दाजु गुरुङको ‘लाई-सी’ सार्वजनिक

दाजु गुरुङको ‘लाई-सी’ सार्वजनिक



हङकङलाई कर्मथलो बनाएर साहित्य साधना गरिरहेका सङ्खुवासभा, खाँदबारीका दाजु गुरुङ (उपेन्द्रबहादुर कोरङ्गी) ‘लाई-सी’ नामक दोस्रो कथाकृति लिएर आएका छन् । कथाकार गुरुङको उक्त कथाकृति ‘लाई-सी’ बत्तीसपुतलीस्थित होटल तपसमा सभ्यता अनुसन्धान केन्द्रद्वारा शनिबार आयोजित समारोहमा साहित्यकार तथा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक गरे ।

कथाकार गुरुङको ‘लाई-सी’ कथाकृति सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यसअघि गुरुङको पहिलो कथाकृति ‘टाँकीका फूलहरू’ले आफूलाई अत्यन्त ठुलो प्रभाव पारेको उल्लेख गर्दै दोस्रो कृतिका रूपमा आएको ‘लाई–सी’ कथाकृतिले थप मोहित तुल्याएको बताए । उनले भने- ‘दाजुको पहिलो कथाकृति ‘टाँकीका फूलहरू’ पढेपछिमात्रै ‘लाई–सी’ पढ्दा यसभित्रका कथाहरूको स्वाद आउँछ भन्ने मलाई लाग्छ ।’ कथाकार गुरुङ फेदीबाट उठेको र आफ्नै मिहिनेतले यो ठाउँमा पुगेको बताउँदै उनका कथामा फेदीका मानिसका कथा समेटिएको विचार व्यक्त गरे । उनले ‘लाई-सी’ कथाकृति ‘टाँकीका फूलहरू’बाट परागसेचन भई जन्मिएको बताए ।

वरिष्ठ समाचोलक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राध्यापक केशव सुवेदीले कथाकार गुरुङको डायास्पोरिक कथाकृति ‘लाई-सी’भित्रका कथाहरू स्तरीय, जीवन्त र उत्कृष्ट रहेको तथा जति पढ्यो उति पढिरहूंँ झैँ लाग्ने बताए । उनले भने- ‘मैले अहिलेसम्म पढेका कथाकृतिमध्ये साँच्चै नै यस कृतिभित्रका कथाहरू बेजोड छन् । उत्कृष्ट छन् ।’

समालोचक ज्ञानु अधिकारीले ‘लाई-सी’ नाम सुन्ने बित्तिकै आफूमा उत्सुकता जागेको र पढ्दै जाँदा कथाहरू अत्यन्त सूक्ष्म र गहन पाएको बताइन् । उनले भनिन्- ‘कथामा मानिसका जीवनका मसिनाभन्दा मसिना कुराहरूलाई समेत सरल तर गम्भीर ढङ्गले प्रस्तुत गरिएका छन् । कथाहरू पढ्दै जाँदा कतै डायरी पढेजस्तो, कतै संस्मरण पढेजस्तो लाग्छ । कथाहरूमा कथाकारले हङकङको जीवन र परिवेशलाई सजीव किसिमले उतारेका छन् ।’

आख्यानकार बिना थिङले कथाकार दाजुले कथालेखनको पराम्परागत मान्यतालाई भत्काएको बताइन् । ‘लाई-सी’मा वैदेशिक रुपमा पलायन भएपछिको मानवीय कठिनाइ, प्रेम र आरोह अवरोहका साथै मानवीय संवेदना मुखरित भएको उनको कथन थियो । उनले प्रायः कथामा कथाकारले पुरुष पात्रलाई आदर्श पुरुषको रूपमा मात्रै उभ्याएको हुँदा कथाकारले आत्मसमीक्षा गर्नुपर्ने विचार व्यक्त गरिन् ।

डा. नवराज खतिवडाले ‘लाई-सी’भित्रका कथाहरूका बारेमा पावरप्वाइन्टका माध्यमबाट समीक्षा गरेका थिए । यसै गरी कार्यक्रममा नेपाल खुला विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा. इन्द्रबहादुर कार्की, मलेसियाका लागि पूर्व राजदूत उदयराज पाण्डे र सशस्त्र प्रहरी बल नेपालका पूर्व आइजीपी दुर्जकुमार राईले कथाकार दाजु गुरुङलाई बधाई तथा शुभकामना दिएका थिए । कथाकार दाजु गुरुङले आफ्नो कथालेखनका बारेमा बताएका थिए ।

सभ्यता अनुसन्धान केन्द्रका अध्यक्ष प्राज्ञ शशी लुमुम्बूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम गीतकार टीका चाम्लिङले सहजीकरण गरेका थिए ।