नेपाल इन्भेष्टमेण्ट बैंकको ३५औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल इन्भेष्टमेण्ट बैंकको ३५औँ वार्षिक साधारणसभा सम्पन्न



नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्नो ३५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग (काठमाडौं)मा शुक्रबार सम्पन्न साधारणसभा महामारीको स्थितिलाई मध्यनजर गर्दै भर्चुअल रुपमा सम्पन्न गरिएको थियो ।

साधारणसभामा आर्थिक वर्ष २०७७/७८ मा भएका बैंकका प्रमुख उपलब्धिहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

साधारणसभाको अध्यक्षता गरिरहनुभएका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए । १२.६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश प्रदान गरिने उनले जानकारी दिए ।

बताइएअनुसार यस वर्ष बैंकले रु ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १६८ अर्बबाट वृद्धि भइ १७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १४० अर्बबाट वृद्धि भइ रु. १६२ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुऱ्याउँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन- युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।