा जनताले हिन्दू राष्ट्र हटाउने र राजसंस्था फाल्ने राय बहुमतले दिएकै थिएनन् । ६०१ को बलमा जनताको मतको अवमूल्यन गरियो । संविधान नै सङ्घीयता धर्मनिरपेक्ष र गणतन्त्रात्मक व्यवस्थालाई कमजोर बनाउन आयातीत थियो । सोहीअनुरुप देशमा रामरमिता चलिरहेको छ । नेपाली दिदीबहिनी र बालबालिकाको अस्मिता जोगाउन सकिएको छैन । नेपाली विदेश गएर दास बन्नु पर्नेमा कमी आएन, जनताको दैनिकी, आयस्रोत, व्यापार व्यवसाय फस्टाउन सकेन । बरु भयो त के प्रगति भने, जनता असुरक्षित, बलात्कारको घटना वृद्धि, नेताहरू नै तस्कर, लुट, भ्रष्टाचार, हत्या हिंसामा लाग्न थाले । नेता, पार्टी, सरकार र सत्तामा माफियाको जालो मौलायो । नेताहरू कुकुर बिरालोको झगडामा हराउन थाले । सिंहदरबार गाउँ-गाउँ पुगे पनि नेपालीको एकता र नेपाली मन भाँडियो । निर्मला हत्याकाण्ड, ३३ किलो सुन बेपत्ता, रातो चन्दन, लाउडा प्रकरण, वाइडबडी, ओम्नी, यति होल्डिङ, बालुवाटार जग्गा काण्ड जस्ता अनगिन्ती उपहार जनताले पाए । त्यसैले यो विदेशी गणतन्त्र र संविधानले देश र जनतालाई के दियो नेपाली जनताले खोज्नुपर्ने भएको छ ।

विदेशमुखी नेपाली राजनीति र नेता

यतिबेला नेपालको राजनीति गलत बाटोबाट अगाडि बढिरहेको छ । यसको मुख्य कारण पार्टीभित्र विदेशी बिचौलियाको राज रहनु हो । विदेशी प्रभुहरूले पटक-पटक पार्टी बनाउ, पार्टी फुटाउ, नेता बनाउ, मन्त्री बनाउ, हटाउ रिमोर्ट चलाइरहेका छन् । यसैले नेपालको राजनीति विदेशी नेता र माफियाको साम, दाम, दण्ड, भेदको जालोमा घुमिरहेको छ । परमादेशबाट प्रधानमन्त्री बन्नु, दुई-दुई ठाउँबाट हारेको नेता प्रधानमन्त्री बन्नु, हारेका नेता चोर बाटोबाट संसद् छिर्नु र मन्त्री पद पाउनु, टोलेगुण्डालाई पार्टीका कार्यकर्ता, नेता र मन्त्री बनाइनु यसका ज्वलन्त उदाहरण हुन् । कार्यकारी प्रधानमन्त्री, मन्त्री र शीर्ष नेता भन्नेहरूका ओछ्यानसम्म विदेशी गुप्तचर विभाग प्रमुख पुग्नु र देशका कार्यपालिका व्यवस्थापिका न्यायपालिका ध्वस्त हुनुले त्यही जनाउँछ । अब बाँकी रहेका नेपाली सेनालाई ध्वस्त बनाउन साँठगाँठ गरिरहेको देखिन्छ ।

जनतालाई हिजोसम्म न्यायपालिकाप्रति विश्वास थियो । नागरिकता, चुरे दोहन, बहुराष्ट्रिय कम्पनीका खेलाडीलाई सत्ताच्युतका केही फैसला देश र जनताका पक्षमा थिए । अब प्रधानन्यायाधीशले राजीनामा दिए पनि र नदिए पनि कुनै फरक छैन, किनकि विदेशी डिजाइनमा न्यायालयमाथि प्रहार भइरहेको छ । अब आउने प्रधानन्यायाधीश अहिलेका भन्दा खराब, पार्टीको झोले र विदेशीको गुलाम आउने पक्का छ । उनीहरूकै डिजाइनमा सबै सरकारी निकाय काम गर्न नसक्ने बनाएर विघटनतिर लैजाने देखिन्छ । अबको प्रहार केही मात्रामा बचेको नेपाली सेनामाथि हुने निश्चित छ । नेपाली सेनाभित्र विदेशी गुप्तचर घुसिसकेका छन् जसले सेनालाई देश र जनताबाट कटाउने कोसिस गरिरहेका छन् । अब नेपाली सेनाले यो बुझ्न आवश्यक छ कि सेनाको संगठनले देशलाई बचाउन गम्भीर कदम चाल्नु अपरिहार्य भइसकेको छ । राज्यका सबै निकायलाई विघटनतिर लैजाने, देशलाई असफल राष्ट्र घोषणा गर्ने, युएन सेना भित्र्याउने योजना बाह्यशक्तिको रहेको बुझ्न सकिन्छ । एमसीसी पास गरे पनि फिर्ता गरे पनि विदेशी योजना नेपाल बिसर्जनतिर लाने, देश भित्र युद्द गराउने नै रहेको छ ।

