‘आफ्नै परिवारलाई माया गरौँ, खुशीले बाचौँ !’

‘आफ्नै परिवारलाई माया गरौँ, खुशीले बाचौँ !’


पुरुषले यो सोच्दैन कि यस्ता क्रियाकलापले आफ्नै घर बिग्रिन्छ । समय बित्दै जाँदा घरकी श्रीमतीले श्रीमानको बदलिएको व्यवहार महसूस गरी प्रश्न उठाउन थाल्छिन्, यसवापत उनले कुटपिट तथा अनेक प्रकारका हिंसाको सामना गर्नुपर्छ । अनि पीडक पुरुषले आफ्नो घरमा बालबच्चा र श्रीमतीसँग, यहाँसम्म कि आमाबुबालाई पनि समय दिन छोडदछन् ।
  • चन्दन झा

देशको राजधानी काठमाडौं होस् या मुलुकका अन्य जुनसुकै भाग, महिला र पुरुषबीचको विकृति समान छ । खासगरी महिला पुरुषबीचको अबैध सम्बन्धले कैयनको घरबार नै उजाडेको छ । ४० वर्ष कटेका पुरुष र टीनएज पार गरेकी युवतीदेखि ४० वर्ष आसपास उमेरसम्मका महिला एकआपसमा रमाएर धैरैको घरबार उजाडेका छन् । एक्काइसौँ शताब्दीमा पनि यस्तो कुसंस्कार बढ्दो छ ।

कतिपय महिला परपुरुषसँग सम्बन्ध गाँसेर अनिच्छित गर्भधारण गरी बच्चा जन्माउन पुग्छिन् तर त्यो बच्चाको बाबुको अत्तोपत्तो हुँदैन । न ती महिलासँग जिविकोपार्जनका लागि कुनै रोजगारी हुन्छ न त त्यो पुरुष फेरि कतै सहजै भेटिन्छ । बिचल्लीमा उनीसँगै उनले पाएको अवैध नानी–बाबुसमेत पर्न जान्छ । आफू र आफ्नो बच्चाको पेट पाल्न यस्ता महिलाले स्वभावतः सहारा खोज्न थाल्छिन् । विवश भइ उनीहरू क्लब, डान्सवार, रेष्टुरेन्ट, होटल र खाजाघरतिर काम गर्न बाध्य हुन्छन् । जीविकोपार्जनका लागि यसरी महिलाहरू कुलतमा फस्न पुग्छन् ।

पुरुष युवाले युवतीलाई साथी बनाएर नजिक हुन खोज्छ भने ४० वर्ष पार गरेका पुरुषहरू घरमा जहान–परिवार हुँदाहुँदै बाहिर रमाउन खोजिरहेका हुन्छन् । घरमा उनको परिवार र बच्चाहरूलाई काठमाडौ जस्तो ठाउँमा बस्न पैसा चाहियो, अब उनीहतले के गर्ने त ? उनीहरू ४० वर्ष कटेका पुरुष खोजिरहेका हुन्छन् जो पैसाले परिपूर्ण होस् । उता त्यो नानी या नानीका आमा फेसबुक, जीम, क्लब, रेस्टुरेन्ट खोजिरहेका हुन्छन् । युवाहरू पनि त्यस्तै भर्खरका युवती या सौताको पीडा झेलिरहेका नारी या श्रीमान् नभएका नारीहरू जो आत्मनिर्भर रहेका हुन्नन्, सहाराको खोजीमा बसिरहेका हुन्छन्, त्यस्ताको खोजीमा हुन्छन् । एक दिन भेट्यो, अर्को दिन भेट्यो, यस्तो गर्दागर्दै माया बस्छ र हुनेखाने या धनाड्य पुरुषहरू घरमा टाइम नदिइ श्रीमतीलाई छोडेर अन्यत्र रमाउन थाल्छन् ।

पुरुषले यो सोच्दैन कि यस्ता क्रियाकलापले आफ्नै घर बिग्रिन्छ । उनीहरूलाई मोजमस्ती चाहिन्छ र त्यही नाबालक बालबच्चा या नारीहरूलाई घुमाउने, मोबाइल फोन किनिदिने लुगाफाटा, गरगहना किनिदिने, घर चलाउन पैसा र कोठाभाडा समेत तिरेर गोप्य तवरमा राखेका पाइन्छन् । समय बित्दै जाँदा घरकी श्रीमतीले श्रीमानको बदलिएको व्यवहार महसूस गरी प्रश्न उठाउन थाल्छिन्, यसवापत उनले कुटपिट तथा अनेक प्रकारका हिंसाको सामना गर्नुपर्छ । अनि पीडक पुरुषले आफ्नो घरमा बालबच्चा र श्रीमतीसँग, यहाँसम्म कि आमाबुबालाई पनि समय दिन छोडदछन् । श्रीमतीले ‘आजभोलि कति काम हुन्छ हजुरलाई ?’ भन्ने सवाल राख्दा अफिसमा कामको लोड धेरै छ या यस्तै बहानाबाजीयुक्त जवाफ फर्काउँछन् श्रीमानले । बिस्तारै श्रीमतीले गहिरो शंका गर्न थाल्छिन् । च्याटको म्यासेज, टीकटकका म्यासेज र फोनकलबाट श्रीमान्को कर्तुतबारे जानकारी पाउँछिन् । घरमा तनाव सिर्जना भइरहेको हुन्छ ।

