‘राजा’मार्फत् नेपाली फिल्ममा राज गर्ने तयारीमा राज कटुवाल

‘राजा’मार्फत् नेपाली फिल्ममा राज गर्ने तयारीमा राज कटुवाल


राज कटुवाल यसअघिका प्रोजेक्टको तुलनामा यस पटक निकै रोमान्चित छन् । बिहानै उठ्छन्, समयमै सुत्छन् । नियमित जिम धाउँछन् । खानपानमा पहिलाभन्दा अझ धेरै ध्यान दिएका छन् । ‘एक्स नाइन’मा अनुबन्धित भएदेखि राजको दैनिकी परिवर्तन भएको छ । एक्स नाइनको तयारी गरिरहेका राजलाई निर्देशक सुदर्शन थापाले सिनेमा ‘राजा’मा अनुबन्धित गरेपछि झन् राजको सम्पूर्ण ध्यान यसैको वरिपरि मात्र छ ।

राजाको बारेमा राज भन्छन्– ‘सिनेमाको कथा र मेरो भुमिकाअनुसार यसमा धेरै मिहेनत गर्नुपर्ने छ । राजामार्फत केही फरक भूमिकामा सिनेमा हलमा भेटिनेछु ।’

चलचित्र ‘राजा’ बजेटका हिसाबले मात्रै होइन, एक्सन प्रधान र लभ स्टोरीका हिसाबले पनि लोभलाग्दो छ ।

यो सिनेमाको पूर्ण स्टोरी राजकै वरिपरि रहनेछ । उनले भने, ‘कम्तिमा सिनेमा हेरिरहेका दर्शकलाई २ घण्टा हलमा बाध्नुपर्नेछ । एक्सन, लभ, मनोरन्जनदेखि हरेक कुराले दर्शकलाई हलमा बसाइराख्नका लागि मेरो मिहेनत एकदमै अपरिहार्य छ । ’

सुदर्शन थापाको निर्देशन तथा परशुराम बस्नेतको निर्माणमा बन्ने यो सिनेमामा राज लभ तथा एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् । उनको यो भूमिकालाई दर्शकले मन पराउनेमा उनी विश्वस्त छन् ।

राजले भने, ‘यसअघि दर्शकले मलाई राम्रोसँग नोटिस गर्न पाउनुभएन । किनभने अघिल्ला प्रोजेक्टमा कलाकारहरू पनि धेरै थियौँ । सोचेजस्तो स्क्रिप्ट पनि भएन । अब यसपटक राज राजा बन्ने अथवा नबन्ने निर्णायक भूमिकामा काम गर्दैछु । पक्कै पनि सफल हुनेछु ।’

मकवानपुरको हेटौँडामा जन्मिएका राज यस्ता अभिनेता हुन् जसले नेपाली सेनाको लोभलाग्दो जागिर छाडेर मोडलिङमा प्रवेश गरेका हुन् ।

अंकगणित रूपमा हिसाब गर्दा राज मोडलिङ सुरु गरेको १० वर्ष भयो । यसबीचमा उनले बिजनेश स्टार्ट गरे । अभिनय क्लास लिए । केही सिनेमामा काम गरे । तर, अहिलेसम्मको सबैभन्दा आशा गरिएको र भविष्य कुन बाटोमा जाने त्यो ‘राजा’ चलचित्रले गर्ने उनी बताउँछन् ।

उनले काम गरेका सिनेमा लालटिन, संरक्षण, लीला हुन् । यी सिनेमापछि उनी चौथो प्रोजेक्टमा काम गर्दैछन्, तर यसलाई उनी आफ्नो ‘डेब्यु सिनेमा’ भन्न रुचाउँन् । भाषागत रूपमा भन्दा त यो चौथो प्रोजेक्ट भन्नुपर्छ । उनी भन्छन्, ‘स-साना भूमिका र दर्शकले नोटिस नगर्ने भूमिकालाई डेब्यु भन्न मिल्दैन । एउटा अभिनेताको रूपमा भन्नुपर्दा ‘राजा’ नै मेरो डेब्यु फिल्म हो, यो सिनेमापछि मेरो यात्रा सुखद् रहने अपेक्षा गरेको छु ।’

चलचित्र ‘राजा’ लभ तथा एक्सन विधामा निर्माण हुँदैछ । लभ स्टोरी सिनेमा बनाउन माहिर मानिएका निर्देशक सुदर्शन थापाले राजलाई राजा बनाउन निकै मिहेनत गरिरहेका छन् । स्क्रिप्ट राइटर शिवम् अधिकारीले राजको क्यारेक्टर मजबुत गराउन हरसम्भव लागिरहेका छन् । आगामी माघबाट छायाङ्कनमा जाने गरी सिनेमाको काम भइरहेको छ ।

सुदर्शन थापाको निर्देशन तथा परशुराम बस्नेतको निर्माणमा बन्ने यो सिनेमामा राज लभ तथा एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् । आफ्नो यो भूमिकालाई दर्शकले मन पराउनेमा राज विश्वस्त छन् ।