१,८४० मत हासिल गरी एमाले अध्यक्षमा ओली विजयी

१,८४० मत हासिल गरी एमाले अध्यक्षमा ओली विजयी



नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । खसेको कूल मत २,०९६ मध्ये अध्यक्ष ओलीलाई १,८४० मत प्राप्त भएको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा २,१५३ प्रतिनिधि रहेका थिए ।

यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा. भीमबहादुर रावलले २२३ मत प्राप्त गरेका छन् । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिटै परिणाम निस्किएको बताइएको छ ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् भने तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् ।

कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ । अध्यक्ष ओली गत नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।

महाधिवेशनको बन्द सत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो । उपाध्यक्ष पदमा हलमा प्रस्तुत भएको नामावली अतिरिक्त उम्मेदवारी दिएका भुसाल अन्य उम्मेवारका तुलनामा पछि परेका छन् भने एमालेको नयाँ केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक आजै सौराहामा हुने बताइएको छ ।