बेल्जिमयमा लघु चलचित्र ‘दानव’को प्रिमियर शो

बेल्जिमयमा लघु चलचित्र ‘दानव’को प्रिमियर शो


  • सनत आचार्य (बेल्जियम)

विदेशमा ‘लिभिङ टुगेदर’को प्रवृत्तिलाई निरुत्साहित गर्न र युवा पुस्तालाई यस्तो विकृतिमा नलागि आफ्नो धर्म-संस्कृति र परम्परालाई निरन्तरता दिन प्रेरित गर्ने सन्देश बोकेको लघु चलचित्र ‘दानव’ लुभेनमा सार्वजनिक गरिएको छ । चलचित्रमा नक्कली प्रेमको मायाजालमा ‘लिभिङ टुगेदर’को माध्यमबाट महिलाको शोषण गरेको देखाइएको छ ।

करिब २२ मिनेटको उक्त चलचित्र निर्माण गर्दा सीमित जनशक्तिका बाबजुद कडा मेहनतले फिल्म बजारमा ल्याउन सकिएको निर्माता एबवम् निर्देशक रफि शाहले बताए ।

आशुतोष फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको उक्त लघु चलचित्र बेल्जियमको लुभेन शहरमा छायाङ्कन गरिएको छ । चलचित्रमा युरोपमा सुपरिचित कलाकार पार्वती अधिकारी र ध्रुव दत्तको मुख्य भूमिका रहेको छ भने सहयोगी कलाकारहरूमा वर्षा खड्का र यशु थापा रहेका छन् ।

रफि शाहको निर्देशन र लेखनमा बनेको उक्त चलचित्रको छायाङ्कन राजु अधिकारीले गरेका छन् भने सहायक निर्देशकको जिम्मेवारी चिरन खवासले निर्वाह गरेका हुन् । सहायक निर्देशक खवासले बेल्जियममा बसेर पनि कला संस्कृतिको विकासलाई आफूहरुले निरन्तरता दिएको र टिमको व्यस्त समयका बाबजुद चलचित्र बनाइएकोले आफ्नो टिम उत्साहित भएको जानकारी दिए ।

‘शो’पछि दर्शकहरूले चलचित्र दानवले समसामयिक विषयलाई उठाएको र छोटो भए पनि सन्देशमूलक रहेको प्रतिक्रिया दिए ।