‘नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट’ आयोजना

‘नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट’ आयोजना



ललितपुरस्थित डीएभी सुशील केडिया विश्व भारती स्कूल र ‘संस्कृति भारत’को सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास (काठमाडौं)ले आइतबार ‘नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट’ आयोजना गऱ्यो ।

वरिष्ठ राजनीतिज्ञ तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरद्वारा उद्घाटन गरिएको कार्यक्रममा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र भारतीय दूतावासका प्रथम सचिव (प्रेस, सूचना र संस्कृति) नवीन कुमारको उपस्थिति थियो । प्रमुख अतिथिको रूपमा समारोहमा मन्तव्य दिँदै अध्यक्ष ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरू बीचको सदियौँ पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो । सो अवसरमा आफ्ना अभिव्यक्ति दिँदै प्रथम सचिव नवीन कुमारले भारत र नेपालका कलाकारहरूको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा भारतका चर्चित कलाकारहरू- गायिका डा. रञ्जना झा, नर्तकहरू सुश्री यामिनी शर्मा र सुश्री रिजुला मिश्र अनि नेपालका स्वजन रघुवंशी समूहले सुन्दर प्रस्तुति दिएर दर्शकहरूलाई मोहित पारेका थिए । भारत र नेपालका सीबीएसई स्कूलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रस्तुति दिएका थिए ।

यो कार्यक्रम भारतको स्वतन्त्रताको ७५औँ वर्ष मनाउन तथा स्मरण गर्न भारत सरकारको पहल, ‘आजादी को अमृत महोत्सव’कै एक हिस्सा रहेको सम्बद्ध पक्षको भनाइ छ ।