बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने



प्रक्रिया लम्बिए भोलिका लागि सर्न सक्ने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले दुई साता पनि नबित्दै विश्वासको मत लिन लागेका हुन् ।

सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् । सभामुख श्रेष्ठका अनुसार भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए बाँकी प्रक्रिया भोलिका लागि सर्छ ।

बागमती प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई ५५ मत आवश्यक पर्छ । कुल १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले सजिलैसँग विश्वासको मत प्राप्त गर्ने देखिन्छ । सत्तागठबन्धनमा रहेका दलहरुसँग ५९ मत कायम छ ।

हाल चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सम्बद्ध पक्षले जनाएको छ ।