माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्दै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्दै



नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज साँझ बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शुक्रबार बैठक बस्न लागेको हो ।

सो पार्टीका कार्यालय सचिव श्रीराम ढकालका अनुसार बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्नेछ । पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यकाबाहिर रहेका कारण भर्चुअलरूपमा बैठक बस्न लागेको उनको भनाइ छ ।

यतिबेला सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी कार्य पनि अघि बढाएको बताइएको छ ।

आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदैछ ।