‘फिल्मी यात्रामा यसरी सिँढी चढ्दैछन् प्रवण

‘फिल्मी यात्रामा यसरी सिँढी चढ्दैछन् प्रवण


काठमाडौं नेपालको एउटा यस्तो शहर हो जहाँ नयाँ अवसरको खोजीमा भित्रने हजारौँ युवा छन् र नेपाली चलचित्रको बजारमा आफूलाई स्थापित गर्नको निम्ति मरिमेट्नेहरूको कमी छैन । नवप्रवेशीलाई त फिल्मको कुनै सिनमा पछाडि उभिन पाउनु पनि ठूलो कुरा हुन्छ । हो, दाङबाट काठमाडौं प्रवेश गर्दा प्रवण भुसालका लागि पनि यो ‘आकाशको फल’ जस्तै थियो । उनलाई त फिल्ममा प्रवेश कसरी पाइन्छ भन्नेबारे केही पनि थाहा थिएन । तर, भनिन्छ नि- भाग्यमा लेखिएको छ भने चुँडिएको चप्पलले पनि हिरा कुल्चिने सौभाग्य पाउँछ । प्रवण त्यस्तै भाग्यमानी व्यक्तिमा परे ।

चलचित्रमा अभिनय गर्ने तीव्र इच्छालाई पूरा गर्नका लागि उनले पहिले डान्स सिके, अनि विभिन्न स्टेज प्रोग्राममा डान्सर हुँदै मोडलिङमा प्रवेश गरे । कान्तिपुर टिभीबाट प्रशारण हुने ‘हत्तेरिका’ रोड शो हुँदै नेपाली चलचित्रमा नायकसम्म को यात्रा उनले तय गरे । नेपाली चलचित्र एके–४७ मा आफ्नो कलाकारिता विशेष तवरले प्रस्तुत गरेका प्रवणले उक्त फिल्मले आफूलाई नेपाली फिल्म क्षेत्रमा चिनाउने मौका प्रदान गरेको र यसैबीचमा उनले वान्टेड र सञ्जाल फिल्ममा पनि काम गर्ने अवसर पाए । तर दुर्भाग्यवश यी दुवै फिल्म रिलिज हुन सकेनन् जसले गर्दा उनको प्रतिभा चिन्ने अवसरबाट आम चलचित्रप्रेमी दर्शक वञ्चित रहे । तर पनि प्रवण आफ्नो यात्रामा निरन्तर लागिरहे ।

उनलाई लाग्यो, ‘पहिला मैले अभिनय सिक्नुपर्छ ।’ किनकि, त्यसअघि उनले कहिँ-कसैबाट अभिनय सिकेका थिएनन् । नेपाली फिल्ममा लामो रेसको घोडा बन्ने सोचसहित अभिनय सिक्दै उनले एक्टर स्टुडियोमा तीन महिनाको डिप्लोमा कोर्ष पूरा गरेपछि उनलाई चलचित्र ‘लुकामारी’ हात लग्यो र यही चलचित्रको ‘एन्टागोनिस्ट’ रोलको कारणले उनी सबैको नजरमा पर्न सफल भए र उनको अभिनयको पनि तारिफ भयो । नेपाली चलचित्र ‘मन्दिरा’मा अनुबन्धित भएका प्रवणले मन्दिरामा पनि नेगेटिभ नायकको भूमिका देखापरे र क्वालिटी इन्टरटेनमेन्ट अवार्ड-२०७८ मा चलचित्र मन्दिराबाट उत्कृष्ट खल-अभिनेता अवार्ड हात पर्न सफल भए त्यसैगरी कोराना कहरमै लैंगिक विभेदको विषयमा आधारित कथामा बनेको सर्ट फिल्म ‘द डटर’मा अभिनय गरे र ‘पिम नेपाल फिल्म फेस्टिभल-२०२१’ ‘सर्वोत्कृष्ट नायक’को अवार्ड जित्न सफल भए भने प्रवणअभिनित चलचित्र घनचक्कर नयाँवर्षमा प्रदर्शन हुँदैछ । यस चलचित्रमा पनि आफ्नो सशक्त भूमिका रहेकोले आफू धेरै नै आशावादी रहेको उनले बताए ।

फिल्म मात्र नभइ म्युजिक विडियो र दुई दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डमा सफल मोडेलको रूपमा उनले काम गरिसकेका छन् । नेपाल टेलिकम, स्ट्यान्डर चार्टर्ड बैंक, टीवीएस बाइक, बजाज बाइक, शिवम् सिमेन्ट, टुबर्ग बियर, कान्तिपुर पुब्लिकेसन लगायत दर्जनौँ विज्ञापनमा सार्थक कलाकारको रूपमा उनले काम गरेका छन् ।