जनतालाई सेवा सुविधा दिने निकायमा पार्टीका झोले कार्यकर्ता बस्दा जनताले निष्पक्षताको आशा गर्नु मुर्खताबाहेक केही हुन सक्दैन । देशको अर्थतन्त्र असफलताको बाटोमा छ । एमसीसी उपाध्यक्षलगायत अमेरिकी कुटनीतिज्ञहरू नेताका कोठा-कोठामा पुग्नुमा नेताको ‘लम्पसारवाद’ले काम गरेको छ । नेपाली नेतामा लेन्डुप दोर्जे प्रविधिको विकास हुनु नेपाल सिध्याउने बाटो हो । अहिले भारत, अमेरिका र युरोपियन युनियनहरू नेपाललाई सिध्याउने मिसनमा एक छन् । इन्दिरा गान्धीले सिक्किम निलेजस्तै निल्ने योजना पूरा हुन नसकेपछि लाखौँ गैरनेपालीलाई नागरिकता दिलाएर ‘नेपाली’ बनाउने मिसन जारी नै छ । युरोपियनहरू देशको धर्म, संस्कृति सिध्याउने, पश्चिमालाई नेपाल प्रवेश गराएर चीनलाई काउन्टर दिने, नेपालका बहुमूल्य खनिज पदार्थमा एकाधिकार जमाउने ध्यानमा रहेका छन् । त्यसैले प्रत्येक सचेत नेपालीले देशको बारेमा चिन्ता गर्नु आजको आवश्यकता हो ।

संसद्बाट एमसीसी पास गराउन रोइलो गर्ने, देशभित्रको खर्बौैं रुपैयाँको भ्रष्टाचार रकम नदेख्नुका पछाडि सबै विदेशीको चलखेल रहेको प्रष्ट हुन्छ । सीमित भूगोल र जनसङ्ख्या भएको हाम्रो जस्तो देशमा सङ्घीघयताले देश झन् खोक्रो भइरहेको छ । हजारौ सांसद् मन्त्री र तिनका आसेपासेलाई पाल्नु, पहिलो बैठकमै सांसद एवम् मन्त्रीका सेवासुविधामा बजेट विनियोजन गर्नु, पार्टीका भर्तीकेन्द्र खोल्नु, देशको ८० प्रतिशत बजेट सांसद, कर्मचारी पाल्दैमा सक्ने अनि समृद्धिको नारा लगाउनु जस्तो पाखण्ड अरु केही हुँदैन ।

नेपालमा पार्टी राजनीति चलाउन विदेशमा पार्टी जन्मेर नेपालमा दर्ता हुन्छन् । त्यसका पछाडि ती सबै तिनैको लगानी र इसारामा विदेशी मिसेनरी परिपाटीमा अगाडि बढ्दै जान्छन् । सडक दुर्घटना हुँदा राष्ट्रघात देख्छन् । एमसीसीमा राष्ट्रवाद देख्छन् । अफगानिस्तानबाट अमेरिका २० वर्षपछि फर्केको बिर्सन्छन् । राष्ट्रको ढुकुटीमा मनपरी गर्छन् विदेशीको अनुदानमा ¥याल काढ्छन् । सांसद, मन्त्री हुँदा चार-पाँच वटासम्म गाडी सुविधा लिन्छन् । आसेपासेलाई भर्ति गर्दछन् । पार्टीलाई एनजीओ, आइएनजीओ सरह उनैले चलाएकाले आज नेपालका राजनीतिक पार्टी नेपाली पार्टी जस्ता भएका छैनन् । नेपाली जनतालाई भुलभुलैयामा पारेर राष्ट्रियताको कुरा गर्न लगाउँछन् । देशको सीमा मिचिएको निष्कर्ष निकाल्छन् । नक्सा बनाउँछन् पाठ्यक्रममा राख्न सक्दैनन् । छिमेकी राष्ट्रले मिचेको हजारौँ वर्ग किलोमिटर नेपाली भूभागका बारेमा बोल्न सक्दैनन् । विभिन्न बहाना बनाएर जनता अल्मल्याउँदै पश्चिमाको रजगजमा रमाउन खोजिरहेका छन् ।

