रेखा थापा हारेकी हुन् ?

रेखा थापा हारेकी हुन् ?


रेखा थापा चुनावी गणितमा हारेकी देखिए पनि उनी हारेकी होइनन्, बरु देशको विकृत राजनीतिलाई सङ्ग्लो तुल्याउने अभियानमा उनले सिँढी थपेकी हुन् ।

  • राजन घिमिरे

रेखा थापाले राप्रपाको महामन्त्री पदमा चुनाव हारिन् । तर चुनाव हार्दा पनि जित्नेको भन्दा हारेकी रेखाको चर्चा चुलियो । विजयी पात्रको चर्चा चुलिनुपर्नेमा पराजितको नाममा यति धेरै चर्चा किन चल्यो होा ? जिज्ञासा जाग्नु स्वभाविक हो ।

रेखा नेपाली सिनेमाकी सुपर स्टार हुन् । सायद जित्नेको तुलनामा हार्ने व्यक्तिको चर्चा र हल्ला बढी हुनुमा यही फ्याक्टरले काम गरेको हुनुपर्छ । यसबाहेक थप के पनि बुझ्नुपर्छ भने राप्रपामा रेखाको प्रवेश र उनको उम्मेदवारीलाई मिडिया र आमजनताले सकारात्मक रूपमा लिएका रहेछन् ।

सिनेमा क्षेत्रमा रेखाले कमाएको क्रेज, नाम, ख्याति र वजनलाई उनले निःस्वार्थ रूपले ‘राप्रपा’मा प्रवेश गराएकी थिइन् । तर उनको यो सत्प्रयत्न उनका प्रतिस्पर्धी र पार्टीभित्रको कुनै गुटलाई मन परेको थिएन । वर्षौं त्यो पार्टीमा हालीमुहाली गर्दै आएकाहरूको भीडमा छिरेर पार्टी र नेपाली राजनीतिलाई नयाँ उचाइ दिने अनि पार्टीमा तरङ्ग पैदा गर्न खोज्ने रेखाको सोच वा अवधारणा कतिपयका लागि अपाच्य भयो ।

रेखा राप्रपामा प्रवेश गर्ने समयदेखि नै त्यो पार्टीको एक समूहलाई तनाव शुरू भएको थियो । त्यसमाथि उनको उम्मेदवारीले त रातको निन्द्रा नै चोरेको थियो प्रतिस्पर्धीहरूको । किनकि, वर्षौंदेखि पार्टीमा रजाइँ गर्दै आएका व्यक्तिमा रेखाका कारण आफ्नो उपस्थिति र विरासत गुम्ने त होइन भन्ने त्रास पैदा भएको थियो । त्यसकारण रेखा राप्रपामा भित्रिएको मन नपराउनेहरूले रेखा थापा हराउ अभियानलाई विशेष प्राथमिकता दिएको स्पष्ट देखिन्थ्यो । मिडियामा रेखाको बारेमा गलत सन्देश प्रवाह गर्नेदेखि ‘नेपाली राजनीति कलाकारलाई के थाहा ?’ भनी हचुवा तर्क पेश गर्नेको जमात बढेको थियो । तर त्यसरी सामाजिक सञ्जालमा अस्वाभाविक तर्क सम्प्रेषण गर्न राप्रपाकै उच्च तहबाटसमेत अस्वस्थ कसरत गरिएको बुझिएको छ ।

अन्य पेशा, विधा र क्षेत्रमा उचाइ हात पारेकाहरू नेपाली राजनीतिमा आउनु पऱ्यो भनेर पार्टीमा रवाफ जमाइरहेकाहरूले त्यस्तो आह्वान गर्नुको तुक रह्यो त अब ? यही पार्टीको चुनावमा मतदान गर्न आएका मतदाताहरूलाई गणतन्त्र र राजतन्त्रको बारेमा रेखाको नाम मुछेर उनलाई हतोत्साही पार्ने काम शुरूमै भएको थियो ।

उनको बारेमा यस्ता कुरा गर्नेले के बुझ्नुपऱ्यो भने भाषणमा ठूलो कुरा गर्नेले आफ्नो कमाई हालेर सिनेमा निर्माणमार्फत रेखाले नेपाली समाज, नारी आवाज र नारी जागरणको क्षेत्रमा पुऱ्याएको योगदानलाई कसरी अवमूल्यन गर्न सके ? एक पटक रेखाका चलचित्रहरू पनि हेर्ने कि ? नयाँलाई पार्टीमा पुरानाले स्वागत गर्ने कि उल्टो उसको पेशा र विधा वा क्षेत्रलाई जोडेर खिल्ली उडाउने ? नयाँलाई समर्थन गर्नुको साटो आफ्नो भाग नै खोस्न आएको जस्तो ब्यवहार गरेता पनि पहिलो चुनावमा नै रेखाले इज्जतदार मत प्राप्त गरेकी छन् ।

आफ्नो जितभन्दा पनि अरूको हारमा रमाउनेहरूको संस्कारमा परिवर्तन नआएसम्म अनि आफू भन्दा चर्चित र वजनदार ब्यक्ति पार्टीमा आयो भने गलत सोच्ने र निषेधको राजनीति गर्ने सोच बन्द नभएसम्म त रेखा थापाहरू हारिइरहन सक्छन्, तर सत्यमाथि सधै पर्दा लागिरहन सक्दैन । एकदिन रेखा थापा जस्ता जुझारु पात्रले विजय हासिल गरेरै छोड्छन् ।

जसले अहिले रेखालाई पराजित गऱ्यो, उनको विगतमा चुनावी भीडन्त अरूसँँग पनि परेको थियो होला, तर उनले आज रेखासँग जोडिएका कारण जति चर्चा र ख्याति हासिल गरिन् त्यो सिङ्गो राजनीतिक जीवनमा प्राप्त भएको थिएन होला । आफ्नो प्रतिस्पर्धी बलियो हुनु पनि उनलाई फाइदा नै भयो । सिनेमामा छलकपट हुँदैन, ढाँट्नु पर्दैन, दर्शकहरूको मन जितेर नाम कमाउने हो, तर राजनीतिमा त ढाँट्नु जान्नुपर्छ । सिनेमामा नयाँलाई स्वागत र समर्थन गरिन्छ, तर राजनीतिमा नयाँको खुट्टा तानिन्छ र, उसलाई निरुत्साहित गरिन्छ । राजनीतिमा यस्ता तिकडम नजान्ने र जाने पनि गर्न नचाहने रेखा थापाले चुनावको गणितमा पराजय भोग्नु अस्वाभाविक होइन । यससको अर्थ यही हो कि राजनीतिलाई साँचो अर्थमा समाजसेवा ठानेर इमानदारीपूर्वक जनताको सेवा गर्न चाहनेहरूले अझै कैयन पटक पराजय ब्यहोर्नुपर्ने हुन सक्छ । किनकि यो देशको राजनीति फोहोर आहालबाट माथि उठ्न सकेकै छैन ।

अन्तमा यो भन्नैपर्छ कि रेखा थापा चुनावी गणितमा हारेकी देखिए पनि उनी हारेकी होइनन्, बरु देशको विकृत राजनीतिलाई सङ्ग्लो तुल्याउने अभियानमा उनले सिँढी थपेकी हुन् । अस्तु ।