ढकालको नेतृत्वमा दमक चेम्बर अफ कमर्स गठन

ढकालको नेतृत्वमा दमक चेम्बर अफ कमर्स गठन



झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्वर अफ कमर्सको भगिनी संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डे लगायत केन्द्रीय पदाधिकारीको उपस्थितिमा राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो । चेम्वर अफ कमर्सको पहिलो साधरणसभाबाट अध्यक्षमा ढकाल, उपाध्यक्षमा अजय अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा चन्द्रमाया निरौला, कोषाध्यक्ष सन्दिप साहेवाला निर्विरोध निर्वाचित हुनुभएको हो । सदस्यहरुमा यम पाठक, मैयादेवी आचार्य, नबिन सेडाइँ शम्भुप्रसाद खतिवडा, राजकुमार गुप्ता र खेमनाथ सापकोटा निर्वाचित भएका छन् ।

पहिलो साधरणसभालाई उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भरमुखी अर्थतन्त्र बनाउने चेम्बरको अभियानमा सहयोग गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे । बाँझो जमिनको अधिकतम सदुपयोग गरेर उत्पादन वृद्धि र बजारीकरणमा जिल्ला कार्यसमितिले महत्वपुर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ । अध्यक्ष मल्लले भने- ‘अहिले पनि ३० प्रतिशत बाँझो जमिन छ सरकारले बजेटमा पनि जनिम बाँझो नराख्ने भनेर भनिरहेको छ । स्थानीय प्रशासनसंग सहकार्य गरि कृषि उपजको उत्पादन र बजारीकरणमा धेरै काम गर्न सकिन्छ यसका लागि चेम्वर स्थानीय व्यवसायीसंग सहकार्य गर्न तयार छ ।’

नवनिर्वाचित अध्यक्ष ढकालले स्थानीय आर्थिक श्रोतको पहिचान, उत्पादकत्व वृद्धि तथा बजारीकरणका लागि आफ्नो कार्यसमितिले काम गर्ने प्रतिवद्धता जनाए ।

दमक कार्यसमिति गठन भएसंगै नेपाल चेम्बर अफ कमर्सको नगर जिल्ला कार्यसमितिको संख्या १ सय १० पुगेको बताइएको छ ।