सङ्घीयतामा बनेका विभिन्न सरकारमा अहिले रामरमिता छ । दुई तीन महिनामा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, राजदूत फेरिइरहेका छन् । पालोपालो उनीहरूले आफ्नो सात पुस्ता सपारिरहेका छन् । नेपाल र नेपालीको भाग्यका कालो धब्बा लगाइरहेका छन् । नेपालका राष्ट्रवादी नेपालीले चिन्दैनन् विदेशीले पत्ता लगाउँछन् र ती स्वाभिमानी नेपालीलाई कि मारेका छन्, कि मर्न बाध्य पारेका छन् । न्यायालयमा हस्तक्षेप गरेर सर्वोच्चमा लडाइ गराएर आफ्नालाई चोख्याउन खोजिरहेका छन् ।

विदेशमुखी स्वस्थ्यसेवा

जनता सिटामोल नपाएर छटपटीमा छन् । नेताहरू तिनै जनताको रगत पसिनाबाट सिंचित करमा राइँदाइँ गर्दै विदेश धाएका छन्, उपचारका नाममा अर्बौं सकेका छन् । जनतालाई राहतका नाममा अगाडि सारेको स्वास्थ्यबीमाबाट बीमाको कागज पाउँछन्, अनलाइनमा सेवा र सुविधाको लामो लिष्ट भेटाउँछन् । बल्लबल्ल अस्पतालमा उपचार पाए औषधि पाउँदैनन् । सिंहदरबारमा रहेको एक मात्र सरकारी वैद्यखाना अन्तिम सङ्घर्षमा बाँचेको छ । त्यसको संरक्षणमा ध्यान छैन, विदेशी औषधि निर्यातलाई सहजीकरण गरिरहेका छन् । जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिनुपर्ने राज्यको कर्तव्यमा नेताको विवेक पुगेको छैन ।

विदेशमुखी शिक्षा

नेपाली माटो सुहाउँदो नेपालीपन, नेपाली मन र नेपाली संस्कारसहितको वैज्ञानिक शिक्षा प्रणाली विस्थापित भइसकेको अवस्था छ । ऋषिमुनिले प्रतिपादन गरेका वेद पुराण जो विज्ञान सम्वद्ध, समाज र समाजवादसँग जोडिएका सन्दर्भको सम्मान छैन । नेपालको समाजवाद छोडेर हामी विदेशीको साम्राज्यवादतर्फ आकर्षित छौँ । संस्कृत र नैतिक शिक्षालाई विस्तापित गरेर नैतिक हरामहरू जन्माइरहेका छौँ । संस्कार मासिरहेका छौँ । विदेशी शिक्षालाई मूल बनाएर गर्व गरिरहेका छौँ ।

निःशुल्क शिक्षा दिनु राज्यको दायित्व हो तर सरकारी विद्यालय पार्टीका कार्यालय जस्ता बनाएर दिनप्रतिदिन निजी क्षेत्रका विद्यालयको सङ्ख्या बढाइएको छ । किताबको भारीले किचिएर छोराछोरीले नेपाली संस्कार सिक्न पाएका छैनन् । नैतिकताको गन्ध सुँघ्न पाएका छैनन् । नेताको छोराछोरीले पढ्नलायक विद्यालय यहाँ नभएर होला उनीहरू विदेश जान्छन् । जुन शिक्षाले न उनीहरूले नेपाल र नेपालको भूगोल चिन्छन्, न नेपालको माटो, माटोमा फल्ने-फुल्ने अन्न र फलफुल नै चिन्छन् । यहाँका नदीनाला, झरना, खोला, जडीबुटी, हिमाल, पहाड, तराई, चिनाउँदैनन् र हाम्रा पुर्खाको गौरवलाई सम्मान दिन सिकाउँदैन । यसले न नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाह, न द्रव्य शाह नरभूपाल शाह, राम शाह न भक्ति थापा, अमरसिंह, भानुभक्त, जनक, जानकी, सीता, मानदेव, लक्ष्मीप्रसाद देवकोटा चिनाउँछन् ! उनीहरू नेपालमा जन्मेर पनि नेपाल चिन्न चाहन्नन् । विदेशीको गुलाम बन्न रुचाउँछन्, घरको चौतारीको रुख काटेर क्रिसमस ट्री मा रमाउन चाहन्छन् ।

विदेशमुखी संस्कार, संस्कृति

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले सबैलाई आफ्ना कुल धर्ममा रहन भनेका थिए । जसलाई देशको गहना सम्झेर रक्षा गरेका थिए । आज सनातन संस्कारमा देश चलाउन नसक्नुका पछाडि विदेशमुखी धर्म, संस्कार र संस्कृतिको प्रभाव देखिन्छ । सनातन संस्कारसँग राष्ट्र र राष्ट्रियता जोडिएको हुन्छ । जब राज्यले त्यसको संरक्षण गर्दैन तब उसमा नैतिकता हुँदैन, जब नैतिकता हराउँछ तब उ कुकर्मका पछि लाग्छ । अहिले नेपालमा त्यही भइरहेको छ ।