श्रीमतीहरूले पनि के गरुन् ! बाबाआमाको इज्जत जाला भन्ने त्रास र जुन समाजमा बसिरहेकी हुन्छिन्– त्यो समाजले कस्तो नजरले हेर्ला भनेर पीडा लुकाइ बस्न बाध्य हुन्छिन् । आफूसँग कमाइधमाइ गर्ने कुनै उपाय छैन अनि के गर्ने ? अब सहेर बसौँ भने आफूलाई पीडा उता दिनरात झगडा र तनाव हुन थाल्छ । परिणामस्वरुप श्रीमती डिप्रेसनको सिकार हुन पुग्छिन् र औषधि सेवन गर्नुपर्ने अवस्था आइपुग्छ । एउटा महिला जन्मस्थान छोडेर आमाबुबाको साँचो माया र भाइबहिनीको प्रेम छोडेर आएको हुन्छ । त्यही श्रीमानसँग बिहे गरेर माया र प्रीतिको अग्नीसाक्षी राखेर आएको हुन्छ, तर अब उसको विकल्प हुन्छ मर्नु कि बाँच्नु ! बच्चाहरूको बिचल्ली हुने डर रहन्छ र, अब के गर्ने त भनेर डिप्रेसनतिर जान लाग्छिन् ।

उता श्रीमानले अब घर नै बिग्रियो भनेर भरखरका गर्लफ्रेण्ड वा परस्त्रीलाई छोडेर घरतिर समय दिन थाल्छन् । तर, बरालिएका युवा या पुरुषहरूकोे लहैलहैमा बहकिन पुगेकी या सौतामा आएकी युवतीहरूले मेरो त बाबाआमा कोही हुनुहुन्न अब मैले के गर्ने भनेर युवाहरूलाई धम्काइरहेका हुन्छन् । किनकि घरमा अबैध सम्बन्धको पटाक्षेपपछि आयस्रोत बन्द हुन थाल्छ अनि अब के गर्ने ? कोही त मर्छन् कोही भने बाध्यताले अबैध सम्बन्ध र अनैतिक क्रियाकलापतिर लाग्न बाध्य हुन्छन् । उनीहरूसँग शिक्षाको आभाव हुन्छ । त्यसैले गलत क्रियाकलापतिर जान खोज्छन् । होटेल, रेस्टुरेन्ट र डान्स बारतिर लागे खाना सित्तैमा खान पाइने, रसरङमा रमाउन पनि पाइने लोभमा परेर त्यता लहसिन पुग्छिन् । उनलाई यो थाहा हुँदैन कि अवैध सम्बन्धको दायरा बढाएपछि यसबाट भयावह रोगसमेत लाग्न सक्छ ।

के एउटा पुरुषले दुई वटा घर–परिवार बिगार्न पाउने त ? यस्तालाई सजाय दिने कानुन छ कि छैन हाम्रो देशमा ? श्रीमती र चेलीहरूको बाध्यता यही हो । मातेका पुरुषहका लागि पनि कानुन हुनुपर्छ यो देशमा । फेरि कुनै युवती वा महिला रेष्टुरेन्ट, खाजाघर, जिम, डान्सवार बाध्यताले जान नपरोस् । फेरि नयाँ केटासाथीको खोजी गर्नुपर्ने अवस्था नआओस् । उनीहरू त पैसा नभएर गलत धन्दा गर्न थाल्छन् र रमाउन थाल्छन् र सौयौँको घर-परिवार बिगार्न पुग्छन् । अनि उनीहरूको आफ्नो न घर हुन्छ, न परिवार हुन्छ, माया शब्द नै थाहा हुँदैन । पैसाको खाँचो हुन्छ । त्यसैले राज्यले गम्भीरताका साथ यस्तो पेशा बन्द गर्नतिर लाग्नुपर्छ । यस समस्याको व्यवस्थापनका लागि या त एरिया छुट्याइदिनुपर्छ । राज्यले यस्तो विकृतिमा जोडिनेहरूलाई कैदसजायको व्यवस्था गरिदिए विकृतिमा कमी आउन सक्छ । अन्यथा यो विकृति पूरै राज्यमा फैलिएर भयावह रुप लिन सक्छ । तसर्थ, आफ्नै परिवारलाई माया गरौँ र खुशीसाथ बाचौँ ।

(पङ्क्तिकार नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रिय सदस्य हुन् ।)