‘ज्योमो गाङ फिल्म अवार्ड’को दोस्रो संस्करण क्यालिफोर्नियामा आयोजना गरिने

‘ज्योमो गाङ फिल्म अवार्ड’को दोस्रो संस्करण क्यालिफोर्नियामा आयोजना गरिने



आगामी २०७९ वैशाख १ गते अमेरिकाको क्यालिफोर्नियामा ‘ज्योमो गाङ फिल्म अवार्ड’को दोस्रो संस्करण आयोजना गरिने भएको छ । हुकुम मल्टीमिडिया प्रा.लि.द्वारा काठमाडौंको बौद्धस्थित याङ्ग्रिमा हिल सिटी होटलमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

नेपालको आदिवासी जनजाति मातृभाषामा निर्माण भएका चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ हुकम मल्टिमिडिया प्रा.लि.ले विगत केही वर्षदेखि ज्योमो गाङ फिल्म आवार्डको आयोजना गर्दै आएको छ । कम्पनीले गत ०७६ माघ ८ का दिन थाइल्याण्डको पटैयामा पहिलो पटक ज्योमो गाङ फिल्म आवार्ड भब्यताका साथ सम्पन्न गरेको थियो ।

प्रत्येक वर्ष निरन्तर अवार्ड आयोजना गर्दै जाने कम्पनीको लक्ष्य रहे पनि विश्वब्यापी महामारीको रुप लिएको कोभिड-१९ का कारण पछिल्ला वर्षमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘अब बिस्तारै चलचित्र निर्माण एवम् प्रदर्शनका साथै फिल्मसम्बन्धी विभिन्न गतिविधिहरू चलायमान हुँदैछन् । अब सबैतिर सक्रिय गराउँदै चलचित्र क्षेत्रलाई चलायमान बनाउनु आवश्यक छ’- हुकुम मल्टीमिडिया प्रा.लि. का अध्यक्ष धनबहादुर बम्जन ‘डीबी’ले भने । अध्यक्ष बम्जनले नेपालका सम्पुर्ण आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मीहरूलाई चलचित्र उपलब्ध गराइ सहयोग गरिदिन आह्वान पनि गरे ।

पत्रकार सम्म्लेनमा बोल्दै कलाकार संघका पूर्वमहासचिव एवम् अभिनेत्री सरिता लामिछानेले अवार्ड निष्पक्ष हुनुपर्नेमा जोड दिइन् । त्यसैगरी वरिष्ठ चलचित्र निर्देशक ऋषि लामिछानेले यस्तो खालको अवार्डले जनजातिको संस्कार जोगाउन थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले यस्ता अवार्डले मातृभाषाको रक्षार्थ सहयोग पुग्ने बताए भने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फिल्म टुरिजममा जोड दिन सरकारसँग आग्रह गरे ।

यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले चलचित्र हेर्नका लागि हलमा पुग्न दर्शकहरूलाई आग्रह गर्दै सिनेमा हलहरू सेफ जोनमा रहेको दाबी गरे ।

कार्यक्रममा चलचित्र विकास बोर्ड, आदिवासी जनजाति चलचित्र महासंघ लगायत विभिन्न संघ-संस्थाको सहकार्य रहने बताइएको छ । अमेरिकाको स्थानीय व्यवस्थापनमा द वर्ल्ड नेपाल न्युज र ८८४८ पिक्चर्स डट कम लगायत विभिन्न संघ-संस्थासँग सहकार्य रहेको पनि सम्बद्ध पक्षले जानकारी दिएको छ ।

उक्त अवार्ड कार्यक्रममा उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, चलचित्र, निर्देशक, छायांकन, सम्पादनलगायत विभिन्न १३ विधामा अवार्ड वितरण गरिने बताइएको छ । आदिवासी जनजाति चलचित्र महांघ र हुकुम मल्टिमिडियाको कार्यालयबाट अवार्डसम्बन्धी फारम वितरण शुरु गरिएको छ ।