नेपालको धर्म, संस्कार र संस्कृति नेपालको माटो सुहाउँदो भएकाले हाम्रो एकतालाई बाँँधेर राखेको थियो । त्यसैले आजसम्म देश सग्लो नेपाल थियो । तर आज देश सिध्याउने योजनाधारीले सनातन धर्ममाथि प्रहार गर्दै नेपाली एकतालाई खलबल पु¥याइरहेका छन् । कहिले गाईको पिसाब मुखमा, दूध नदीमा, मन्दिरमा भनेर खिल्ली उडाइरहेका छन् । स्वस्थानीका पाना च्यात्नुपर्छ भनिरहेका छन्, टपरेबाहुनका जनै काट्नुपर्छ भनिरहेका छन् । जसको तात्पर्य जनतालाई कसरी विभाजित गर्न सकिन्छ भन्ने चलखेल नै हो । सोही कारण कहिले धर्मको नाममा, कहिले जात, भाषा, भूगोल, वर्णविन्यास, एम्बोस्ड नम्बरका नाममा चलखेल गरिरहेका छन् । त्यसैको परिणाम ९० प्रतिशत सनातन धर्म संस्कार संस्कृति अपनाउने नेपालीका माझमा सात हजार हाराहारीमा मठ, मन्दिर र १४ हजार हाराहारीमा चर्च निर्माण भइसकेका छन् । झोलामा बाइबल र बोलीमा देशभक्तिको गाथा गाइरहेका छन् । यसैले विदेशीको इसारामा संस्कृत बढाउने शिक्षक, पण्डित मार्ने, विद्यालय फोर्ने, बन्द गराउने, मन्दिर भत्काउने, गुठीको विरोध, मौलिक पर्वका बिदा कटौटी गर्ने, राजसंस्थाका शालिक फोर्ने फुटाल्ने जस्ता कर्म मौलाइरहेका छन् ।

निचोड र निचोड :

विदेशीको भलाइ र नेपालीलाई तहसनहस तुल्याउने योजनालाई सहयोग पुऱ्याउन पालिएका र बाँचेका वर्तमानका नेताबाट नेपालको राष्ट्रियता जोगिन । यी सबै विदेशीका दास बनेका छन् । जब देश नजोगिने ठाउँमा आइपुगेको छ भने नेपाली जनता सुरक्षित हुँदैनन । दिन-प्रतिदिन भारतीय सीमामा नेपाली जनताले विभिन्न दुख झेल्नुपर्ने, ठगिनु पर्ने, तुइन काटिएर मर्नुपर्ने, लगाएको अन्नबाली लुटाउनुपर्ने, गोलीको शिकार बन्नुपर्ने नेपालीको नियति बनेको छ । यसको विरोधमा प्रतिवाद गर्नुपर्ने नेता र सरकारले आफ्नो भूमिमा जनगणना गर्नसमेत अर्को देशलाई सोध्नुपर्ने बताउँछ । यो सब विदेशीप्रभुको मानसिकताको पाखण्डपन हो । हामी तिनै विदेशीको योजनामा घुमेका छौँ । यति हुँदा पनि यिनको नियत बुझ्न नसकेको बहाना गरिन्छ भने राष्ट्र र राष्ट्रियता रहन्न । अब हामीले गल्ती दोहोऱ्याउने काम गर्नु हुँदैन । विदेशीका योजनामा वर्षौंको प्रयासबाट नेपालमा रहेको बलियो शक्ति राजसंस्था ढालियो तर ज्ञानेन्द्र राजगद्दीविहीन भए पनि राजसंस्था मरेको छैन । अब विदेशीको योजनालाई काउन्टर दिने शक्ति भनेकै राजसंस्था देखिएको छ । यसैले राष्ट्रियताका मुद्दामा तत्काल सच्चा राष्ट्रवादी पार्टी, सामाजिक अभियन्ता र सम्पूर्ण जनता एक भएर उभिन आवश्यक छ ।

विदेशीको छत्रछायाबाट केही भए पनि आजसम्म स्वतन्त्र रहेको नेपाली सेनाले राष्ट्रवादी मोर्चालाई साथ र समर्थन दिएर देश बचाउने अन्तिम घडी आएको छ । यो बेला हामी जाति-जातिका नाममा विष बमन गर्ने, धर्मको नाममा घृणा फैलाउने होइन । आज देश नै इतिहासकै कठिन मोडमा उभिएको अवस्थामा नेपालीको पहिचानसहित नेपाल बचाउने जिम्मा राष्ट्रभक्त नेपालीको काँधमा आएको छ । यसैले नेपाल आमाको आँसु पुछ्न हामी अगाडि बढ्नैपर्छ । जय मातृभूमि !