महाधिवेशनले एमाले नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने दाबी

महाधिवेशनले एमाले नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने दाबी


फाइल फोटो


नेकपा (एमाले)को १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरिएको छ । सो पार्टीका सचिव प्रदीप ज्ञवालीले चितवनमा पत्रकारहरुसँग कुरा गर्दै पार्टीको अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् ।

अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुने तर केन्द्रीय सदस्यमा धेरै आकाङ्क्षी भएकाले मतदान हुने जानकारी दिँदै सचिव ज्ञावलीले केन्द्रीय सदस्य र अन्य कुनै एक/दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने बताए ।

महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न चितवन पुगेको जानकारी दिँदै नेता ज्ञवालीले महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने बताए । उनले भने, ‘२७ गते देशभरि र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ ।’ महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको पनि सचिव ज्ञवालीले जानकारी दिए ।

पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै उनले भने, ‘पालिका र जिल्लामा त्यस्तो समस्या छैन । केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ । यो समाधान हुँदै जान्छ ।’ पार्टी आज एकताको मनोविज्ञान र १० बुँदेपछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै उनले भने, ‘१०औँ महाधिवेशन अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत अघि बढ्छ ।’